एकहप्ते सिरामिक्स कार्यशालाको उद्घटन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सेरामिक्स आर्टिस्ट सोसाइटीको आयोजनामा भक्तपुरको स्थानीय कलात्मक उत्पादनहरुको प्रवद्र्धन, प्रोत्साहन र विकासको लागि आजबाट सञ्चालित एकहप्ते सिरामिक्स कार्यशालाको उद्घटन गर्नुभयो।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सिरामिक्सको राम्रो सम्भावना बोकेको देशकै महत्त्वपूर्ण स्थान भक्तपुर भएको बताउँदै परम्परागत सीपलाई आधुनिकतासँग जोडेर अगाडि बढाउन नसके परम्परागत कला र सीप ओझेलमा पर्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।
प्लास्टिकका सामानले माटाका भाँडाको स्थान लिँदै जाँदा परम्परागत पेसामा आबद्ध व्यक्तिहरूको रोजगारी गुम्ने खतरा बढेको बताउँदै उहाँले युवालाई सिरामिक्स क्षेत्रमा आकर्षित गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने र विदेशबाट हुने सेरामिक्स सामग्रीको आयातलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो। परम्परागत पेसालाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोड्दै अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं। ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले युवाहरूमा आफ्नै देशमा सम्भावना खोज्नेभन्दा परनिर्भर सोच बढ्दै गएको बताउँदै आफूमा भएको सीप र क्षमताको सदुपयोग गरी समाज र परिवारका लागि धेरै काम गर्न सकिने बताउनुभयो। आफ्नो सीप र रुचिसम्बन्धी कामलाई निरन्तरता दिँदै अगाडि बढे त्यसले दक्षता विकास गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो।
नेपाल सेरामिक्स आर्टिसट सोसाइटीका अध्यक्ष रमेश प्रधानले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै परम्परागत सिरामिक्स कलालाई आधुनिकतासँग जोड्ने, आधुनिक सिरामिक्स कलाको विकास गर्ने तथा कला र संस्कृतिसँग जोडेर यस क्षेत्रलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो। साथै, नयाँ कलाकारलाई सीप सिकाउँदै सिर्जनशील कार्यमा प्रेरित गर्नु कार्यशालाको प्रमुख लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *