भक्तपुर, कार्तिक २२। उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबार लिवालिवी स्थित संस्थाकै सभाहलमा नयाँ संचालक समिति तथा उपसमितिका सदस्यहरुबीच परिचयात्मक कार्यक्रमसहित नेपाल सम्वत् ११४७, दीपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले विभिन्न विचारको समुदायका मानिसहरुको संयुक्त संचालनले सहकार्य सिद्धान्तबाट सहकारी क्षेत्रमा भएको विकृति विसंगतिबाट मुक्त हुनुपर्ने बताउँदै संचालक, लेखा सुपरिवेक्षण, सल्लाहकार र उपसमिति सदस्यमा एउटै परिवारका व्यक्तिलाई राख्न नसकिने नीति अंगालेको प्रष्ट पार्नुभयो । संस्थाका सचिव दिनेश कुसीले सदस्यहरूको ससाना बचतलाई सुरक्षित रूपमा सहकार्य गरी ऋण लगानीबाट सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर उकास्न अग्रजहरुले संस्था स्थापनाका लागि गरेको योगदानलाई नयाँ सदस्यहरूले पनि अवलम्बन गर्नुपर्ने बताउनुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले सहकारी संचालनमा हुनसक्ने दुर्घटनाबाट बचाउन फाइप सी अर्थात् पुँजी, ऋणीको चरित्र, ऋणीको क्षमता, ऋणको धितो पर्याप्तता लगायत विषयमा सहकारी संस्था चनाखो हुनुपर्ने बताउनुभयो । संस्थाका उपाध्यक्ष पूण्यराम गोसाइले सहकारी मूल्यमान्यता आएको नयाँ नीतिनियमबारे सहकारीका संचालक र उपसमिति सदस्य जानकार भइराख्नुपर्ने बताउँदै कार्यक्रममा स्वागत गर्नुभयो । संस्थाका निमित्त व्यवस्थापक लक्ष्मी बासीले आव २०८३/८४ को कार्तिक २० गतेसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभयो । निवर्तमान अध्यक्ष तथा संस्थापक सदस्य एवम् सल्लाहकार रामकृष्ण प्रजापतिले नेपालको पहिचान तथा राष्ट्रसंघको सदस्यताका लागि नेपाल भाषा र रञ्जना लिपीको अनिवार्यताबारे जानकारी दिनुभयो । अर्को सल्लाहकार तथा पूर्व कोषाध्यक्ष शिवराम बोहजुले नेपाल सम्वतको माईन्युड तथा अन्य व्यवहारिक प्रयोग बारे जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष सोहन रन्जितलगायतले बोलेको उक्त कार्यक्रममा सल्लाहकार, उपसमिति सदस्यहरू तथा संस्थाका कर्मचारीहरू गरि ४१ जना उपस्थिति रह्यो ।
दीपावलीको अवसरमा शुभकामना आदानप्रदान












Leave a Reply