भक्तपुरमा उज्ज्यालो नेपाल पार्टी स्थानीय निकाय निर्वाचनको तयारीमा

भक्तपुर । उज्ज्यालो नेपाल पार्टीका केन्द्रिय उपमहासचिव जीतराम लामाले स्थानीय निकायको निर्वाचनको तयारीमा रहन पार्टी नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । त्यसकारण भक्तपुरका चार नगरपालिका र ३८ वटा वडाहरुमा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु हुन चाहनेहरुको नामावली संकलन गर्न उहाँंले जिल्ला पार्टी नेताहरुलाई निर्देशन दिनुभयो ।
पार्टीले शनिबार भक्तपुरमा गरेको दसैं तिहार नेपाल सम्वत तथा छठ पर्वको अवसरमा गरेको शुभकामना आदानप्रदान तथा दैउसी भैलो कार्यक्रममा उहाँंले सक्षम व्यक्तिहरुलाई उम्मेदबार बनाउन निर्देशन दिनुभयो । यसअघिको संसदीय निर्वाचनमा पनि उक्त पार्टीले भक्तपुरका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदबारी दिएको थियो । तर अपेक्षित मत नआएको भन्दै उहाँले अव स्थानीय निकायको निर्वाचन त्यस्तो हुन नदिने गरी तयारी थाल्न निर्देशन दिनुभयो ।
पार्टी जिल्ला अध्यक्ष छन्दविज्ञान निरौलाले यही तिहार, छठको वीचमा पार्टीको चारवटै नगरपालिका र ३८ वटै वडाहरुमा नगर समिति र वडा समिति गठन गर्ने योजना रहेको जानकारी गराउनुभयो । पार्टीको हाल निरौलाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति मात्रै छ ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्यहरु पवन पोखरेल, विष्णु सुवाल, प्रदेश समिति सदस्य जीतबहादुर वाइवा, जिल्ला उपाध्यक्ष तीर्थ लामा, पूर्व पार्टी जिल्ला संयोजक दुर्गाबहादुर घिमिरेलगायतले स्थानीय निकायको निर्वाचनका विविध पक्षमा चर्चा गर्नुभयो ।
कार्यक्रमपछि दैउसी भैलो पनि खेलिएको थियो । दैउसी भैलो कार्यक्रम कार्यक्रममा सहभागी नेता कार्यकर्ता तथा समर्थकहरुवीच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *