परम्परागत औद्योगिक सम्पदाः परम्परादेखि नवप्रवर्तनसम्म कार्यक्रमको समीक्षा

२०८३ साउन १८
भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिले गो लोकल अभियानअन्तर्गत मिति २०८३ जेठ १४ गते सम्पन्न ‘परम्परागत औद्योगिक सम्पदाः परम्परादेखि नवप्रवर्तन सम्म अन्तरसंवाद कार्यक्रमको समीक्षा कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ‘१०० वर्षपछिको भक्तपुर पुस्तकलाई आधार मानेर दीर्घकालीन योजना तथा विकासका कार्यक्रम अघि बढाइरहेको बताउँदै भक्तपुरका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले आन्तरिक पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै विभिन्न गतिविधि सञ्चालन भइरहेको जानकारी दिँदै भक्तपुरमा रहेका जात्रा, पर्व र सांस्कृतिक परम्पराहरूलाई स्थानीय समुदायसँगको सहकार्यमा संरक्षण र प्रवद्र्धन गर्दै आएको बताउनुभयो । हरेक वर्ष सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने तथा भक्तपुर महोत्सवलाई पनि मूर्त र अमूर्त सम्पदा संरक्षणकै अभियानका रूपमा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक सम्पदाको व्यवस्थित दस्तावेजीकरण गर्ने प्रयास भइरहेको उल्लेख गर्दै स्थानीय मौलिक सम्पदालाई राष्ट्रिय सूचीकरणमा समावेश गराउने क्रममा जुजुधौ, तःकाः तपुली, कवाङचा प्याखं, घाँतु म्ये, कसिमला पाय्लाई मौलिक परम्परा तथा उत्पादनलाई सूचीकरणको प्रक्रियामा अघि बढाइएको जानकारी दिनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय इतिहास, संस्कृति, परम्परा र मौलिक पहिचान समेटिएको स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयमा पठनपाठन गराइरहेको बताउँदै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र सम्पदाप्रति सचेत बनाउनका साथै सीपमूलक शिक्षामार्फत धेरै युवालाई विभिन्न परम्परागत तथा व्यावसायिक सीप प्रदान गरिएको जानकारी दिनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले पर्यटन प्रवद्र्धनसँगै स्थानीय संस्कृति, परम्परा र मौलिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले युवालाई उद्यमशीलता कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउन संघीय सरकारबाट आवश्यक नीतिगत, प्राविधिक तथा आर्थिक सहजीकरण आवश्यक रहेको बताउँदै स्थानीय तहका प्रयासलाई केन्द्र सरकारको सहयोग थप सशक्त बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नगर प्रमुख प्रजापतिले स्थानीय उत्पादन र परम्परागत उद्योगको संरक्षण तथा प्रवद्र्धनका लागि विदेशी वस्तुको अनियन्त्रित आयातमा आवश्यक नियमन गर्न केन्द्र सरकारले प्रभावकारी नीति अवलम्बन गर्नुपर्ने र स्थानीय उद्योग, शिल्प र मौलिक उत्पादनलाई प्रोत्साहन गर्न अनुदान, सहुलियतपूर्ण कर्जा तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय कला संग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठले कार्यक्रममा विविध क्षेत्रका व्यक्तित्वहरूको सहभागितिले छलफललाई थप प्रभावकारी बनाएको बताउँदै कार्यक्रमको मुख्य उद्देश्य भक्तपुरलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्नु रहेको उल्लेख गर्दै वर्तमान सन्दर्भमा राज्यका सेवा–सुविधाको अधिकतम उपयोग गर्दै स्थानीय कला, संस्कृति र उत्पादनलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख नवराज अधिकारीले वर्तमान समाज व्यापार, वाणिज्य र उद्योगतर्फ तीव्र रूपमा अग्रसर भइरहेको उल्लेख गर्दै यस परिवेशमा सांस्कृतिक सम्पदाको मौलिकता जोगाउनु चुनौतीपूर्ण भए पनि अपरिहार्य रहेको बताउनुभयो ।
सामाजिक उद्यमी अनिल चित्रकारले विश्वभर ११ सयभन्दा बढी विश्व सम्पदा स्थल रहेको उल्लेख गर्दै मूर्त र अमूर्त सम्पदा एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताउनुभयो । उहाँले अमूर्त सम्पदाको संरक्षणसँगै मूर्त सम्पदाको महत्व अझ बढ्ने बताउँदै भक्तपुरमा अमूर्त सम्पदा संरक्षणका प्रशस्त सम्भावना रहेको र त्यसका लागि स्थानीय नेतृत्व सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
उद्यमी नीलकृष्ण ताम्राकारले धेरै परम्परागत हस्तकलाहरू लोप हुने अवस्थामा पुगेको भन्दै तिनलाई पुनर्जीवित गर्न औद्योगिक ढाँचामा काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अमूर्त सम्पदाको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसको प्रतिफल स्थानीय नेवार समुदायले पनि पाउनुपर्ने धारणा व्यक्त व्यक्त गर्नुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले ‘गो लोकल’ कार्यक्रमअन्तर्गत १५ वटा मौलिक उत्पादनलाई सूचीकृत गरिएको जानकारी दिँदै ती उत्पादनलाई नवप्रवर्तन, बजार विस्तार र आधुनिक प्रविधिसँग कसरी जोड्ने भन्ने विषयमा संघले निरन्तर छलफल गरिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले नेवार समुदायको परम्परा र पेशालाई जीवित राख्न सके स्वरोजगारका प्रशस्त अवसर सिर्जना हुने बताउँदै औपचारिक शिक्षासँगै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीप र ज्ञानको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले स्थानीय उत्पादन र उद्यमसँग सम्बन्धित आर्थिक गतिविधि विस्तार भए नयाँ पुस्ताले प्रत्यक्ष लाभ लिन सक्ने बताउँदै उत्पादनलाई व्यावसायिक, प्रतिस्पर्धी र बजारमुखी बनाउन सके युवापुस्ता यस क्षेत्रमा आकर्षित हुने धारणा राख्नुभयो ।
स्टोरी साइकलका सौरभ ढकालले सम्पदा संरक्षणमा दस्तावेजीकरण अत्यन्त महत्वपूर्ण पक्ष भएको बताउँदै अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्दै क्राउड सोर्सिङको अवधारणालाई अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
ख्वप कलेजकी प्राध्यापक सुनिता गाइसीले शिक्षालाई श्रम र उद्यमशीलतासँग जोड्ने उद्देश्यले कलेजमा इन्क्युबेसन सेन्टर सञ्चालन गरिएको जानकारी दिँदै विद्यार्थीलाई उद्यम र परम्परागत पेशासँग जोड्ने लक्ष्यसहित कलेजमा हाटबजार सञ्चालन गर्दै उनीहरूलाई उत्पादन, बजार र व्यवसायबारे व्यावहारिक अनुभव प्रदान गरिएको बताउनुभयो ।
बागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजले विद्यार्थीमा उद्यमशीलता विकास गर्ने उद्देश्यले उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै नयाँ पुस्तालाई रोजगारी खोज्ने मात्र होइन, उद्यमी बन्न प्रेरित गर्न शिक्षा, संस्कृति र नवप्रवर्तनबीचको सम्बन्धलाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो ।
‘गो लोकल’ अभियानका संयोजक वीरेन्द्र जतिले धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा भएको गहन र सार्थक छलफलले स्थानीय उत्पादन, परम्परागत सीप तथा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्पष्ट मार्गदर्शन गरेको बताउनुभयो ।
उहाँले छलफलमा उठाइएका सुझावलाई कार्यान्वयनमा लैजान स्पष्ट, प्रभावकारी र व्यवहारिक नीतिको निर्माण तथा कार्यान्वयन अत्यावश्यक रहेको उल्लेख गर्दै मूर्त र अमूर्त सम्पदाको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि सबै सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर विकास तथा पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले कार्यक्रमको उद्देश्य भक्तपुरका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई आधुनिक सोच र नवप्रवर्तनसँग जोड्दै आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनु रहेको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा ‘गो लोकलू अभियानअन्तर्गत २०८३ जेठ १४ गते आयोजित कार्यक्रमको प्रतिवेदन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति तथा उद्योग बाणिज्य तथा पर्यटन कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्मालाई हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *