भक्तपुरमा हप्तैपिच्छे जबरजस्ती करणी

भक्तपुर । कार्तिक एक महिनामा भक्तपुरमा जबरजस्ती करणीका चार मुद्र्धा दर्ता भएको प्रहरीले जनाएको छ । बहुविवाहको एउटा गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित पाँचवटा मुद्दा दर्ता यो एक महिनामा भएको भक्तपुर प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार कात्तिक महिनामा लागूऔषधसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन् । यस क्रममा ११ जना पक्राउ परेका छन् । उनीहरूबाट ४३.७७ ग्राम खैरो हेरोइन र ५२० ग्राम गाँजा बरामद गरिएको जनाएको छ । त्यस्तै, बैंकिङ कसुरका २१ र ठगीका चार गरी आर्थिक अपराधसम्बन्धी २५ वटा मुद्दा दर्ता भएका छन् ।
भक्तपुर प्रहरीले एक महिनाको अवधिमा जुवातास तथा लङ्गुरबुर्जा खेल्ने ७८ जनालाई पक्राउ गरेको जनाएको पनि छ । प्रहरीले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको प्रगति विवरणअनुसार जुवातास र लङ्गुरबुर्जा खेल्ने व्यक्तिहरूबाट ११ लाख ६२ हजार ५५० रुपैयाँ बरामद गरिएको छ । परिसरका अनुसार कात्तिक महिनामा जुवातास खेल्ने ७१ जनालाई पक्राउ गरी २२ बुक ताससहित ८ लाख ७४ हजार ३९० रुपैयाँ बरामद गरिएको छ । त्यस्तै, लङ्गुरबुर्जा खेल्ने सात जनालाई पक्राउ गरी १ लाख ६८ हजार ८८० रुपैयाँ बरामद गरिएको छ । यसैगरी, प्रहरीले पटका नियन्त्रणका क्रममा १ लाख १९ हजार २८० रुपैयाँ बराबरको सामग्री बरामद गरेको जनाएको छ ।
प्रहरीको तथ्यांकअनुसार कात्तिक महिनामा भक्तपुरमा ३३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी तीन जनाको मृत्यु र ३९ जना घाइते भएका छन् । दुर्घटनाको प्रमुख कारण लापरबाहीपूर्वक सवारी चलाउनु (१३), सडकमा ध्यान नदिनु (१०) र तीव्र गति (६) रहेको प्रहरीले जनाएको छ । यस अवधिमा प्रहरीले विभिन्न मुद्दाका १११ जना फरार प्रतिवादी पक्राउ गरेको छ भने फैसला कार्यान्वयनतर्फ ५१ जनालाई पक्राउ गरी ११ वर्ष आठ महिना कैद र ८ लाख ९४ हजार ९०२ रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कात्तिक महिनामा १४३ वटा मुद्दा दर्ता भएको अघिल्लो महिनाको तुलनामा कात्तिकमा ६९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३७ वटा मुद्दा फछ्र्योट भएका छन् । त्यस्तै, घरेलु हिंसासम्बन्धी दुईवटा उजुरी परेका दुवै मिलापत्र भएका छन् । हराएका २४ जनामध्ये २२ जना फेला परेका छन् भने दुई जना पुरुष अझै फेला पर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ । प्रहरीले कात्तिक महिनामा समुदाय तथा विद्यालय केन्द्रित १०६ वटा कार्यक्रम सञ्चालन गरी ३ हजार ४६२ जनालाई सहभागी गराएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *