भक्तपुर । नेपाल स्काउट, बागमती प्रदेश स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको आयोजनामा दीपावली, नयाँ वर्ष नेपाल सम्बत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना प्रभातफेरीसहित नवरात तथा ब्रम्हायणी सेवा क्याम्पमा सहभागी स्काउट ट्रुप, स्काउट लिडर, रोभर रेञ्जर र स्काउटहरूलाई प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख रजनी जोशीले नगरभित्रका सबै विद्यार्थीले स्काउट शिक्षा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि जोशीले स्काउटले विद्यार्थीलाई अनुशासित, व्यवहारिक र संस्कारी नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले चाडपर्वका साथै विभिन्न सामाजिक गतिविधिमा स्काउटहरूको सक्रिय सहभागिता सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
विजया दशमीका अवसरमा विभिन्न शक्तिपीठ तथा ब्रम्हायणी सेवा क्याम्पमा स्काउट भाइबहिनीहरूले देखाएको सक्रियता र सेवाभाव महत्वपूर्ण कार्य भएको उहाँले बताउनुहँुदै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
अग्रज स्काउटहरूको जीवन, त्याग र समर्पणबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिँदै उहाँले स्काउटहरूलाई स्काउट नियमको पालना गर्दै समुदायप्रति जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथि तथा स्थानीय स्काउटका सल्लाहकार रामगोपाल कर्माचार्यले स्काउट सेवा गर्ने संस्था भएको उल्लेख गर्दै यसको मूल मर्म र उद्देश्य समाजसेवा रहेको बताउनुभयो ।
उहाँले सुरूसुरूमा स्काउटको पोसाक लगाएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक भए पनि स्काउटको सेवाभाव र कामबारे जानकारी गराउँदै जाँदा समाजले यसको महत्व बुझ्दै गएको उहाँले स्मरण गर्नुभयो ।
अर्का सल्लाहकार भक्त राजमण्डारीले स्काउट भवन पुनःनिर्माणका लागि भक्तपुर नगरपालिकाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुहुँदै विद्यार्थीले जीवनभर अध्ययन र सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुका साथै अध्ययनलाई बीचमै छोड्न नहुने बताउनुभयो ।
सल्लाहकार अच्युत प्रजापतिले स्काउट भाइबहिनीहरूले आफूले गरेका सामाजिक तथा सेवामूलक कामहरूको अभिलेख व्यवस्थित रूपमा राख्नुपर्ने र त्यस्ता अभिलेखले भविष्यमा संस्थाको इतिहास निर्माण गर्न सहयोग पुग्ने उल्लेख गर्दै उहाँले स्काउट अनुशासित संस्था भएकाले यसमा आबद्ध सबै सदस्य अनुशासित र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाका अनुसार यो नवराती शक्तिपीठ सेवा क्याम्प जिल्ला स्काउटमै एतिहासिक भएकोे बताउनु भयो । भक्तपुर नगरभित्र सञ्चालित स्काउट इकाईहरुको लागि आवश्यक विभिन्न कार्यक्रमहरु सञ्चालन गरि अहिलेका बालबालिकालाई समाजप्रतिको उत्तरदायित्व बहन बारे जिज्ञासु बनाएको बताउनु भयो । कार्यक्रमको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय स्काउट भक्तपुर नगरपालिकाका सदस्य सचिव रामेश्वर मचामसीले विद्यालयले अनिवार्य स्काउट शिक्षा दिनु पर्नेमा जोड दिदैँ स्काउट शिक्षाले बालबालिकामा एक प्रकारको छुट्टै शिक्षा हासिल गरेको बताउनु भयो ।
सामुदायिक विकास आयुक्त तथा सेवा क्याम्प संयोजक पुष्पा प्रजापतिले नवरात सेवा क्याम्पमा भएका भक्तजनहरुको सहयोग तथा भक्तपुर नगरपालिकाका वडाहरुले गरेको सहयोगले स्काउट शिक्षालाई फेलिन थप टेवा पुगेको बताउनु भयो । कार्यक्रममा सृजन लवजुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।












Leave a Reply