बाँच्नुको अर्थ खोज्ने समाज

विश्व आत्महत्या रोकथाम दिवस २०२६ को सन्दर्भमा नेपाली समाज, बदलिँदो जीवनशैली, सामाजिक विघटन र राज्यको दायित्वमाथि विचार विमर्श।
राजेश शिल्पकार
विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्ष १२ सेप्टेम्बरमा मनाइन्छ। सन् २०२४ देखि २०२६ सम्मका लागि अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संघले आत्महत्याबारेको भाष्य परिवर्तन गरौँ भन्ने मूल विषय अघि सारेको छ। यसको आह्वान छ, संवाद सुरु गरौँ।
यो वर्ष १२ सेप्टेम्बर २०२६ बिहीबार परेको छ। तर नेपालमा यो दिन एउटा औपचारिक दिवसका रूपमा मात्रै मनाएर पुग्दैन। हाम्रो प्रश्न अझ गहिरो छ।
किन मानिस बाँच्नबाट थाक्छ?
कुन अवस्थामा एउटा मानिसलाई संसारसँगको सम्बन्ध भन्दा मृत्यु नजिक लाग्न थाल्छ?
परिवार भएर पनि मानिस किन एक्लो हुन्छ?
हजारौँ मानिस सामाजिक सञ्जालमा जोडिएका छन्, तर आफ्नो दुःख सुनाउने एउटा मानिस किन भेटिँदैन?
र सबैभन्दा महत्वपूर्ण प्रश्नः राज्यले नागरिकलाई बाँच्नका लागि आवश्यक न्यूनतम आशा दिन सकेको छ कि छैन?
यी प्रश्नको उत्तर मानसिक स्वास्थ्यको किताबमा मात्र भेटिँदैन। यसको उत्तर हाम्रो परिवारमा छ, हाम्रो संस्कारमा छ, हाम्रो अर्थतन्त्रमा छ, हाम्रो राजनीति र राज्य प्रणालीमा छ, हाम्रो सामाजिक सम्बन्धमा छ र हामीले सफलतालाई कसरी परिभाषित गरेका छौँ भन्ने कुरामा पनि छ।
१. आत्महत्या एउटा संख्या होइन, एउटा जीवनको अन्तिम अध्याय हो
नेपालमा आत्महत्याको अवस्था गम्भीर छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०२४÷२५ मा ६,८६६ जनाले आत्महत्या गरेका थिए। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम भए पनि दैनिक औसत करिब १८ जनाको मृत्यु बराबर हुन्छ।
एउटा वर्षमा हजारौँ परिवारले आफ्नो सदस्य गुमाउँछन्। त्यसमा आमा हुन्छिन्, बुबा हुन्छन्, छोराछोरी हुन्छन्, श्रीमान् वा श्रीमती हुन्छन्, साथी हुन्छन्, सहकर्मी हुन्छन् र छिमेकी हुन्छन्।
अर्थात् आत्महत्याको मृत्यु एउटा व्यक्तिको मृत्युमा समाप्त हुँदैन। यसको असर परिवार, साथी, समुदाय र समाजसम्म फैलिन्छ।
त्यसैले आत्महत्या रोकथामलाई केवल अस्पताल वा मनोचिकित्सकको जिम्मेवारी बनाउनु गलत हुन्छ। यो सम्पूर्ण समाजको जिम्मेवारी हो।
२. नेपालमा देखिएका चर्चित घटनाले हामीलाई के सिकाउँछन?
पछिल्ला वर्षहरूमा नेपालमा केही आत्महत्या तथा आत्मदाहका घटनाले राष्ट्रिय बहस जन्माएका छन्।
२०८३ को असारमा काठमाडौंमा भएको गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्यु विशेष रूपमा चर्चामा आयो। समाचार रिपोर्टहरूमा उनको आर्थिक समस्या, जरिवाना तथा दैनिक जीवनमा बढ्दै गएको दबाबबारे परिवारजनले बताएका थिए।
त्यसपछि छोटो समयमै नेपालमा आत्मदाहका अन्य घटनासमेत भएका र त्यसले राज्यको सामाजिक तथा आर्थिक नीतिमाथि प्रश्न उठाएको समाचारहरू प्रकाशित भए।
यी घटनालाई केवल “आत्महत्या” भनेर बन्द फाइलमा राखिदिनु पर्याप्त हुँदैन। तर अर्को गल्ती पनि गर्नु हुँदैन। कुनै व्यक्तिको मृत्युबाट राजनीतिक नाराबाजी बनाउनु पनि गलत हो।
हामीले घटना पछाडि रहेका संरचनात्मक कारण बुझ्नुपर्छः गरिबी, ऋण, बेरोजगारी, सामाजिक अपमान, परिवारको दबाब, सम्बन्ध विच्छेद, घरेलु हिंसा, सामाजिक बहिष्कार, वैदेशिक रोजगारीको तनाव, डिजिटल संसारको तुलना, असफलताको डर र कहिलेकाहीँ राज्यका संस्थासँग सहायता खोज्दा पनि सहायता नपाउने निराशा।
३. प्रेम आचार्यको घटना र राज्यसँग नागरिकको सम्बन्ध
नेपालमा आत्मदाहलाई राजनीतिक र सामाजिक बहसको केन्द्रमा ल्याउने घटनामध्ये प्रेमप्रसाद आचार्यको आत्मदाह पनि एउटा महत्वपूर्ण मोड बन्यो।
त्यो घटनापछि व्यवसाय, ऋण, राज्य संयन्त्र, कर प्रणाली, रोजगारी, उद्यमशीलता र नागरिकको निराशाबारे देशव्यापी बहस भयो।
कुनै व्यक्तिले चरम कदम चाल्नु उसको व्यक्तिगत जीवनको जटिल परिणाम हुन सक्छ। त्यसलाई सम्पूर्ण रूपमा राज्यलाई दोष दिएर व्याख्या गर्न सकिँदैन। तर यदि एउटै प्रकारका समस्या धेरै नागरिकको जीवनमा दोहोरिइरहेका छन् भने राज्यले आफूलाई प्रश्न गर्नैपर्छ।
नागरिकले समस्या लिएर राज्यको ढोकामा पुग्दा उसले समाधान भेट्छ कि अर्को ढोका?
राज्यको काम नागरिकलाई केवल नियम सम्झाउनु होइन। राज्यको काम नागरिकलाई बाँच्न सक्ने सामाजिक वातावरण निर्माण गर्नु पनि हो।
४. आत्महत्या र हत्याः दुई फरक मृत्यु, तर एउटै सामाजिक प्रश्न
आत्महत्या र हत्या एउटै कुरा होइनन्। एउटामा व्यक्ति आफैं आफ्नो जीवन अन्त्य गर्छ, अर्कोमा अर्को व्यक्तिले जीवन खोस्छ। कानुनी, मनोवैज्ञानिक र नैतिक रूपमा यी बिल्कुल फरक घटना हुन्।
तर नेपाली समाजको एउटा साझा समस्या दुवै घटनाबाट देखिन्छः हामी मानिसको जीवनको मूल्य संकट आएपछि मात्र सम्झन्छौँ।
हत्या भएपछि समाज आक्रोशित हुन्छ। आत्महत्या भएपछि केही दिन शोक हुन्छ। सामाजिक सञ्जालमा पोस्ट हुन्छ। मोमबत्ती बालिन्छ। बहस हुन्छ। त्यसपछि हामी फेरि पुरानै जीवनमा फर्किन्छौँ।
तर प्रश्न त्यहीँ बाँकी रहन्छः घटना हुनुअघि हामी कहाँ थियौँ?
५. नेपाली समाज पहिले भन्दा समृद्ध भयो कि बढी एक्लो?
हामीले विकासलाई सडक, भवन, मोबाइल, इन्टरनेट र उपभोगको चश्माबाट हेर्न सिकेका छौँ। तर विकासको अर्को सूचक पनि हुनुपर्छः मानिस कति सुरक्षित महसुस गर्छ?
आज एउटा नेपाली युवासँग पहिलेभन्दा धेरै सूचना छ। धेरै अवसर पनि छन्। विश्वसँग जोडिने क्षमता छ। तर तुलना पनि असीमित छ।
उसले सामाजिक सञ्जालमा कसैको विदेश यात्रा, कसैको नयाँ कार, कसैको नयाँ घर, कसैको विवाह, कसैको व्यवसाय र कसैको सफलता देख्छ। तर आफ्नै जीवनको असफलता मात्र देख्छ।
त्यहाँबाट एउटा खतरनाक मनोवैज्ञानिक तुलना सुरु हुन्छः “सबै अगाडि बढिरहेका छन्, म मात्र पछाडि छु।”
६. पश्चिमी जीवनशैली दोषी हो?
नेपाली समाजमा देखिएका सबै समस्या पश्चिमी संस्कृतिको प्रभाव भनेर निष्कर्ष निकाल्नु बौद्धिक रूपमा कमजोर तर्क हो।
पश्चिमबाट आएका धेरै कुरा सकारात्मक छ व्यक्तिगत स्वतन्त्रता, मानसिक स्वास्थ्यबारे खुला संवाद, व्यक्तिगत गोपनीयताको सम्मान, महिलाको अधिकार, बालअधिकार, श्रमको सम्मान, व्यावसायिक मानसिक स्वास्थ्य सेवा।
समस्या पश्चिमी संस्कृति मात्र होइन। समस्या के हो भने हामीले कहिलेकाहीँ पश्चिमी समाजको उपभोगवादी भाग त छिटो ग्रहण ग¥यौँ, तर त्यससँग जोडिएको संस्थागत सामाजिक सुरक्षा, श्रम अधिकार, मानसिक स्वास्थ्य सेवा र व्यक्तिगत स्वतन्त्रताको जिम्मेवारीपूर्ण संरचना भने ग्रहण गरेनौँ।
हामीले ष्लमष्खष्मगबष्किm को चमक देख्यौँ। तर एक्लोपनसँग कसरी जुध्ने भन्ने संरचना बनाएनौँ। हामीले उपभोग सिक्यौँ। तर वित्तीय अनुशासन सिकाएनौँ। हामीले प्रतिस्पर्धा बढायौँ। तर असफल हुन पाउने अधिकार दिएनौँ।
७. नेपाली संस्कृतिको शक्ति कहाँ हराउँदैछ?
नेपाली समाजमा एउटा समय थियो, जहाँ मानिसको जीवन धेरै हदसम्म सामुदायिक थियो। छिमेकी चिनिन्थे। टोलको सम्बन्ध थियो। परिवार ठूलो थियो। चाडपर्व सामूहिक थिए। दुःखमा मानिस पुग्थे। मृत्युमा समाज उपस्थित हुन्थ्यो। समस्या पर्दा आफन्त जुट्थे।
यसको अर्थ पुरानो समाज पूर्ण थियो भन्ने होइन। त्यस समाजमा पनि जातीय विभेद, लैंगिक असमानता, घरेलु हिंसा, अन्धविश्वास र व्यक्तिगत स्वतन्त्रतामाथि नियन्त्रण थियो।
तर त्यस समाजको एउटा सकारात्मक कुरा हामीले गुमाउँदैछौँः मानिसबीचको प्रत्यक्ष सम्बन्ध। आज एउटै घरमा चार जना मानिस बस्छन्। चारवटा मोबाइल हुन्छन्। चारवटा स्क्रिन हुन्छन्। तर चारवटा छुट्टाछुट्टै संसार पनि हुन्छन्।
मानिस घरमा हुन्छ। तर संवादमा हुँदैन।
८. परिवारः हाम्रो पहिलो मानसिक स्वास्थ्य संस्था
नेपालमा मानसिक स्वास्थ्यको पहिलो संस्था अस्पताल होइन। परिवार हो। एउटा बच्चाले दुःख सुनाउन सक्ने ठाउँ घर हुनुपर्छ। एउटा किशोरले असफलताको कुरा गर्न सक्ने ठाउँ घर हुनुपर्छ। एउटा युवाले प्रेममा असफल हुँदा अपमान होइन, सहारा पाउनुपर्छ।
एउटा व्यवसायीले घाटा हुँदा “तँ त असफल भइस्” भन्ने होइन, “अब के गर्ने?” भन्ने आवाज सुन्नुपर्छ। एउटी महिलाले घरेलु हिंसाबारे बोल्दा “घरको कुरा बाहिर नलैजा” भन्ने होइन, “हामी तिम्रो साथमा छौँ” भन्ने परिवार चाहिन्छ। एउटा वृद्धले एक्लोपन व्यक्त गर्दा “अब उमेर भयो” भनेर बेवास्ता गर्नु हुँदैन।
सुन्नु उपचारको सम्पूर्ण विकल्प होइन, तर उपचारतर्फ जाने पहिलो ढोका हुन सक्छ।
९. पुरुषत्वको गलत परिभाषा
नेपाली समाजको आत्महत्या बहसमा पुरुषबारे पनि गम्भीर कुरा गर्नुपर्छ।
हामीले धेरै पुरुषलाई बाल्यकालदेखि सिकायौँः “पुरुष भएर रुनु हुँदैन।” “कमजोरी देखाउनु हुँदैन।” “समस्या आफैं समाधान गर्नुपर्छ।” “घरको जिम्मेवारी तिमीले लिनुपर्छ।” “कमाउन नसक्ने पुरुष के पुरुष?” तर यी वाक्य सामान्य लाग्छन्। तर यिनले पुरुषलाई आफ्नो पीडा लुकाउन सिकाउँछन्। पीडा लुकाउनु र पीडा समाप्त हुनु एउटै कुरा होइन। त्यसैले मानसिक स्वास्थ्यको बहसमा पुरुषलाई पनि बोल्न दिने संस्कृति चाहिन्छ।
१०. महिला, घरेलु हिंसा र सामाजिक नियन्त्रण
महिलाको आत्महत्या सम्बन्धी जोखिमलाई पनि केवल मानसिक स्वास्थ्यको चश्माबाट हेर्न मिल्दैन। घरेलु हिंसा, दाइजो, आर्थिक निर्भरता, सम्बन्धमा हिंसा, यौन हिंसा, सामाजिक प्रतिष्ठाको दबाब, एकल महिलाप्रतिको पूर्वाग्रह र परिवारभित्रको असमान शक्ति मानसिक स्वास्थ्यसँग जोडिन्छन्। महिलालाई “सहनुपर्छ” भनेर सिकाउने समाजले कहिलेकाहीँ पीडालाई सामान्य बनाइदिन्छ।
सहनशीलता राम्रो गुण हो। तर अन्याय सहनुलाई सद्गुण बनाउनु अपराधको सामाजिक रूप हो।
११. युवापुस्ताः अवसरको युग कि निराशाको युग?
नेपालको सबैभन्दा ठूलो शक्ति युवा जनसंख्या हो। तर यही युवाको सबैभन्दा ठूलो समस्या पनि भविष्यको अनिश्चितता हो। पढेपछि जागिर छैन। जागिर पाए पनि आम्दानी पर्याप्त छैन। व्यवसाय गरे जोखिम ठूलो छ। घर किन्न असम्भवजस्तो लाग्छ। विवाह र परिवारको सामाजिक अपेक्षा छुट्टै छ। विदेश जानु सफलताको प्रमाण जस्तो बनाइएको छ। नेपालमा बस्नु कहिलेकाहीँ असफलताको संकेतजस्तो प्रस्तुत हुन्छ।
यो मानसिक संरचना अत्यन्त खतरनाक छ।
विदेश जानु गलत होइन। विदेशमा अवसर खोज्नु पनि गलत होइन। तर यदि एउटा पुस्ताले आफ्नो भविष्य केवल देश छोडेर मात्र सम्भव देख्न थाल्यो भने हामीले आर्थिक विकासको मात्र होइन, राष्ट्रिय आत्मविश्वासको संकट पनि सामना गरिरहेका छौँ।
१२. वैदेशिक रोजगारी र अदृश्य मानसिक बोझ
नेपालका लाखौँ परिवारको जीवन वैदेशिक रोजगारीसँग जोडिएको छ। यसले आर्थिक रूपमा परिवार धानेको छ। तर यसको अर्को पक्ष पनि छः एक्लोपन, भाषाको समस्या, श्रम शोषण, ऋण, परिवारबाट दूरी, वैवाहिक तनाव, सांस्कृतिक धक्का, कामको दबाब र विदेशमा मृत्यु वा दुर्घटनाको डर। जापानमा नेपाली नागरिकको मृत्यु तथा आत्महत्यासम्बन्धी तथ्यांकले पनि वैदेशिक रोजगारी र प्रवासको मानसिक पक्षबारे प्रश्न उठाएको छ।
हामीले विदेश पठाउँदा पासपोर्ट र श्रम स्वीकृति मात्र दिन्छौँ कि मानसिक सुरक्षा पनि दिन्छौँ?
१३. सामाजिक सञ्जालः साथी कि मौन न्यायाधीश?
सामाजिक सञ्जाल आधुनिक समाजको ठूलो उपलब्धि हो। तर यसले एउटा नयाँ मनोवैज्ञानिक समस्या जन्माएको छः सार्वजनिक तुलना। पहिले मानिस आफ्नो छिमेकीसँग तुलना गथ्र्यो। आज ऊ संसारभरका लाखौँ मानिससँग तुलना गर्छ। पहिले असफलता टोलमा सीमित हुन्थ्यो। आज एउटा गल्ती भाइरल हुन सक्छ। पहिले अपमान केही मानिसले देख्थे। आज हजारौँले देख्न सक्छन्। साइबर बुलिङ, अनलाइन अपमान र सामाजिक बहिष्कारले विशेष गरी किशोर तथा युवामा गम्भीर प्रभाव पार्न सक्छ।
डिजिटल साक्षरता अब कम्प्युटर चलाउन सिक्नु मात्र होइन। डिजिटल संसारमा मानसिक रूपमा कसरी सुरक्षित रहने भन्ने शिक्षा पनि हो।
१४. मिडियाको भूमिकाः समाचार कि सनसनी?
आत्महत्याको रिपोर्टिङ अत्यन्त संवेदनशील विषय हो। कुनै चर्चित व्यक्तिको आत्महत्यापछि मिडिया र सामाजिक सञ्जालले घटनालाई बारम्बार दोहो¥याउँदा, अनावश्यक विवरण दिँदा वा आत्महत्यालाई रोमान्टिक, वीरतापूर्ण अथवा समस्याको समाधानका रूपमा प्रस्तुत गर्दा जोखिम बढ्न सक्छ। समाचार दिनुपर्छ। तर मृत्युको प्रदर्शन गर्नु हुँदैन। परिवारको पीडा बेच्नु हुँदैन। अफवाह फैलाउनु हुँदैन। आत्महत्याको तरिका विस्तारमा प्रस्तुत गर्नु हुँदैन।
बरु “मद्दत कहाँ पाइन्छ?” भन्ने प्रश्न प्रत्येक संवेदनशील समाचारसँग जोडिनुपर्छ।
१५. राज्यको पहिलो दायित्वः नागरिकलाई सुन्नु
राज्य नागरिकको अभिभावक होइन। तर राज्य नागरिकको शत्रु पनि होइन।
लोकतान्त्रिक राज्यको काम नागरिकलाई सम्मानपूर्वक बाँच्ने अवसर दिनु हो।
महिला तथा बालबालिका सम्बन्धी निकायले हिंसा पीडितलाई तत्काल सहयोग दिनुपर्छ। गृह प्रशासनले संकटमा रहेका व्यक्तिसँग संवेदनशील व्यवहार गर्ने क्षमता विकास गर्नुपर्छ। आर्थिक नीतिले नागरिकलाई गरिबीको चरम जोखिमबाट जोगाउने सामाजिक सुरक्षा निर्माण गर्नुपर्छ।
आत्महत्या रोकथाम स्वास्थ्य मन्त्रालयको मात्र काम होइन। यो धजयभि–या–नयखभचलmभलत चभकउयलकष्दष्ष्तिथ हो।
१६. स्थानीय सरकार कहाँ छ?
नेपालमा नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो। त्यसैले आत्महत्या रोकथामको सबैभन्दा प्रभावकारी संरचना स्थानीय तह हुन सक्छ। हरेक नगरपालिकामा मानसिक स्वास्थ्य परामर्श केन्द्र, गोपनीय मनोसामाजिक सेवा, विद्यालयमा काउन्सेलिङ, युवाका लागि संवाद कार्यक्रम, घरेलु हिंसा पीडितका लागि तत्काल सहायता, वृद्धका लागि सामाजिक सम्पर्क कार्यक्रम, संकटमा रहेका परिवारका लागि सामाजिक कार्यकर्ता र स्थानीय स्वास्थ्य संस्थामा आत्महत्या जोखिम पहिचान गर्ने तालिम आवश्यक छन्।
नगरपालिका केवल सडक, ढल र भवन बनाउने संस्था होइन। नगरपालिका मानिसको जीवनसँग सम्बन्धित सरकार हो।
१७. विद्यालयमा अंकभन्दा जीवन महत्वपूर्ण छ
हाम्रो शिक्षा प्रणालीले बच्चालाई सोध्छः “कति नम्बर आयो?” तर कमै सोध्छः “तिमी ठीक छौ?”
यो प्रश्न बदल्नुपर्छ। प्रेम, मित्रता, शरीर, पहिचान, सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यबारे सुरक्षित संवाद गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ।
एउटा परीक्षा असफल हुनु जीवन असफल हुनु होइन। यो कुरा हामीले बच्चालाई मात्र होइन, अभिभावकलाई पनि सिकाउनुपर्ने अवस्था आएको छ।
१८. नेपाली समाजलाई फेरि “समुदाय” बनाउनु आवश्यक छ
आत्महत्या रोकथाममा प्रविधि आवश्यक छ। हेल्पलाइन आवश्यक छ। मनोचिकित्सक आवश्यक छन्। औषधि आवश्यक हुन सक्छ।
तर एउटा कुरा कुनै प्रविधिले प्रतिस्थापन गर्न सक्दैनः मानवीय सम्बन्ध। हामीले फेरि सोध्नुपर्छः “कस्तो छौ?” र उत्तर सुन्न पनि समय निकाल्नुपर्छ। समाज भनेको फेसबुकमा “च्क्ष्ए” लेख्ने मानिसहरूको समूह होइन। समाज भनेको संकट आउनुअघि मानिसको छेउमा उभिने सम्बन्धहरूको संरचना हो।
१९. धर्म, दर्शन र नेपाली सभ्यताको सम्भावना
नेपालको सांस्कृतिक परम्परामा जीवनप्रति गहिरो दार्शनिक दृष्टिकोण छ। बौद्ध दर्शनले दुःखलाई जीवनको वास्तविकताको रूपमा स्वीकार गर्छ र दुःखबाट मुक्ति खोज्ने मार्ग प्रस्तुत गर्छ। हिन्दू दर्शनले जीवनलाई केवल भौतिक अस्तित्वका रूपमा मात्र हेर्दैन।
यी दर्शनलाई अन्धविश्वासका रूपमा होइन, मानवीय अर्थ खोज्ने सांस्कृतिक स्रोतका रूपमा पुनः पढ्न सकिन्छ।
तर धर्मको नाममा मानसिक रोगलाई पाप, कमजोरी वा कर्मको सजाय भनेर व्याख्या गर्नु हुँदैन। आध्यात्मिकता र चिकित्सा एकअर्काका शत्रु होइनन्।
२०. आत्महत्या रोकथामको अर्थ “मर्न नदेऊ” मात्र होइन
हामीले आत्महत्या रोकथामको अर्थ धेरै साँघुरो बनाएका छौँ। संकटमा परेपछि मानिसलाई रोक्नु मात्र पर्याप्त होइन।
आत्महत्या रोकथामको गहिरो अर्थ होः मानिसलाई जीवन अर्थपूर्ण छ भन्ने अनुभूति दिलाउने समाज निर्माण गर्नु।
त्यसका लागि रोजगारी चाहिन्छ। सम्मान चाहिन्छ। न्याय चाहिन्छ। सुरक्षा चाहिन्छ। सम्बन्ध चाहिन्छ। स्वास्थ्य सेवा चाहिन्छ। आर्थिक अवसर चाहिन्छ। असफल हुने ठाउँ चाहिन्छ। दोस्रो मौका चाहिन्छ।
सबैभन्दा महत्वपूर्णः आशा चाहिन्छ।
२१. राज्यलाई केही कठोर प्रश्न
१२ सेप्टेम्बरमा हामीले औपचारीक कार्यक्रम भन्दा केही कठिन प्रश्न गर्नुपर्छ।
मानसिक स्वास्थ्य सेवामा राज्यको वास्तविक लगानी कति छ?
हरेक जिल्लामा पर्याप्त मनोसामाजिक सेवा छ?
हरेक विद्यालयमा प्रशिक्षित काउन्सेलर छन?
आत्महत्या रोकथामको राष्ट्रिय रणनीति व्यवहारमा कति कार्यान्वयन भएको छ?
वैदेशिक रोजगारीमा जाने श्रमिकको मानसिक स्वास्थ्य कसले हेर्छ?
ऋण र आर्थिक संकटमा परेका नागरिकलाई सहायता गर्ने प्रणाली कहाँ छ?
घरेलु हिंसामा परेकालाई तत्काल सुरक्षित स्थान कहाँ छ?
साइबर बुलिङविरुद्ध किशोरलाई कसले संरक्षण गर्छ?
आत्महत्याको जोखिममा रहेको मानिसले मध्यरातमा फोन गर्दा कसले उठाउँछ?
यी प्रश्न असहज छन्। तर लोकतन्त्रको अर्थ कहिलेकाहीँ सत्तालाई असहज प्रश्न सोध्नु पनि हो।
२२. हाम्रो राजनीतिक संस्कृतिले पनि आत्मपरीक्षण गर्नुपर्छ
राजनीतिले मानिसलाई आशा दिनुपर्ने हो। तर यदि राजनीतिक भाषाले निरन्तर घृणा, अपमान, बदला, षड्यन्त्र र ध्रुवीकरण मात्र उत्पादन गरिरह्यो भने त्यसले समाजको मानसिक वातावरणमा असर गर्छ। हामीले सार्वजनिक जीवनमा एउटा नयाँ संस्कार निर्माण गर्नुपर्छः असहमत हुन सक्ने तर अमानवीय नहुने।
विरोध गर्न सक्ने तर चरित्रहत्या नगर्ने। राजनीतिक प्रतिस्पर्धा गर्न सक्ने तर प्रतिद्वन्द्वीलाई शत्रु नबनाउने। आलोचना गर्न सक्ने तर मानिसको मानसिक कमजोरीलाई हतियार नबनाउने।
राजनीतिक नेतृत्वले समाजको मनोविज्ञानमा ठूलो प्रभाव पार्छ। त्यसैले नेताहरूको भाषा पनि सार्वजनिक स्वास्थ्यको एउटा हिस्सा हो।
२३. “सफलता”को नेपाली परिभाषा बदल्नुपर्छ
हामीले सफलता भनेको के बनाएका छौँ? ठूलो घर, महँगो गाडी, विदेश, पद, पैसा, फेसबुकमा लाइक र राजनीतिक पहुँच। तर जीवनको अर्को मापन कहाँ छ? शान्ति, स्वास्थ्य, सम्बन्ध, आत्मसम्मान, सन्तुष्टि र अर्थपूर्ण काम।
यी कुरालाई सफलता मान्न हामीले सिक्नुपर्छ। नत्र मानिसले सबै कुरा पाएर पनि आफू असफल भएको महसुस गर्न सक्छ।
२४. बाँच्नु पनि एउटा सामाजिक उपलब्धि हो
हामी बच्चालाई जित्न सिकाउँछौँ। तर हार्न सिकाउँदैनौँ।
कमाउन सिकाउँछौँ। तर हराउन सिकाउँदैनौँ।
प्रतिस्पर्धा गर्न सिकाउँछौँ। तर विश्राम गर्न सिकाउँदैनौँ।
अगाडि बढ्न सिकाउँछौँ। तर कहिलेकाहीँ रोकिएर आफूलाई हेर्न सिकाउँदैनौँ।
जीवनको वास्तविक बुद्धिमत्ता यही होः सबै दिन समान हुँदैनन्।
कहिलेकाहीँ मानिस कमजोर हुन्छ। आर्थिक रूपमा डुब्न सक्छ। प्रेममा हार्न सक्छ। जागिर गुमाउन सक्छ। व्यवसाय डुब्न सक्छ। राजनीतिमा हार्न सक्छ। तर मानिसले यी मध्ये कुनै पनि कारणले आफ्नो मानवीय मूल्य गुमाउँदैन।
समाजले मानिसलाई दोस्रो मौका दिन सक्नुपर्छ।
२५. १२ सेप्टेम्बर प्रतिबद्धताको दिन
विश्व आत्महत्या रोकथाम दिवसमा हामीले मृतकलाई सम्झनु पर्छ। तर त्यतिमै रोकिनु हुँदैन।
हामीले जीवित मानिसलाई पनि सम्झनुपर्छः जो अहिले चुप छ, जो ऋणमा डुबेको छ, जो विदेशमा एक्लो छ, जो प्रेममा असफल भएको छ, जो घरेलु हिंसा सहिरहेको छ, जो परीक्षामा असफल भएको छ, जो बेरोजगार छ, जो सामाजिक अपमान सहिरहेको छ, जो आफ्नो परिवारको अगाडि बलियो देखिएर एक्लै रोइरहेको छ।
उसलाई हाम्रो भाषण होइन, हाम्रो उपस्थिति आवश्यक हुन सक्छ।
२६. राज्यका लागि एउटा प्रस्तावः “राष्ट्रिय जीवन–सहारा अभियान”
अब प्रश्न केवल आलोचनाको होइन, समाधानको पनि हो। नेपाल सरकारले “राष्ट्रिय जीवन–सहारा अभियान” जस्तो बहुक्षेत्रीय कार्यक्रम सञ्चालन गर्न सक्छ।
यसका यी आधार हुन सक्छन
१. २४ घण्टे राष्ट्रिय सहायता प्रणाली
संकटमा रहेका व्यक्तिले तत्काल प्रशिक्षित व्यक्तिसँग सम्पर्क गर्न सक्ने प्रणाली।
२. प्रत्येक स्थानीय तहमा मनोसामाजिक सेवा
नगरपालिका र गाउँपालिकामा गोपनीय तथा पहुँचयोग्य परामर्श।
४. आर्थिक संकट सहायता
अत्यन्त विपन्न परिवारका लागि स्थानीय तहबाट सामाजिक तथा आर्थिक परामर्श।
५. जिम्मेवार मिडिया र डिजिटल अभियान
आत्महत्याको सनसनी होइन, रोकथाम र सहयोगको सूचना।
यस्तो कार्यक्रम कुनै एउटा मन्त्रालयको परियोजना हुनु हुँदैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि स्थानीय सरकारसम्म जोडिने राष्ट्रिय नीति बन्नुपर्छ।
२७. एउटा परिवारले गर्न सक्ने पाँच काम
राज्यको भूमिका ठूलो छ। तर परिवारले पनि केही गर्न सक्छ।
पहिलोः मानिसको कुरा बीचमै नरोकी सुनौँ।
दोस्रोः “तँ कमजोर छस्” भन्ने भाषा प्रयोग नगरौँ।
तेस्रोः मानसिक स्वास्थ्यलाई रोग वा लाजको विषय नबनाऔँ।
चौथोः संकट देखिएमा विशेषज्ञ सहयोग लिन ढिला नगरौँ।
पाँचौँः मानिसलाई एक्लो नछोडौँ, विशेषगरी गम्भीर संकटको संकेत देखिएमा।
आत्महत्या रोकथामको पहिलो पाठ्यक्रम कुनै विश्वविद्यालयमा होइन। घरमै सुरु हुन्छ।
२८. समाजका लागि अन्तिम सन्देश
हामीले मानिसलाई केवल उसको उपलब्धिबाट नाप्न बन्द गर्नुपर्छ।
मानिस असफल हुन सक्छ। ऋणमा पर्न सक्छ। सम्बन्धमा हार्न सक्छ। जागिर गुमाउन सक्छ। व्यवसाय डुब्न सक्छ। परीक्षामा फेल हुन सक्छ। राजनीतिमा हार्न सक्छ। प्रेममा हार्न सक्छ।
तर मानिसले यी मध्ये कुनै पनि कारणले आफ्नो मानवीय मूल्य जिवन गुमाउँन दिनु हँुन्दैन।
समाजले यही कुरा सम्झाउनुपर्छ।
“तिमी असफल भयौ, तर तिमी असफल मानिस होइनौ।”
“तिमी अहिले कमजोर छौ, तर तिमी एक्लो छैनौ।”
“समस्या ठूलो छ, तर तिमीभन्दा ठूलो छैन।”
यही भाषा आत्महत्या रोकथामको वास्तविक भाषा हो।
निष्कर्षः हामीले मृत्यु होइन, जीवनको कथा बदल्नुपर्छ
१२ सेप्टेम्बर २०२६ मा विश्वले फेरि आत्महत्या रोकथामको कुरा गर्नेछ। पोस्टर बन्नेछन्। कार्यक्रम हुनेछन्। गोष्ठी हुनेछन्। भाषण हुनेछन्। सामाजिक सञ्जालमा ह्यासट्याग चल्नेछन्।
अनि ११ सेप्टेम्बरमा सबै कुरा पुरानै अवस्थामा फर्किने जोखिम छ।
त्यसैले यसपटक एउटा फरक प्रश्न गरौँः हामी १२ सेप्टेम्बर मनाउन चाहन्छौँ कि १२ सेप्टेम्बरबाट केही परिवर्तन सुरु गर्न चाहन्छौँ?
आत्महत्या रोकथाम केवल मानसिक स्वास्थ्यको मुद्दा होइन। यो गरिबीको मुद्दा हो। यो बेरोजगारीको मुद्दा हो। यो पारिवारिक सम्बन्धको मुद्दा हो। यो घरेलु हिंसाको मुद्दा हो। यो वैदेशिक रोजगारीको मुद्दा हो। यो शिक्षा प्रणालीको मुद्दा हो। यो सामाजिक सञ्जालको मुद्दा हो। यो सामाजिक न्यायको मुद्दा हो। यो राज्यको संवेदनशीलताको मुद्दा हो। र अन्ततः, यो हाम्रो सभ्यताको परीक्षा हो।
हामी कति अग्ला भवन बनायौँ भन्नेभन्दा ठूलो प्रश्न अब यो होः त्यो भवनभित्र बस्ने मानिस कति सुरक्षित, कति सम्मानित र कति आशावादी छ?
त्यसैले १२ सेप्टेम्बर २०२६ को हाम्रो प्रतिबद्धता यति मात्र नहोस “मानिसलाई यस्तो समाज दिऔँ, जहाँ संकटमा पर्दा उसले मृत्यु होइन, अर्को मानिसको हात खोजोस्।”
किनभने आत्महत्या रोकथामको अन्तिम उद्देश्य केवल एउटा मृत्यु रोक्नु होइन। एउटा जीवनलाई फेरि जीवनतर्फ फर्काउने अवसर दिनु हो।
र त्यसका लागि कहिलेकाहीँ ठूलो भाषण चाहिँदैन।
एउटा फोन पर्याप्त हुन सक्छ।
एउटा भेट पर्याप्त हुन सक्छ।
एउटा सुन्ने कान पर्याप्त हुन सक्छ।
एउटा “म तिम्रो साथमा छु” पर्याप्त हुन सक्छ।
तर त्यो “साथ” समयमै पुग्नुपर्छ।
त्यसैले संवाद आजै सुरु गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *