बधाई तथा स्वागत कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा संघका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष चन्दनकृष्ण श्रेष्ठ नेपाल घरेलु तथा साना उद्योग महासंघको सल्लाहकार समितिमा मनोनीत हुनुभएकोमा बधाई तथा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरका नवनियुक्त कार्यालय प्रमुख भक्तबहादुर भण्डारीलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले चन्दनकृष्ण श्रेष्ठलाई महासंघको सल्लाहकार समितिमा मनोनीत हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले महासंघलाई लघु, घरेलु तथा साना उद्यमीहरूको हकहित संरक्षण र प्रवर्द्धनका लागि प्रभावकारी सुझाव तथा सल्लाह दिन उहाँको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।त्यसैगरी, उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरका कार्यालय प्रमुख भक्तबहादुर भण्डारीलाई संघमा स्वागत गर्दै अध्यक्ष श्रेष्ठले विगतदेखि कार्यालय र संघबीचको सहकार्यमा विभिन्न तालिम, मेला तथा कार्यशाला गोष्ठी सञ्चालन हुँदै आएको स्मरण गर्नुभयो। आगामी दिनमा पनि यस प्रकारको सहकार्यलाई निरन्तरता दिने विश्वास उहाँले व्यक्त गर्नुभयो। संघ, र उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयबीचको आपसी सम्बन्ध, सहकार्य तथा समन्वयलाई थप सुदृढ बनाउँदै भक्तपुरका लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष श्यामसुन्दर श्रेष्ठले व्यक्त गर्नुभयो ।

संघका पूर्वअध्यक्ष एवं महासंघका कोषाध्यक्ष वीरेन्द्र जति श्रेष्ठले भक्तबहादुर भण्डारी बागमती प्रदेशका १३ वटै जिल्लामध्ये उत्कृष्ट कार्यालय प्रमुख बन्न सफल हुनुहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले कार्यालयको आर्थिक सहयोगमा भक्तपुरमा ‘गो लोकल’ कार्यक्रम सञ्चालन गरी पर्यटन प्रवर्द्धनको कार्य भइरहेको जानकारीसमेत गराउनुभयो।

महासंघका केन्द्रीय सदस्य लक्ष्मण ग्वाछाले आफू संघमा आबद्ध भएपछि संघ र तत्कालीन घरेलु तथा साना उद्योग कार्यालयको सहकार्यमा सञ्चालित विभिन्न तालिम तथा गोष्ठीमा सहभागी भई उद्योग विस्तार गर्न सफल भएको अनुभव सुनाउनुभयो। उहाँले उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयले आगामी दिनमा पनि साना उद्यमीहरूको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापतिले भक्तपुर सांस्कृतिक तथा पर्यटनको दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले सम्बन्धित निकायहरूसँग समन्वय र छलफल गरी यहाँका उद्योग व्यवसायलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी, महासंघको सल्लाहकार समितिमा मनोनीत चन्दनकृष्ण श्रेष्ठले विगतमा संघले अनौपचारिक रूपमा सञ्चालनमा रहेका धेरै उद्योगहरूलाई कार्यालयमा दर्ता गराउन सहजीकरण गरेको स्मरण गर्नुभयो। आगामी दिनमा पनि कार्यालयबाट उद्यमीहरूलाई यसैगरी सहयोग र सहजीकरण हुने अपेक्षा व्यक्त गर्दै बधाई तथा शुभकामना व्यक्त गरेकोमा संघप्रति आभार प्रकट गर्नुभयो।

उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरका नवनियुक्त कार्यालय प्रमुख भक्तबहादुर भण्डारीले संघले स्वागत तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। विगतमा पर्यटन कार्यालयमा काम गरेको अनुभव भए पनि उद्योग तथा वाणिज्य क्षेत्र आफ्नो लागि नयाँ रहेको बताउँदै उहाँले सम्बन्धित संघसंस्था तथा सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी कार्यालयका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा महिला उद्यमी समितिकी सभापति कमलश्वरी खर्बुजा र सहसचिव सुमित्रा श्रेष्ठले घरेलु तथा साना उद्योगको विकासमा महिला उद्यमीहरूको भूमिका, योगदान तथा सम्भावनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *