नबराज काफ्ले
भक्तपुर,०८३ श्रावण १६ ,
शनिबार चाँगुनारायण नगरपालिका, वडा नं. १ स्थित दुबुलापेश्वर योग साधना केन्द्रमा शनिबार पातञ्जल योग समिति नेपालको ८ औं वार्षिक साधारणसभा तथा साधना केन्द्र पुनर्गठन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा योग गुरु सुरक्षामल्ल ठकुरीको अध्यक्षतामा सल्लाहकार सहित ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको आयोजक संस्थाकी प्रतिनिधि चन्दा खत्रीले जानकारी दिइन् । उपाध्यक्षमा जानुका न्यौपाने, सचिवमा सुशिला आचार्य र कोषाध्यक्षमा विना श्रेष्ठ चयन भएका छन् भने पद्मा न्यौपाने, सुनिता सुवाल, मिना गौतम, विनीता न्यौपाने र शोभा पौड्याल भण्डारी सदस्यमा चयन भएका छन् । सल्लाहकार समितिमा प्रधुम्न पोख्रेल, दधिराम गेलाल, भरत प्रसाद न्यौपाने र डम्बर धिताल रहेका छन् । कार्यक्रमको सुरुवातमा आयोजक संस्थाका कलाकारहरूद्वारा सांस्कृतिक नृत्यसहितको सांगीतिक प्रस्तुति दिइएको थियो । यसैगरी दुबुलापेश्वर योग साधना केन्द्र व्यवस्थापन समितिकी सनिता लामिछानेले साधारणसभा समक्ष सँस्थाको आयव्ययसहितको वार्षिक प्रगति प्रतिवेदन र आगामी ३ वर्षे कार्ययोजना प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मत अनुमोदन गरेको थियो । पातञ्जल योग समिति नेपालका केन्द्रीय योग तथा खेलकुद विभागका सदस्य एवं योग गुरु राममणी तिमल्सिनाले कार्यक्रममा सहभागी सबैलाई योग साधना गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री सुरेश श्रेष्ठले संघीय सरकारले आगामी एक दशकभित्र नेपाललाई आरोग्य पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने अभिप्रायले आरोग्य पर्यटन वर्ष घोषणा गरिसकेको स्मरण गराउँदै प्रदेश सरकारले पनि सोही राष्ट्रिय कार्यदिशा अनुरूप योग पर्यटनको विस्तार र प्रवर्द्धनका लागि ठोस कार्ययोजना तर्जुमा गरिसकेको जानकारी दिनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले एकैपटक कम्तीमा ५ हजार जना अटाउने अत्याधुनिक नगरस्तरीय योग साधना हल निर्माण गर्न लागेको विषयमा खुशी व्यक्त गर्दै सो को लागि प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्थापन गर्न आफु पुर्ण प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । विशिष्ट अतिथि तथा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले योगको अपरिहार्यतालाई मनन गर्दै नगरबासीको दीर्घकालीन चाहना अनुरूप नगरपालिकालाई “योग नगर” घोषणा गरिएको र यसको मापदण्ड कार्यान्वयनमा नगरपालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो । उहाँले वागमती प्रदेश सरकारको समेत सहकार्यमा आगामी भदौ महिनादेखि नै कम्तीमा ५ हजार जनाले एकैसाथ साधना गर्न सक्ने अत्याधुनिक नगरस्तरीय योग साधना हलको निर्माण कार्य थालनी गरिने योजना तय गरिएको उद्घोष गर्नुभयो,साथै नगरप्रमुख खत्रीले यस कार्यले चाँगुनारायणलाई योग पर्यटनको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने दिशामा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले योगलाई मानवजीवन र प्रकृतिबीचको सामिप्य स्थापित गर्ने सनातन ऋषि-परम्पराको ज्ञानसूत्रका रूपमा परिभाषित गर्दै यसलाई नेपालको हरेक घरआँगनसम्म पुर्याउनमा प्रदेश र स्थानीय सरकारको भूमिका निर्णायक रहेको धारणा राख्नुभयो र सम्बद्ध निकायहरूलाई यस दिशामा दूरदर्शी योजना निर्माण गरी अघि बढ्न आह्वान समेत गर्नुभयो । साथै उहाँले साधारणसभामार्फत निर्वाचित नवगठित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो । पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता, वैधानिकता र पारदर्शिता- यी पञ्च आधारभूत सिद्धान्तलाई मार्गदर्शक बनाई सञ्चालित यस संस्थाले ४० जिल्ला र सातै प्रदेशमा आफ्नो संगठनात्मक उपस्थिति विस्तार गरी योग प्रवर्द्धनमा ठोस योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो । पातञ्जल योग समिति नेपालका सल्लाहकार एवं चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाअध्यक्ष सोमप्रसाद प्रधानले आफ्नै वडाबाट सुरुवात भएको यस संस्थाले देशभरि योग प्रवर्द्धन र विस्तारमा उल्लेख्य योगदान पुर्याइरहेकोमा सन्तोष व्यक्त गर्दै आफ्नो वडालाई देशकै अनुकरणीय योगयुक्त नमूना वडाका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो । पातञ्जल योग समिति नेपालका महासचिव नबराज काफ्लेले साधारणसभाबाट सर्वसम्मत निर्वाचित सल्लाहकारसहितका कार्यसमिति पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुभयो र नवगठित कार्यसमिति साधारणसभाले तय गरेको कार्ययोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न पूर्णतः सक्षम रहेको दृढ विश्वास व्यक्त गर्नुभयो । चाँगुनारायण नगरपालिकाकी पूर्वनगर उपप्रमुख विना वास्तोलाले वर्तमान द्रुत जीवनशैलीमा मानवजीवनलाई सुख-शान्तिको मार्गमा डोर्याउन योगको कुनै विकल्प नरहेको औंल्याउनुभयो । कार्यक्रम सहजीकरण गर्दै पातञ्जल योग समिति नेपालकी महिला उपाध्यक्ष श्रृजनामल्ल ठकुरीले नेपालभरको योग साधना गतिविधिमा ७० प्रतिशतभन्दा बढी सहभागिता महिलाहरूको मात्र रहेको तथ्यगत विवरण प्रस्तुत गर्दै पुरुष सहभागिता न्यून रहेकोमा चिन्ता व्यक्त गर्नुभयो र यसको मूल कारण पहिचान गरी सबैको समानुपातिक सहभागिता सुनिश्चित हुने गरी ठोस योजना निर्माण गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । चाँगुनारायण नगरपालिका उच्च मावीका प्रधानाध्यापक दधिराम गेलालले हालसम्म रोग लागेपछि वा वृद्धावस्थामा पुगेपछि मात्र योगसँग जोडिने प्रवृत्ति देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै योग बालक, युवा र वृद्ध- सबैको लागि समान रूपमा अपरिहार्य रहेको जनचेतना फैलाउनुपर्ने आवश्यकतामा बल दिनुभयो । उहाँले आफ्नो विद्यालयमा दक्ष योग शिक्षकको व्यवस्था गरी नियमित योग शिक्षण कार्यक्रम सञ्चालनमा रहेको जानकारी समेत दिनुभयो । पातञ्जल योग समिति नेपाल अन्तर्गतको दुबुलापेश्वर योग साधना केन्द्रकी नवनिर्वाचित अध्यक्ष सुरक्षा मल्ल ठकुरीले साधारणसभाबाट पारित कार्ययोजनाअनुसार साधना केन्द्र व्यवस्थापन समितिले सक्रिय रूपमा कार्य गर्दै साधना केन्द्र सञ्चालन भइरहेको वडाका प्रत्येक टोल–समुदायसम्म पुगेर सम्पूर्ण वडावासीलाई योगको सूत्रमा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको आधारका रूपमा स्थापित गर्दै प्रत्येक घरपरिवारसम्म योगको पहुँच विस्तार गर्न सम्पूर्ण टिम एकताबद्ध भएर अघि बढ्ने उद्घोष गर्नुभयो । साथै, उक्त अभियानलाई सफल बनाउन साधना केन्द्रका सम्पूर्ण पदाधिकारी, सदस्य, प्रशिक्षक तथा शुभेच्छुकहरूबाट पूर्ण साथ, सहयोग र सक्रिय सहभागिताको हार्दिक अपिल समेत गर्नुभयो । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरकी अध्यक्ष एवं केन्द्रीय सदस्य रीता पाख्रीनले भक्तपुर जिल्लाभित्र योग प्रवर्द्धन र विस्तारको संस्थागत योजनालाई साझा सहयोग र सहकार्यमार्फत अघि बढाउन जिल्लाभित्रका सरोकारवाला निकायहरूलाई विशेष आग्रह गर्नुभयो । कार्यक्रमका सभापति तथा साधना केन्द्रका अध्यक्ष योग गुरु सन्ध्या गेलाल तिमिल्सिनाले आफ्नो कार्यकाललाई सफल बनाउन अहोरात्र खटिने साधना केन्द्र व्यवस्थापन समितिप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले साधारणसभालाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सदस्य, योगसाधक, स्वयंसेवक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि योग, स्वास्थ्य र सामाजिक सेवाका अभियानलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्त्यमा उहाँले सम्पूर्ण सहभागीहरूप्रति आभार प्रकट गर्दै साधारणसभाको औपचारिक समापन गर्नुभयो । कार्यक्रममा पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष राजभक्त श्रेष्ठ, उपाध्यक्षहरू होमप्रसाद गौतम, योगप्रसाद आचार्य र गीताप्रसाद नेपाल, कोषाध्यक्ष सुर्वण हमाल, केन्द्रीय सचिव बालकृष्ण प्रधान, केन्द्रीय सल्लाहकार लिलानाथ निरौला, केन्द्रीय सदस्यहरू हेमा प्रजापति, सुरेश थापा र उमेशमान मधिकर्मी, लायन्स क्लब अफ चाँगुनारायणका अध्यक्ष एवं पूर्व वडाअध्यक्ष शिवहरि केसी, चाँगुनारायण झौखेल दुवाकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रधुम्न पोख्रेल, योग गुरु गोर्कण पुरी लगायत जिल्ला, नगर र साधना केन्द्रका पदाधिकारी, योग साधकसाधिका, आमन्त्रित बुद्धिजीवि तथा समाजसेवीहरूको विशेष उपस्थिति रहेको थियो ।












Leave a Reply