दुवाकोटमा खुल्ला रक्तदान: २३ जनाले गरे रक्तदान
भक्तपुर, मङ्सिर – श्री फैढोका गणेश महिला जागृति बहुउद्देश्य सहकारी संस्था लिमिटेड, चाँगुनारायण नगरपालिका–२ को आयोजनामा दुवाकोट केएमसी चोकमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको प्राविधिक सहकार्यमा बिहीबार भएको कार्यक्रममा २३ जनाले रक्तदान गरे। कार्यक्रममा वडालाई प्लास्टिकमुक्त बनाउने अभियान अन्तर्गत अतिथिहरूलाई प्लास्टिकको विकल्पमा कपडाको झोला वितरण गरियो।
संस्थाको २५औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका बीचमा दुर्लभ र गम्भीर आनुवंशिक रोगबाट पीडित बालक शिवांश शिवाकोटीको उपचारका लागि सहयोग हस्तान्तरण गरियो। उनको बोन म्यारो ट्रान्सप्लान्टका लागि करिब रु. ५० लाख खर्च लाग्ने भएकाले आयोजक संस्थाका अध्यक्ष सुनिता भण्डारीले बालकका पिता जीवन शिवाकोटी र माता पविता शिवाकोटीलाई रु. ३२ हजार नगद सहयोग प्रदान गर्नुभयो।
त्यस्तै, वडालाई शून्य प्लास्टिकमुक्त बनाउने अभियानअन्तर्गत वडा अध्यक्ष सोमप्रसाद प्रधानले रक्तदान कार्यक्रममा उपस्थित अतिथिहरूलाई प्लास्टिकको विकल्पका रूपमा कपडाको झोला वितरण गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष प्रधान, पूर्व वडा अध्यक्ष शिवहरि केसी, नेपाल रेडक्रस सोसाइटी चाँगुनारायण नगरपालिका शाखा संयोजक मन्दिरा कार्की, दुवाकोट उपशाखा सल्लाहकार डा. नवराज काफ्ले, राष्ट्रिय सरसफाई अभियन्ता धीरेन्द्र कुमार शाह, नेप्सेम्याक भक्तपुरका कार्यक्रम संयोजक गोविन्द प्रसाद आचार्य, पूर्व जनप्रतिनिधि मोहन पौडेल तथा आयोजक संस्थाका परिवारको विशेष उपस्थिति रहेको थियो।
अतिथिहरूले आफ्नो मन्तव्यमा रक्तदानलाई सबैभन्दा ठूलो दान भएको बताउँदै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुनुपर्ने धारणा राखे। संकलित रगत दुर्घटना, सुत्केरी तथा गम्भीर बिरामीको उपचारमा काम लाग्ने भएकाले युवाले बढी सहभागी हुनुपर्ने उनीहरूको भनाइ थियो। साथै, प्लास्टिकको प्रयोग घटाउँदै वातावरण संरक्षणमा सबैले योगदान गर्नुपर्ने सुझाव पनि अतिथिहरूले दिए।
सहकारी संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदानसँगै बिरामी बालकलाई आर्थिक सहयोग गरेको कामको उनीहरूले प्रशंसा गरे। दुर्लभ रोगबाट पीडित बालकको उपचारका लागि समाज, संघसंस्था र दाताहरूले थप सहयोग गर्न पनि अतिथिहरूले आग्रह गरे।












Leave a Reply