भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सांसद् प्रेम सुवालले केपी शर्मा ओली जस्ता भगुवाहरु देशभक्त हुन नसक्ने बताउनुभएको छ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. ४ समितिले शनिबार साँंझ भक्तपुरको गःहिटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभयो । उहाँले भदौ २३ गतेसम्म आफू जुनसुकै हालतमा पनि प्रधानमन्त्रीबाट राजीनामा नदिने बताउने ओली भोलिपल्टै दिउँसै भागेको टिप्पणी गर्नुभयो । यसरी संकटको समयमा आफ्नो जिम्मेवारी छाडेर भाग्ने व्यक्ति देशभक्त हुन नसक्ने उहाको भनाइ थियो ।
विश्व इतिहासमा पनि देश र जनताको संकटका बेला नेतृत्व तहमा रहेका व्यक्तिहरु यसरी भाग्ने उदाहरण कमै पाइने उल्लेख गर्दै सुवालले बरु आफ्नो देश र जनताको रक्षाका लागि ज्यानको बाजी थापेर शहीद भएका व्यक्तिहरु इतिहासमा रहेको बताउनुभयो । देशभक्ति भनेको संकटका बेला जिम्मेवारीबाट पन्छिनु नभई देश र जनताको पक्षमा दृढतापूर्वक उभिनु भएको उहाको भनाइ थियो। कार्यक्रममा उहाले देशको राजनीतिक अवस्था, राष्ट्रिय स्वाधीनता र देशभक्तिको विषयमा समेत आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाले गरिरहेका विभिन्न गतिविधिहरुबारे चर्चा गर्नुभयो । उहाँंले देको मिवा जग्गा एकीकरण आयोजनाका पीडितको समस्या समाधानका लागि नगरपालिका निरन्तर लागिपरिरहेको पनि बताउनुभयो । यसका लागि नगरपालिकाले गरेका पछिल्ला निर्णयहरुबारे उहाँंले जानकारी गराउनुभयो ।
कार्यक्रममा सो वडाका वडा अध्यक्ष उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो । कार्यक्रम वडा पार्टी अध्यक्षको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमकोवीचवीचमा विभिन्न परम्परागत साँंस्कृति प्रदर्शनीहरु गरिएको थियो ।
ओली जस्ता भगुवाहरु देशभक्त हुन सक्दैनन्ः प्रेम सुवाल












Leave a Reply