५१३औँ दिव्य धर्म यज्ञ दिवस भव्यताका साथ सम्पन्न

जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको पावन उपस्थितिमा सञ्चालित तीन दिवसीय ५१३औँ दिव्य धर्म यज्ञ दिवस आज लाखौं भक्तजनहरूको उत्साहजनक सहभागितामा अत्यन्त आध्यात्मिक माहोल र भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। समागमको अन्तिम दिन पर्सा जिल्ला स्थित मधेश विश्व विद्यालयका उप कुलपति प्रोफेसर डा. दिपक बहादुर शाक्य ज्यू र रजिष्ट्रार बिजय कुमार यादव ज्यूको उपस्थिति रहेको थियो । साथै सोही जिल्लाको बहुदर माई नगरपालिकाका नगर प्रमुख श्री सिंहासन साह तेली ज्यू र उप प्रमुख श्रीमति शुष्मा कुमारी कुशवाहा ज्यूको समेत उपस्थिति रहेको थियो।

यो दिव्य महासमागम गत मङ्सिर ७ गते पाठ प्रकाश पश्चात् प्रारम्भ भएको थियो। दोस्रो दिन १९ जोडीको बिना दाइजो, बिना भोजभतेर र बिना आडम्बर आदर्श विवाह सम्पन्न भएको थियो भने सोही दिन १०७ जनाले रक्तदान गरी सामाजिक सेवामा पनि सन्त रामपाल जी महाराजका अनुयायीहरू अग्रसर रहेको उदाहरण प्रस्तुत गरेका थिए। आज तेस्रो तथा अन्तिम दिन परमात्माको भोगवाणी पाठसँगै सम्पूर्ण कार्यक्रमहरू औपचारिक रूपमा सम्पन्न भएका छन्।

यो कार्यक्रम करिब ५१३ वर्षअघि परमात्मा कबीर साहेब स्वयं केशव बञ्जाराको रूप धारण गरेर सतलोकबाट सशरीर यस धरामा अवतरित भई तीन दिनसम्म विशाल भण्डारा गराउनु भएको र मानव समाजलाई सच्चा आध्यात्मिक ज्ञान दिनुभएको स्मरणमा आयोजना गरिएको हो। करिब ६०० वर्ष अघि यस धरतीमा कमलको फूलमा प्रकट भएर उहाँले गरिब जुलाहाको लीलालाई निर्वाह गर्दै आवश्यकताअनुसार अनेकौं चमत्कार देखाउनुभएको थियो। त्यसमध्ये काशीमा १८ लाख साधु-सन्तहरूलाई तीन दिन मोहन भोजन खुवाएर तथा प्रत्येक भोजन पश्चात् एक सुनको मोहर र एक दोहर (कम्बल) प्रदान गरी अलौकिक लीला प्रकट गर्नुभएको ऐतिहासिक घटनालाई स्मरण गर्दै यो दिव्य धर्म यज्ञ दिवस मनाइएको हो।

यस कार्यक्रममा आध्यात्मिक प्रदर्शनी, विशाल निःशुल्क भण्डारा, विशाल सत्संग, दाइजोमुक्त विवाह, सन्त गरीबदास जी महाराजको अमर ग्रन्थ साहेबको अखण्ड पाठ, अखण्ड ज्योति यज्ञ, रक्तदान शिविर तथा अन्य आध्यात्मिक गतिविधिहरू पहिलो दिनदेखि अन्तिम दिनसम्म निरन्तर सञ्चालन भएका थिए। नेपालस्थित सतलोक आश्रम धनुषासहित भारतका १४ वटा ठूला आश्रमहरूमा एकैसाथ यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपालमा यस कार्यक्रमको आयोजना पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालद्वारा गरिएको हो।

यस पावन कार्यक्रमको चर्चा गर्दै भन्न सकिन्छ कि सन्त रामपाल जी महाराजले सम्पूर्ण मानव समाजलाई आदि सनातन धर्मको पन्थमा डोर्याउने महान लक्ष्य राख्नुभएको छ। उहाँले सम्पूर्ण मानवलाई पूर्ण परमात्माको सही पहिचान र पूर्ण मोक्षको मार्ग देखाउनका लागि शास्त्रार्थको शंखनाद टेलिभिजन शो पनि निरन्तर सञ्चालन गरिरहनुभएको छ।

आयोजक पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालले यस दिव्य अवसरमा सहभागी भई प्रसाद ग्रहण गरी पुण्य लाभ प्राप्त गर्नु भएका सम्पूर्ण आध्यात्मिक मनका महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। यस दिव्य धर्म यज्ञ दिवसले लाखौं भक्तजनहरूलाई आध्यात्मिक चेतना र समाज सुधारको सन्देश प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *