कालदहबाट ‘नि–ना’ जलयात्रा हुने

भक्तपुर, साउन १६। श्रावण महिनामा भगवान् शिवप्रतिको आस्था बढ्दै जाँदा भक्तपुर नगरपालिका–२ स्थित सिलु महादेव शिवभक्तहरूको आकर्षक धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। भक्तपुर दरबार क्षेत्रस्थित साे मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण यहाँ श्रावणभर विशेष पूजा–आराधना हुन थालेकाे छ ।
करिब १०० वर्षपछि उक्त मन्दिरमा पूजा सुरूवात भएकाे हाे । यसकारण पनि साे मन्दिरको महिमा चुलिएको छ ।
यसै क्रममा साउन १८ गते सोमबार बिहान ६ बजे सिलु महादेव परिसरमा ‘नि–ना (निल) यात्रा’ आयोजना हुने भएको छ। यात्रामा सहभागी भक्तजनले कालदहबाट शुद्ध जल ल्याई सिलु महादेवमा जलाभिषेक गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
श्रावण महिनाको पवित्र अवसरमा आयोजना हुने यस जलयात्राले शिवभक्तहरूलाई सामूहिक रूपमा भगवान् शिवप्रति श्रद्धा व्यक्त गर्ने अवसर प्रदान गर्नुका साथै धार्मिक परम्परा र संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। आयोजकले सहभागी भक्तजनलाई आफ्नै सानो लोटा साथमा ल्याउन आग्रह गरेको छ।
पछिल्ला वर्षहरूमा श्रावण महिनामा सिलु महादेवमा पूजा, दर्शन र जलाभिषेक गर्ने श्रद्धालुको संख्या बढ्दै गएको छ। स्थानीय धार्मिक पर्यटनको दृष्टिले पनि सिलु महादेव भक्तपुरको उदाउँदो शिवधामका रूपमा परिचित बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *