मध्यपुर थिमिको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने सोचमा अनिश वैद्य

भक्तपुर । अधिवक्ता तीर्थबहादुर वैद्य (अनिश वैद्य) ले आगामी स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने सोच बनाएका छन् । मध्यपुर थिमि नगरपालिका–७, नगदेशका स्थायी बासिन्दा वैद्यले आफू लामो समयदेखि समाजसेवामा समर्पित हुँदै आएको उल्लेख गर्दै नगरपालिकाको नेतृत्वका लागि आफूले अघि सारेको सोच र योजनाबारे सार्वजनिक रूपमा छलफल गर्न चाहेको बताएका छन् ।

उनले नगरप्रमुख पदमा उम्मेदवारी दिन आफू उपयुक्त छु वा छैन भन्ने विषयमा नागरिकले प्रश्न गरेर आफ्नो सोच, दृष्टिकोण र क्षमताको परीक्षण गर्न सक्ने बताएका छन् । नगरपालिकामा विद्यमान नीतिगत तथा प्रवृत्तिगत समस्याका विषयमा केन्द्रित भएर प्रश्न गर्न र विषयगत छलफलका लागि आफूलाई सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

वैद्यले आगामी स्थानीय निर्वाचनमा टोलटोल र आँगनआँगनसम्म फैलिएको राजनीतिक विभाजनलाई कम गर्दै समाजलाई पुनः एकताबद्ध बनाउन सहयोग गर्न पनि सबैसँग आह्वान गरेका छन् । नगरपालिकाको विकास, सुशासन, सार्वजनिक सेवा र स्थानीय समस्याको समाधानजस्ता विषयमा नागरिकसँग खुला संवाद गर्दै अघि बढ्ने आफ्नो सोच रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *