वडा अध्यक्ष ईश्वर तिमल्सिनाको नेतृत्वमा हरियाली र पर्यटन प्रवर्द्धनको अभियान
सिन्धुपाल्चोक। सुनकोशी गाउँपालिका वडा नं. ७ पाङ्ग्रेटारस्थित लामोसाँघु क्षेत्रमा हरित पार्क विकास गर्ने पहलले स्थानीय विकास, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनको नयाँ सम्भावना उजागर गरेको छ। वडा अध्यक्ष ईश्वर तिमल्सिनाको पहलमा अघि बढाइएको हरित पार्कको अवधारणाले यस क्षेत्रलाई स्वच्छ, हरियालीयुक्त र आकर्षक सार्वजनिक स्थलका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण लामोसाँघु क्षेत्र सुनकोशी नदीको किनार र आसपासको रमणीय वातावरणका कारण विशेष महत्व बोकेको स्थान हो। यस क्षेत्रको प्राकृतिक पहिचानलाई जोगाउँदै व्यवस्थित हरित पार्क निर्माण गर्न सकिएमा स्थानीय नागरिकका लागि मनोरञ्जन, विश्राम र सामाजिक भेटघाटको उपयुक्त स्थल बन्न सक्नेछ। वडा अध्यक्ष ईश्वर तिमल्सिनाका अनुसार विकास भनेको सडक, भवन र अन्य भौतिक संरचना निर्माणमा मात्र सीमित हुनु हुँदैन। प्रकृति संरक्षण, हरियाली विस्तार र नागरिकलाई स्वच्छ वातावरण उपलब्ध गराउनु पनि स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हो। लामोसाँघु क्षेत्रको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै यसलाई आकर्षक हरित क्षेत्रका रूपमा विकास गर्ने आफ्नो सोच रहेको उहाँको भनाइ छ। उहाँले स्थानीयवासीको सहभागिता र सहयोगमा हरित पार्कलाई व्यवस्थित तथा दिगो बनाउने उद्देश्य रहेको बताउनुभएको छ। वृक्षरोपण, सरसफाइ, फूलबारी निर्माण तथा वातावरणमैत्री संरचनाको विकासमार्फत लामोसाँघुको पहिचान अझ फराकिलो बनाउन सकिने उहाँको विश्वास छ। आज जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक स्रोतको दोहनजस्ता चुनौती बढिरहेका बेला स्थानीय तहबाटै वातावरण संरक्षणका अभियान सञ्चालन हुनु सकारात्मक पक्ष हो। हरित पार्कले बालबालिका, युवा, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई प्रकृतिसँग नजिक हुने अवसर प्रदान गर्नुका साथै वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिमा समेत सहयोग पुर्याउन सक्छ। यस अभियानलाई सफल बनाउन स्थानीय समुदाय, युवा, महिला समूह, विद्यालय, सामाजिक संघसंस्था तथा वातावरण संरक्षणमा क्रियाशील अभियन्ताहरूको सहकार्य आवश्यक देखिन्छ। लामोसाँघु हरित पार्कको अवधारणा केवल एउटा पार्क निर्माण गर्ने योजना मात्र नभई प्रकृति संरक्षण, स्थानीय पहिचान र भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने सोचसँग जोडिएको छ। स्थानीय नेतृत्वको सक्रियता, समुदायको एकता र योजनाबद्ध विकासले लामोसाँघुलाई हरियाली तथा प्राकृतिक सौन्दर्यको आकर्षक गन्तव्य बनाउन सक्ने सम्भावना देखिन्छ। हरित लामोसाँघु, स्वच्छ सुनकोशी र समृद्ध पाङ्ग्रेटार निर्माणको अभियान सफल बनोस्।
समाचार तथा प्रस्तुति : शारदा प्रसाद चालिसे











Leave a Reply