यसरी सुनाइयो विपद उद्धारको कारुणिक कहानी

सिर्जनशील युवा समूहको भोटेकोशी बाढी हिजो र आज सम्बन्धमा विचार विमर्श

सत्यराम कासिछ्वा

भदौ २७, भक्तपुर

सिर्जनशील युवा समूहको आयोजना शनिबार भक्तपुरको आवाज नामक दोश्रो विचार विमर्श भोटेकोशी बाढी हिजो र आज सम्बन्धमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा विपद व्यवस्थापन विज्ञ डा. दीपक थापा, आरएनए १६ का उद्धार स्वयंसेवक अरुण सैंजु तथा उद्धार स्वयंसेवक राजेश गाइजुसँग अन्तरक्रियात्मक विचार विमर्श भएको हो ।

डा. दीपक थापाले विपद व्यवस्थापनका लागि भएको अध्ययनअध्यापन प्रयोग र वास्तविक रुपभन्दा फरक रहेकोले विपद व्यवस्थापनमा स्थानीय रुपमा उपलब्ध स्रोत साधनको अत्यधिक प्रयोग गर्दै स्थानीय जनता र सरकारसँग सहकार्य गर्न जरुरी रहेको बताउँदै विपद प्राकृतिक नभई मानवीय संरचना, सचेतना, सचना संचारको सही प्रयोगमा अध्यावधि हुन नसक्दा र विगतको बाढीलाई बेवास्ता गर्दै सामान्य रुपमा लिँदा विपदबाट धेरै क्षति बेहोर्न बाध्य हुनुपरेको बताउनुभयो । उहाँले भौगोलिक इतिहास र तथ्यांकलाई माटोको भारबहन क्षमतासँग बेवास्ता गरी विकास निर्माणको संरचनाले विपद निम्त्याउने र कार्बनको अत्यधिक उत्सर्जन र उत्पादनले पृथ्वीको तापक्रमलाई बढाइरहँदा हिउँ पग्लेर बनेको हिमताल फुटेर विपद आए तापनि त्यही ठाउँमै पुन:निर्माण गर्ने गराउने परिपाटी परिवर्तन गर्न सुझाव दिनुभयो । उहाँले विपद व्यवस्थापनको लागि नेपाल आफैं प्रयोगशाला रहेको अवस्थामा नेपाली विद्यार्थीहरुलाई कल्पनामा आधारित तथ्यांक अध्यापन गरिरहेकोमा सचेत गराउँदै नेपाली माटो सुहाउँदो प्रविधिको प्रयोग गरी विपद व्यवस्थापनलाई सहज सहजीकरण गर्न स्थानीय तथा केन्द्रिय सरकार लाग्नुपर्ने विचार राख्नुभयो ।

आरएनए १६ का उद्धार स्वयंसेवक अरुण सैंजुले विपद व्यवस्थापनमा सरकारको आश र भर नपरी त्रिपाल, अत्यावश्यक सामान्य खानेकुरा, आधारभूत औषधी, खानेपानीको व्यवस्थामा व्यक्ति परिवार तथा समाजमा पूर्व तयारीको योजना बनाउन जोड दिँदै विपदमा उद्धारको लागि आवश्यक तालिम पौडी खेल्न, ग्यास सिलिन्डरको आगो निभाउन तथा डोरीको गाँठो बाँध्न नआउने नेपाली सेनासँग मिलेर विभिन्न विपदमा काम गरेको अनुभव सुनाउनुभयो । उहाँले विपद व्यवस्थापनको लागि हरेक व्यक्तिमा आँटसँगै तालिम आवश्यक भएको बताउँदै भोटेकोशी विपद व्यवस्थापनमा लाग्दा नेपाल सरकारको राहत वितरण र चिनीयाँहरुको छिटोछरिटो रुपमा पुन:निर्माणलाई विभिन्न संचार माध्यमहरुले अफवाह फैलाएको बताउनुभयो ।

अर्का उद्धार स्वयंसेवक राजेश गाइजुले विपद व्यवस्थापनमा लाग्दा कारुणीक र विभत्स दृश्यलाई आँट गरी ज्यान तथा प्राकृतिक जोखिमका बाबजुट पनि तिमुरेमा नेपाली सेनासँग मिलेर गरेको उद्धार बारे आफ्नो अनुभव सुनाउनुभयो । विभिन्न विषयमा अध्ययनअनुसन्धान गरी देश र समाजको लागि आवश्यक योगदान पुर्याउन सक्ने व्यक्ति तथा विचारलाई प्रवद्र्धन गरी प्रचारप्रसार गर्ने अभिप्रायले संचालित सिर्जनशील युवा समूहको आइडिया क्याफे अन्तर्गत भोटेकोशी बाढी हिजो र आज दोश्रो संस्करणका प्रमुख वक्ताहरुलाई अध्यक्ष सुरेशन धुसुले मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *