काठमाडौं । श्री बौद्ध तथा मेलम्ची घयाग गुठी व्यवस्थापन समिति, बौद्ध काठमाडौंले गुठी सञ्चालनलाई संस्थागत, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ व्यवस्थापन प्रणाली अघि सारेको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी समितिका अध्यक्ष खड्ग जीत लामाले यसबारे जानकारी गराए ।
यसअघि गुठीको व्यवस्थापन एकलौटी रूपमा हुँदै आएकोमा अहिले व्यवस्थापन समिति गठन गरी सामूहिक जिम्मेवारी र निर्णय प्रक्रियाबाट गुठी सञ्चालन गर्ने व्यवस्था गरिएको उनले जनाए । समितिले गुठीका धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै आर्थिक, सम्पत्ति संरक्षण र प्रशासनिक पक्षलाई समेत व्यवस्थित गर्ने व्यवस्था गरेको उनले जनाए ।
सम्मेलनमा समितिका सदस्य तथा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धका वडा अध्यक्ष भुवन लामाले वर्षाैपछि समिति जनताको हातमा आएको बताए । अव यसलाई व्यवस्थित रुपमा अगाडि लाने उनले जनाए ।
गुठी व्यवस्थापनसम्बन्धी कागजातमा भक्तजन तथा अन्य स्रोतबाट प्राप्त रकम, भेटी, जिन्सी तथा अन्य सामग्रीको अभिलेख राख्ने र उचित व्यवस्थापन गर्ने उल्लेख छ । त्यसैगरी देवस्थल परिसरमा रहेका मूर्ति, शिलापत्र तथा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका सामग्रीको संरक्षण तथा सुरक्षालाई पनि प्राथमिकता दिइएको छ ।
समितिले गुठी संस्थान ऐन, विनियम तथा प्रचलित कानुनअनुसार काम गर्ने र सम्बन्धित निकायबाट प्राप्त निर्देशनको पालना गर्ने व्यवस्था गरिएको छ । देवस्थल परिसरमा आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमको तयारी र व्यवस्थापन गर्ने जिम्मेवारीसमेत समितिलाई दिइएको छ ।
आर्थिक कारोबारमा पारदर्शितामा जोड
नयाँ व्यवस्थापन प्रणालीको महत्वपूर्ण पक्षका रूपमा गुठीको आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था गरिएको छ । समितिको नाममा स्थानीय बैंकमा खाता सञ्चालन गर्ने र अध्यक्ष, सचिव तथा कोषाध्यक्षमध्ये दुई जनाको संयुक्त हस्ताक्षरबाट बैंक कारोबार सञ्चालन गर्ने व्यवस्था गरिएको कागजातमा उल्लेख छ । गुठीको आम्दानी र खर्चको स्पष्ट अभिलेख राख्ने तथा आर्थिक वर्ष समाप्त भएको ९० दिनभित्र लेखापरीक्षण गराई सम्बन्धित गुठी कार्यालय तथा मालपोत कार्यालयमा प्रतिवेदन पेश गर्ने व्यवस्था पनि गरिएको छ । यसैगरी कार्यकालभरको आय–व्यय विवरण सम्बन्धित गुठी कार्यालय तथा मालपोत कार्यालयमा नियमित रूपमा बुझाउने व्यवस्था गरिएको छ । यसले गुठीको आम्दानी कहाँबाट आयो र खर्च कहाँ भयो भन्ने विषयलाई अभिलेखमा राख्ने आधार तयार गर्ने देखिन्छ ।
गुठी सम्पत्तिको संरक्षण र अतिक्रमण रोक्ने
समितिले देवस्थलअन्तर्गत रहेका गुठीका जग्गा, भवन, बगैँचा लगायत सम्पूर्ण सम्पत्तिको संरक्षण तथा संवद्र्धन गर्ने व्यवस्था गरेको छ । गुठी सम्पत्ति तथा जग्गाजमिनको नियमित अनुगमन गरी अतिक्रमण, हानि–नोक्सानी हुन नदिने, अतिक्रमणमा परेका जग्गा सम्बन्धित निकायको सहयोगमा हटाउने तथा दर्ता हुन बाँकी गुठी जग्गालाई गुठीकै नाममा दर्ता गराउन आवश्यक समन्वय गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । अन्य निकायमार्फत निर्माण तथा उपयोग भएका गुठी सम्पत्ति तथा भवन संरचनालाई गुठी संस्थानमा हस्तान्तरण गर्न समन्वय गर्ने तथा गुठीको स्वीकृति र सहमतिबिना गुठी सम्पत्ति कसैलाई हस्तान्तरण नगर्ने व्यवस्था पनि गरिएको छ ।
मर्मत, पुनर्निर्माणदेखि विकाससम्म
गुठीको विकास तथा पूर्वाधार निर्माणमा स्थानीय समुदायको सहभागिता जुटाउने नीति पनि अघि सारिएको छ । देवस्थलको आवश्यक विकासका लागि स्थानीय समुदायको सहभागितामा काम गर्ने तथा संस्थाको स्वीकृति लिएर गुठी सम्पदाको मर्मत, सम्भार, जीर्णोद्धार तथा पुनर्निर्माण गर्ने व्यवस्था गरिएको छ ।
गुठी सम्पदाको मर्मत, सम्भार तथा पुनर्निर्माण पूरा भएपछि ९० दिनभित्र सम्बन्धित संस्थालाई हस्तान्तरण गर्ने व्यवस्था पनि कागजातमा उल्लेख छ । आवश्यकताअनुसार सरकारी बजेट तथा सम्बन्धित निकायको सहयोगबाट भौतिक संरचना निर्माण गर्न सकिने व्यवस्था गरिएको छ ।
समिति स्वयंसेवी, पदाधिकारीलाई पारिश्रमिक नदिइने
व्यवस्थापन समितिलाई स्वयंसेवी संस्थाका रूपमा सञ्चालन गर्ने र कुनै पनि पदाधिकारीलाई पारिश्रमिक वा भत्ता प्रदान नगर्ने व्यवस्था गरिएको छ ।
समितिको कार्यकाल गठन मितिदेखि परीक्षणकालसहित अधिकतम दुई वर्षको हुने तथा आवश्यक अवस्थामा संस्था÷सम्बन्धित निकायको निर्देशनअनुसार समिति विघटन वा पुनर्गठन गर्न सकिने व्यवस्था गरिएको छ । कर्तव्य पालनामा बेवास्ता, आर्थिक अनियमितता लगायतका अवस्था देखिएमा समितिलाई विघटन वा पुनर्गठन गर्न सकिने प्रावधानसमेत राखिएको छ ।
समितिका सदस्य तथा पदाधिकारीहरू संस्थागत रूपमा मात्र नभई व्यक्तिगत रूपमा समेत गुठीप्रति उत्तरदायी हुने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार विभिन्न कामका लागि उपसमिति गठन गरी जिम्मेवारी तोक्न सकिने व्यवस्था पनि गरिएको छ । गुठीको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आर्थिक पारदर्शिता, सम्पत्ति संरक्षण, नियमित लेखापरीक्षण, सामूहिक निर्णय र जवाफदेहितालाई प्राथमिकता दिएर अघि बढ्ने नयाँ व्यवस्थापन प्रणालीले गुठी सञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । यससँगै श्री बौद्ध तथा मेलम्ची घयाग गुठी अब व्यक्ति वा सीमित व्यक्तिको निर्णयमा मात्र निर्भर नरही समिति, अभिलेख, आर्थिक अनुशासन र सामूहिक जिम्मेवारीमा आधारित संस्थागत व्यवस्थापनतर्फ अघि बढेको देखिएको छ ।
यी हुन समितिका पदाधिकारीहरु
बौद्धनाथ क्षेत्रको पूजापाठ तथा धार्मिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समिति गठन गरिएको छ । गुठी संस्थान सञ्चालक समितिको मिति २०८३ वैशाख ११ गतेको निर्णयअनुसार खड्ग जीत लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ व्यवस्थापन समिति गठन भएको हो । नवनियुक्त अध्यक्ष लामा श्री बौद्ध तामाङ कल्याण गुठीका पूर्व अध्यक्ष तथा स्थानीय समाजसेवी एवं अवकाश प्राप्त शिक्षक समेत हुनुहुन्छ ।
गुठी संस्थान ऐन, २०३३ को दफा १६ र १७ तथा गुठी देवस्थल व्यवस्थापन समिति गठन सम्बन्धी निर्देशिका, २०८१ को प्रावधान बमोजिम यो समिति चयन गरिएको हो । नवगठित समितिका पदाधिकारीहरूमा अध्यक्ष खड्ग जीत लामा, सचिव टासी लामा, कोषाध्यक्ष शैलेन्द्र लामा, सदस्यहरुमा किशोर लामा, निर्मला लामा, पदेन सदस्यहरुमा गुठी संस्थान शाखा कार्यालय काठमाण्डौंका प्रतिनिधि, काठमाण्डौं महानगरपालिका वडा नं ६ का वडा प्रतिनिधि, पुजारी लामा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी र जिल्ला प्रशासन कार्यालय, प्रतिनिधि रहने छन् । समितिमा स्थानीय प्रतिनिधिदेखि सरोकारवाला निकायका प्रतिनिधिहरू समावेश छन् ।
बौद्धनाथको परम्परागत धर्म, संस्कृति, र दैनिक पूजाआजा कार्यलाई निरन्तरता दिने मुख्य कार्यभार पाएको छ । साथै, गुठीको स्वामित्वमा रहेका चल–अचल सम्पत्तिको अधिकतम परिचालन, संरक्षण र सम्वद्र्धन गर्ने जिम्मेवारी समेत समितिलाई सुम्पिएको छ । यो गठनले बौद्ध क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापनमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ ।
श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समिति जनताको हातमा











Leave a Reply