नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिले बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ तथा नेपाल सरकारका विशिष्ट श्रेणीका सचिव रुद्रसिंह तामाङलाई बधाई तथा सम्मान गरेको छ।
शनिबार घेदुङको सभाहलमा तामाङ समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारलाई राज्यको नीति तथा कार्यान्वयनको तहसम्म स्थापित गर्ने उद्देश्यसहित घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको सार्वजनिक जिम्मेवारी, सफलता र उपलब्धिलाई तामाङ समुदायको सामूहिक गौरवसँग जोड्दै भाषा, संस्कृति, पहिचान र समावेशी राज्य निर्माणका सवालमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बिनाविभागीय ज्ञानबहादुर मन्त्री तामाङ, विशेष अतिथि सरकारका विशिष्ट श्रेणीका सचिव रुद्रसिंह तामाङ, घेदुङका प्रमुख सल्लाहकार मोहन गोले तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टाशी लामा, घेदुङका पदाधिकारी, विभागीय प्रमुख, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। घेदुङका सहअध्यक्ष सरोजमोहन मोक्तानद्वारा स्वागत मन्तव्यले कार्यक्रमलाई अगाडि बढाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री तामाङले सम्मानका लागि घेदुङप्रति आभार व्यक्त गर्दै घेदुङ कुनै व्यक्ति वा समूहको मात्र नभई सम्पूर्ण तामाङ समुदायको साझा संस्था भएको बताए। तामाङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणका लागि प्रदेश सरकारले गर्नुपर्ने काम अझै धेरै रहेको उल्लेख गर्दै उनले भाषिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न नीतिगत तथा कानुनी आधार निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रभावकारी प्रयोगमा ल्याउन आवश्यक ऐन, कानुन र कार्यविधि निर्माणका लागि सरकारी निकायमा कार्यरत उच्चपदस्थ कर्मचारी, बुद्धिजीवी, भाषाविद् तथा सरोकारवालाहरूबीच गम्भीर छलफल र सहकार्य हुनुपर्ने बताए। भाषालाई मान्यता दिनु मात्र पर्याप्त नहुने भन्दै सरकारी कार्यालय, प्रशासनिक सेवा र सार्वजनिक निकायमा यसको प्रयोग सुनिश्चित गर्न सामूहिक पहल आवश्यक रहेको उनको भनाइ थियो। नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा स्थापित गर्न अब भाषिक आन्दोलनलाई नीतिगत निर्णय र व्यावहारिक कार्यान्वयनसँग जोड्नुपर्ने सन्देश उनले दिए।
सम्मानित व्यक्तित्व सरकारका सचिव रुद्रसिंह तामाङले नेपाल तामाङ घेदुङसँग आफ्नो सम्बन्ध २०४९ सालदेखि विभिन्न रूपमा जोडिँदै आएको बताएका छन्। आफू घेदुङसँग न त धेरै नजिक, न त टाढा रहेको उल्लेख गर्दै उनले आफ्नो नामसँग जोडिएको तामाङ पहिचानप्रति सधैँ जिम्मेवार र प्रतिबद्ध रहने बताए। उनले भने, ‘राष्ट्रसेवाको जिम्मेवारी निर्वाह गर्दा देश र समुदाय दुवैको हितलाई ध्यानमा राखेर आफ्नो कार्यकालभरि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता गर्छु ।’
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टाशी लामाले विश्वका ३१ देशमा तामाङ संगठन विस्तार भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय तामाङ समुदायका तर्फबाट सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले तामाङ समुदायको पहिचान, भाषा, संस्कृति र अधिकारको अभियान अब राष्ट्रिय सीमाभित्र मात्र सीमित नरहेको उल्लेख गर्दै विश्वभर छरिएर रहेका तामाङ समुदायबीच एकता, सहकार्य र संस्थागत सम्बन्ध विस्तारको आवश्यकता औँल्याए।
घेदुङका प्रमुख सल्लाहकार मोहन गोले तामाङले तामाङ भाषा आन्दोलनको ऐतिहासिक संघर्ष स्मरण गर्दै सदनमा पहिलोपटक तामाङ भाषामा मन्त्रीले सम्बोधन गरेको क्षण आफ्नो जीवनकै भावुक र गौरवपूर्ण क्षण भएको बताए। लामो समयदेखि भाषिक अधिकारका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले उक्त ऐतिहासिक क्षणमा आफूले खुसीका आँसु झारेको स्मरण गरे। भाषा केवल संवादको माध्यम नभई समुदायको इतिहास, सभ्यता, ज्ञान र पहिचानको आधार भएको बताउँदै उनले तामाङ भाषाको संरक्षण र प्रवर्द्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समुदायको अधिकार, पहिचान र संस्थागत विकासका लागि राज्यका जिम्मेवार निकायसँग सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए।
उनले नेपाल तामाङ घेदुङको संस्कृति भवन निर्माणका लागि केही दिनभित्रै जग्गा प्राप्त हुने जानकारी दिँदै भवन निर्माणका लागि आवश्यक बजेट कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट समेत आवश्यक पहल र सहजीकरण गर्न मन्त्री तथा सचिवसमक्ष आग्रह गरे। संस्कृति भवन केवल भौतिक संरचना मात्र नभई तामाङ समुदायको इतिहास, भाषा, कला, साहित्य, संस्कृति र संस्थागत गतिविधिको साझा केन्द्र बन्ने विश्वास उनले व्यक्त गरे।
सम्मान कार्यक्रम व्यक्तिगत उपलब्धिको प्रशंसामा मात्र सीमित नरही राज्यका नीति निर्माण र निर्णय कार्यान्वयन तहमा पुगेका तामाङ व्यक्तित्वहरूलाई समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारका सवालमा थप जिम्मेवार बन्न गरिएको सामूहिक अपेक्षाका रूपमा समेत हेरिएको छ।
Leave a Reply