भक्तपुरमा तीन देश झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत

भक्तपुर, भदौ २६ गते । भक्तपुरमा शुक्रबार तीन देशका कला, संस्कृति, भाषा, परम्परा तथा असल रीतिरिवाज झल्काउने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएका छन् । एभरेस्ट इङ्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा नेपाल, चीन र जर्मनीबीचको सांस्कृतिक आदानप्रदान कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यार्थीहरूले नेपाली, चिनियाँ तथा जर्मन संस्कृति झल्काउने गीत, नृत्य, कला तथा अन्य सांस्कृतिक प्रस्तुति दिएका थिए । प्रस्तुतिमार्फत विद्यार्थी तथा सहभागीले तीनै देशका मौलिक संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी लिने अवसर प्राप्त गरेका थिए ।
विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तकीय ज्ञानसँगै विभिन्न देशका भाषा, कला, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । यस्ता गतिविधिले विद्यार्थीमा सांस्कृतिक विविधताको सम्मान, सहिष्णुता, विश्वबन्धुत्व तथा अन्तर्राष्ट्रिय दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ ।
नेपाल, चीन र जर्मनीका संस्कृति एउटै मञ्चमा प्रस्तुत गरिएको कार्यक्रमले तीन देशबीचको सांस्कृतिक सम्बन्ध, पारस्परिक सम्मान र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पु¥याउने सहभागीहरूको विश्वास छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालस्थित सम्बन्धित नियोगका उच्च पदाधिकारी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कला, संस्कृति तथा असल रीतिरिवाजबाट सकारात्मक कुरा सिक्दै अघि बढ्नुपर्ने बताउनुभयो । विभिन्न देशका कला र संस्कृति कुनै एक समुदाय वा राष्ट्रका मात्र नभई विश्वकै साझा सम्पत्ति भएको उल्लेख गर्दै उहाँले सांस्कृतिक आदानप्रदानले आपसी समझदारी, सम्मान र सद्भाव अभिवृद्धि गर्ने बताउनुभयो ।
संस्थापक प्रिन्सिपल राजभण्डारीले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिनियाँ स्वयंसेवक शिक्षक, जर्मन भाषा शिक्षक तथा सांस्कृतिक कार्यक्रम संयोजनमा संलग्न सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *