ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ

भक्तपुरमा ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ

भक्तपुर । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल ब्रम्हनगर बस्दै आएका २५ वर्षीय उमेश शाह र भक्तपुर नगरपालिका–२ इटाछेका ४१ वर्षीय राजेश कर्मचार्य रहेका छन् ।

प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे शाहले सञ्चालन गरेको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार आठ सय रुपैयाँमा बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि अनुगमन गरिएको थियो ।

अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले गरेको अनुगमनका क्रममा पसलबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर बरामद गरेको हो । त्यसपछि प्रहरीले पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी बिहीबार साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यासका सिलिण्डरसहित सञ्चालक कर्मचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तासँग तोकिएकोभन्दा बढी मूल्य असुली कालोबजारी गरेको आशंकामा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *