नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३ सम्पन्न
मंसिर ९ गते
भक्तपुर नगरपालिकाको आयोजनामा २०८३ मंसिर ३ गतेदेखि ९ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत टेबलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्नास्टिक, पोर्टबल, कसिमला पाँय र बाघचाललगायतका खेलहरू सञ्चालन भएका थिए। प्रतियोगितामा विजयी खेलाडीहरूलाई पदक तथा पुरस्कार वितरण गर्दै समापन समारोह सहिद स्मृति खेल मैदानमा सम्पन्न भयो।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहमा उहाँले प्रतियोगिता आयोजना गरी खेलाडी र खेलप्रेमीहरूलाई एकै ठाउँमा सहभागी गराएकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिनुभयो। उहाँले खेलकुदलाई मौलिक हकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै नेमकिपाले संविधान निर्माणका क्रममा खेलकुदलाई मौलिक हकमा समावेश गर्न संशोधन प्रस्ताव राखेको स्मरण गर्नुभयो। देशका सबै विद्यालय तथा कलेजहरूमा खेलकुदका पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्ता अध्ययन, सिर्जना र देश निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो। खेलकुदमा हारजित क्षणिक हुने तर खेलबाट विकसित मित्रता सधैँका लागि रहने उहाँले बताउनुभयो।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उहाँले यस प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिता भव्यताका साथ सम्पन्न भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
बागमती प्रदेशसभा सदस्य सृजना सैँजूले तीन हजारभन्दा बढी विद्यार्थीको सहभागितामा प्रतियोगिता सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। प्रतियोगितामा ५० प्रतिशतभन्दा बढी छात्राहरूको सहभागिताले समाजको विकासक्रमलाई प्रतिबिम्बित गर्ने बताउँदै उहाँले डिजिटल युगमा खेलकुदको महत्त्व झन् बढ्दै गएको धारणा राख्नुभयो। खेलकुदले नयाँ पुस्तालाई अनुशासित, सक्रिय र समाजप्रति समर्पित बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले प्रतियोगितामा ८४ वटा विद्यालयको सहभागिता रहेको जानकारी दिनुभयो। प्रतियोगितामा १४० वटा ट्रफी तथा १ हजार १२० वटा प्रमाणपत्र र पदक वितरण गरिने बताउँदै उहाँले विद्यार्थीहरूको चौतर्फी विकासका लागि भक्तपुर नगरपालिकाको युवा तथा खेलकुद समिति सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू घोषणा गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुवाललगायत अतिथिहरूले विभिन्न खेलका उत्कृष्ट खेलाडी तथा विद्यालयहरूलाई पदक र प्रमाणपत्र वितरण गर्नुभयो। साथै, सहभागी विद्यालयहरूलाई खेलकुद सामग्रीसमेत वितरण गरिएको थियो।
कार्यक्रममा गणेश माध्यमिक विद्यालय, प्रभात इङ्ग्लिस स्कुल र बाल विकास इङ्ग्लिस स्कुलका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।









Leave a Reply