शहिद निर्मल–पुष्प स्मृति वाचनालयको तीनमहिने संगीत प्रशिक्षण सम्पन्न
भक्तपुर, मंसिर ८। शहिद निर्मल–पुष्प स्मृति वाचनालयको आयोजनामा २०८३ वैशाखदेखि असारसम्म सञ्चालित तीनमहिने गितार, किबोर्ड तथा गायन प्रशिक्षणको समापन तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले शहिदहरूको स्मृतिमा स्थापना भएको वाचनालयले नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। शहिदहरूले देश र जनताको हितका लागि गरेको योगदान नयाँ पुस्ताले सधैँ स्मरण गर्नुपर्ने उहाँले बताउनुभयो।
सकिमना पुन्हीको अवसरमा आयोजित कार्यक्रमले नयाँ पुस्तालाई मौलिक चाडपर्वको महत्व बुझाउन सहयोग पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले सकिमना पुन्हीको सांस्कृतिक महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउन सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरेको बताउनुभयो।
भक्तपुरका मौलिक चाडपर्वको महत्व विद्यार्थीहरूलाई बुझाउन स्थानीय पाठ्यक्रममार्फत अध्ययन–अध्यापनको व्यवस्था गर्दै आएको उहाँले जानकारी दिनुभयो।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई विशेष महत्व दिँदै काम गर्दै आएको उल्लेख गर्दै उहाँले जनताको साथ र सहयोगमा सम्पन्न सम्पदा पुनःनिर्माणले भक्तपुरको मौलिक पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
यसै क्रममा उहाँले प्रधानमन्त्रीको हालैको भारत भ्रमणका क्रममा नेपालको सीमा अतिक्रमणको विषयमा आवाज नउठाइएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय सार्वभौमिकता र सीमासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्योमिखाले वाचनालयको निरन्तर सञ्चालन चुनौतीपूर्ण भए पनि यसको उद्देश्यअनुरूप गतिविधि अघि बढाउनुपर्ने बताउनुभयो। प्रजातन्त्रको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उहाँले देश र जनताका लागि जीवन आहुति दिने शहिदहरूको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो। उहाँले वडामा भइरहेका विकास निर्माणका कार्य तथा मुलाँला सडक निर्माण र मर्मतसम्भारबारे पनि जानकारी दिनुभयो।
वाचनालयका संस्थापक अध्यक्ष तथा पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले वाचनालय स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै विशेष कारणले सञ्चालन बन्द भएको र अब पुनः सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी वडा नं. १० का पार्टी इन्चार्ज लक्ष्मीप्रसाद चवालले पनि मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिका साथै तेक्वान्दो प्रदर्शनसमेत गरिएको थियो।












Leave a Reply