भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ग्यास सिलिन्डर बिक्री तथा वितरणमा अनियमितता नगर्न व्यवसायी तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा ग्यासको आपूर्ति व्यवस्थालाई सहज देखाउँदै यस जिल्लाभित्र विभिन्न कम्पनीका ग्यास सिलिन्डर बिक्री वितरणमा सरकारले तोकेको भन्दा बढी मूल्य लिने, कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा अनुचित व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गरिएको छ।
कार्यालयले ग्यास बिक्री वितरणमा अनावश्यक समय वा उपभोक्ताको हकविपरीतका गतिविधि नगर्न समेत आग्रह गरेको छ। प्रशासनले यस्ता गतिविधिमाथि नियमित रूपमा अनुगमन तथा सूचना संकलन भइरहेको जनाएको छ। सूचनामा भनिएको छ, “सो कार्य गरेको पाइएमा नेपाल सरकारको प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने” व्यहोरा समेत जानकारी गराइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माद्वारा जारी सूचनामा ग्यासको सहज आपूर्ति र उपभोक्ताको अधिकार संरक्षणका लागि व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न र अनियमितता भए प्रशासनमा जानकारी गराउन आग्रह गरेको छ।











Leave a Reply