बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको उदाहरणीय पहल : विपद् कोषमा रु. ५५ लाख ५५ हजार ५ सय ५५ सहयोग
नबराज काफ्ले
भक्तपुर,भाद्र १४
भक्तपुर
देशका विभिन्न जिल्लामा बाढीले निम्त्याएको पीडामा स्थानीय सरकारको साथ थपिँदै गएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा बाढी तथा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने निर्णय गरेको छ । नगर प्रमुख बासुदेव थापाको हस्ताक्षर सहित जारी प्रेस विज्ञप्तिअनुसार नगरपालिकाले विपद्को कठिन समयमा पीडित नागरिकको उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यको प्रयासमा आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो ।
नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. ५५,५५,५५५ उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै नगरपालिकाका जनप्रतिनिधिहरूले एक महिनाको सेवा सुविधाबाट समेत सहयोग गर्ने निर्णय गरेका छन् ।
विज्ञप्तिअनुसार नगर प्रमुखले रु. ३५ हजार, नगर उपप्रमुखले रु. २५ हजार, वडा अध्यक्षहरूले प्रतिव्यक्ति रु. २० हजार, कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति रु. ६ हजार तथा वडा सदस्यहरूले प्रतिव्यक्ति रु. २ हजार ५ सयका दरले सहयोग गर्ने निर्णय गरिएको छ ।
यसअघि बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।
नगरपालिकाले विपद्को यस कठिन घडीमा पीडित नागरिकको खोजी, उद्धार, स्वास्थ्य उपचार तथा राहत लगायतका कार्यमा सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ । विपद्को सामना गर्न सरकारको प्रयाससँगै नागरिक समाज, निजी क्षेत्र, संघसंस्था तथा शुभेच्छुकहरूको सहयोग आवश्यक रहेको भन्दै नगरपालिकाले सबैमा सहयोगका लागि आग्रह गरेको छ ।
नगर प्रमुख बासुदेव थापाको हस्ताक्षरसहित जारी विज्ञप्तिले स्थानीय तहले आफ्नो नियमित प्रशासनिक दायराभन्दा बाहिर राष्ट्रिय विपद्मा समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देश दिएको छ । विपद्को समयमा सार्वजनिक निकायबाट हुने यस्तो सहयोगले तत्कालीन राहतसँगै स्थानीय सरकार र नागरिकबीचको सहकार्य तथा मानवीय ऐक्यबद्धतालाई समेत बलियो बनाउने देखिन्छ ।











Leave a Reply