साम्प्रदायिक हिंसा रोक्न समाजवादी कम्युनिस्ट पार्टी नेपालको आग्रह

काठमाडौं, साउन १६ — समाजवादी कम्युनिस्ट पार्टी नेपालले देशका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा भएका धार्मिक तथा साम्प्रदायिक तनावका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबै पक्षसँग आग्रह गरेको छ।

पार्टीका महासचिव अशोक सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा सुनसरी, तराई–मधेसलगायत विभिन्न क्षेत्रमा भएका हिंसात्मक झडप, आगजनी, तोडफोड तथा सुरक्षा निकायको कमजोरीका कारण नागरिकको ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा हिन्दु सम्राट् सेना, बजरङ्ग दल नेपाल, नारायणी सेनालगायत केही समूहका गतिविधि तथा सार्वजनिक अभिव्यक्तिका कारण धार्मिक तथा साम्प्रदायिक सद्भावमा नकारात्मक असर परेको भन्दै चिन्ता व्यक्त गरिएको छ। पार्टीले यस्ता गतिविधिले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक सामाजिक संरचनामा विभाजन र अविश्वास बढाउने जोखिम रहेको जनाएको छ।

समाजवादी कम्युनिस्ट पार्टीले कुनै पनि धर्म, जाति वा समुदायविरुद्ध घृणा, विद्वेष र साम्प्रदायिक वैमनस्य फैलाउने गतिविधि राष्ट्रिय हितविपरीत हुने उल्लेख गर्दै सबै राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकलाई संयमता अपनाई सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मानको पक्षमा उभिन आह्वान गरेको छ।

पार्टीले नेपाल सरकार तथा सम्बन्धित निकायलाई संविधान र कानुनबमोजिम सामाजिक सद्भाव बिथोल्ने, घृणा फैलाउने तथा जातीय–धार्मिक हिंसा भड्काउने गतिविधिमाथि रोक लगाई घटनाको निष्पक्ष अनुसन्धान गर्न, दोषीमाथि कानुनी कारबाही गर्न र शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक मूल्य, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय र विधिको शासनको संरक्षण गर्दै जनतान्त्रिक अधिकारको विस्तारका लागि वर्गसंघर्ष आवश्यक रहेको पार्टीको धारणा पनि दोहोर्याइएको छ। साथै, धार्मिक तथा साम्प्रदायिक उत्तेजनाले वर्गीय मुद्दालाई ओझेलमा पार्ने उल्लेख गर्दै सबै नेपाली नागरिकलाई एकता, सहअस्तित्व र पारस्परिक सम्मानका साथ अघि बढ्न अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *