भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको चौथो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न

साजन श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित

भक्तपुर, कार्तिक २१। भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको चौथो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन शनिबार संस्थाका संस्थापक अध्यक्ष श्री साजन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ। कम्पनीका सचिव श्री उमेश दुवालले औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको उक्त सभामा सञ्चालक श्री सरोज याकामीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सभामा सञ्चालक श्री राकेश श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले कम्पनीले हालसम्म गरेका गतिविधि, आर्थिक अवस्था तथा संस्थागत प्रगतिबारे सभालाई जानकारी गराउनुभएको थियो। त्यसैगरी सभाका सभापति तथा संस्थापक अध्यक्ष श्री साजन श्रेष्ठले कम्पनीको भावी कार्यदिशा, आगामी कार्यक्रम तथा सहायक कम्पनीहरूमा लगानी विस्तार गर्ने योजनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उहाँले कम्पनीलाई थप व्यवस्थित, पारदर्शी, प्रगतिशील र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक उपसमितिहरू गठन गरी व्यवस्थापन तथा प्रशासनिक कार्यलाई थप चुस्त र प्रभावकारी बनाइने जानकारीसमेत गराउनुभयो। कार्यक्रमका अवसरमा कम्पनीका शेयरधनी सदस्यहरूलाई शेयर प्रमाणपत्र वितरण गरिएको थियो। कम्पनीको पहिलो अधिवेशनअन्तर्गत निर्वाचन अधिकृत श्री रिता राजित्कारको संयोजनमा नयाँ सञ्चालक समितिको निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो। निर्धारित निर्वाचन प्रक्रियाअनुसार आवश्यक पद सङ्ख्याभन्दा बढी उम्मेदवारी नपरेपछि नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो। अधिवेशनबाट आगामी कार्यकालका लागि श्री साजन श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ। नवगठित सञ्चालक समितिमा निम्न व्यक्तिहरू निर्वाचित हुनुभएको छ। १. श्री साजन श्रेष्ठ — अध्यक्ष २. श्री नारायण प्रसाद लाग्य — सदस्य ३. श्री सरोज याकामी — सदस्य ४. श्री राकेश श्रेष्ठ — सदस्य ५. श्री सुरेन्द्र जाकीबन्जार — सदस्य नवनिर्वाचित सञ्चालक श्री सुरेन्द्र जाकीबन्जारले आफ्नो मन्तव्यका क्रममा कम्पनीका आगामी सम्भावित व्यावसायिक योजना तथा रणनीतिबारे धारणा राख्नुभएको थियो। उहाँले लगानीका सम्भावित क्षेत्रहरूको विश्लेषण, विश्व बजारको वर्तमान प्रवृत्ति तथा बदलिँदो व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै योजनाबद्ध र प्रतिफलमुखी लगानी रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको थियो। सभाले कम्पनीको संस्थागत विकास, व्यावसायिक विस्तार, लगानीका नयाँ अवसरको खोजी तथा प्रभावकारी व्यवस्थापनमार्फत शेयरधनीहरूको हित अभिवृद्धि गर्ने प्रतिबद्धतासहित आगामी कार्यदिशा तय गरेको छ। कम्पनीको चौथो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनले संस्थागत सुशासन, सामूहिक नेतृत्व र दीर्घकालीन व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै नयाँ सञ्चालक समितिको नेतृत्वमा आगामी कार्ययोजना अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *