माष्टर जगतसुन्दर मल्लको १४४औं जन्मजयन्ती भव्यताका साथ मनाए

नेपालभाषाया चारस्तम्भमा एक रहनु भएका माष्टर जगतसुन्दर मल्लको १४४औं जन्मजयन्ती विराट नेपालभाषा साहित्य गुथिले आज भक्तपुर खौमा टोल अवस्थित उहाँको सालिकमा वरिष्ठ साहित्यकार, नेपालभाषाका अभियन्ता, सामाजिक व्यक्तित्वहरूले माल्यार्पण गरी भव्यताका साथ मनाएको छ । विराट नेपालभाषा साहित्य गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरू कृष्णमोहन जोशी, प्रदीपरत्न शाक्य, सुलोचना सैजू, राजुराम मुनंकर्मि, मिमला शर्मा, ज्ञानकेशरी श्रेष्ठ, सङ्गीता पञ्च, ओमकृष्ण श्रेष्ठ र सुरेन्द्रलाल भुजुले साहित्यवाचन गरेका थिए । नेपालसंवत् १००३ कौलागा त्रयोदशी (१९३९ कार्तिक १५ गते) का दिन भक्तपुरको खौमा टोलमा जन्मनु भएका माष्टर जगतसुन्दरले ‘छि‌ट्टै पढ्‌न सिक्न र सिकाउने हो भने मातृभाषामा पढौं पढाऔं’ भन्ने अभियान चलाएका थिए । उनले आफ्नो जन्मघर भक्तपुरको खौमा र काठमाडौंको न्हायकं टोलमा बालकहरू जम्मा गरि पढाउने काम गरेको कारणले माष्टरसाहेब पहिचान बनेको मानिन्छ । आफ्नो मातृभाषा नेपालभाषालाई अति प्रेमभाव राखी गर्व गर्ने माष्टर जगतसुन्दर अङ्ग्रेजी साहित्यलाई नेपालभाषामा अनुवाद गर्ने पहिलो नेपालीको रूपमा सुपरिचित छन् । उनका ‘इसपं दयेकुगु बाखं’ व पेटर पार्लि (अनुदित), गो मयजुया बाखं, इङ्ग्लिस नेपालभाषा डिक्सनरी, इङ्ग्लिस ग्रामर इन पर्वतिया, पनि प्रकाशित गर्नु भएको छ । नेपालसंवत् १०७३ गुंलाथ्व सप्तमिका दिन दिवंवत भएका उनको सम्मानमा नेपालभाषामा अध्यापन हुने जगतसुन्दर ब्वनेकुथि मा.वि. काठमाडौं चागलमा सञ्चालनमा छन् भने उनको जन्मस्थान भक्तपुरको खौमामा सालिक स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *