भक्तपुर, १७ साउन । हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्याल:हरु नाट्यकर्मी समाज नेपालले गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या आस्था थियटर लिवालीमा गरिरहेको छ । रामशेखरया ख्याल: ब्वज्याको दसौं दिन आज सोमबार हरि सुन्दर पोतामाहाँको निर्देशनमा जेँला सांस्कृतिक समाजको “रानी पुखु” नामक ख्याल: प्रदर्शन गर्नेछ । प्रत्येक दिन एउटामात्र ख्याल : प्रदर्शन गरिरहेको आस्था थियटरमा रामशेखरया ख्याल: ब्वज्याको नवाैं दिन हिजो आइतबार साउन १७ गते सहिद निर्मल-पुष्प स्मृति वाचनालयको “अस्पतालया जा” नामक ख्याल: प्रदर्शन गरेको छ । जसको निर्देशन माधवप्रसाद सुवाल र महावीर अमात्यले गरेको थियो भने कला संयोजन विकास तमखुले गरेको थियो । प्रस्तुत ख्याल: ले बेरोजगार र आर्थिक अवस्था कमजोरीका कारण परिवार पाल्न र जीवन चलाउन अस्पताल तथा जेलमा बस्ने वर्गको मानवीयतालाई चित्रण गर्दै गरिब निमुखा जनताले उपचार सहजरूपमा नपाएको तथा सत्ता र शक्तिको दुरुपयोगलाई व्यंग्य गरेको छ । पनातीका साहित्यकार सूर्यप्रसाद लाकोजुले तत्कालीन नेपाली समाजमा बाँच्नको लागि गर्ने संघर्ष जस्ता मार्मिक मानवीयतासँगै जोडिएको रामशेखर नकर्मीका ख्याल रहेको बताउँदै गाँस, बास तथा कपास जस्ता सामान्य मानवीय आवश्यकता हरेक वर्गको लागि समाजवादी व्यवस्थामा मात्रै पुर्ति हुने विचार राख्नुभयो । किर्तिपुरका नारायण महर्जनले ४ दशकअघि लेखिएको ख्याल: अहिले पनि समय सान्दर्भिक रूपमा देश र समाजमा भइरहेको जनताको वास्तविक जनजीविकालाई प्रस्तुत गरेको बताउँदै सम्पूर्ण जनताको जीवनमा आमूल परिवर्तनको लागि समाजवादी व्यवस्था अपरिहार्य रहेको बताउनुभयो । राजवीर डंगोलले सरकार र व्यवस्थाको कारण देश र समाजमा फैलिएको सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गरिएको बताउँदै ख्याल : ले वर्ग संघर्षको लडाइँ तथा समाजवाद स्थापना गर्न थप सहयोग पुर्याउने अपेक्षा गर्नुभयो । ख्याल: ब्वज्याको एघारौं तथा अन्तिम दिन भोलि मंगलबार किशोर गोसाइको निर्देशनमा स्टार वाचनालयको “१२ बजे” नामक ख्याल पुनः प्रदर्शन हुनेछ । जुन रामशेखरया ख्याल: ब्वज्याको तेस्रो दिन पहिलो प्रदर्शन गरेको थियो ।
जेँला सांस्कृतिक समाजको “रानी पुखु” नामक ख्याल: प्रस्तुत हुने













Leave a Reply