राष्ट्रिय बक्सिङ प्रतियोगिता रोमाञ्चक बन्दै

नेपाल बक्सिङ महासंघ
सुर्खेतमा, क्वार्टरफाइनलका प्रतिस्पर्धा सुरु
सुर्खेत, कर्णाली प्रदेश।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को अवसरमा सुर्खेतस्थित मुख्य कभर्डहलमा सञ्चालन भइरहेको ३१औँ पुरुष तथा १२औँ महिला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा देशभरका प्रदेश तथा विभागीय टिमका खेलाडीहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
प्रतियोगितामा १० वटा टिमका १६१ जना खेलाडी सहभागी छन्। जसमा ९१ जना पुरुष र ७० जना महिला खेलाडी रहेका छन्। महिला तथा पुरुष दुवै विधाका खेलाडीहरूले आफ्नो उत्कृष्ट खेल कौशल, शारीरिक क्षमता, गति, शक्ति र प्राविधिक दक्षता प्रदर्शन गरिरहेका छन्।
प्रतियोगिताको पहिलो दिन मंसिर ११ गते (२६ नोभेम्बर २०२६) विभिन्न तौल समूहमा ३४ वटा बाउट सञ्चालन भएका थिए। प्रारम्भिक चरण र क्वार्टरफाइनलका खेलहरूमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा प्रवेशका लागि प्रतिस्पर्धा गरेका थिए।
पहिलो दिनका खेलहरूमा पुरुषतर्फ ४८ केजी तौल समूहमा मनीषा राई, ५५ केजीमा रोहन सारु, ६० केजीमा खगेन्द्र रोका मगर, ६५ केजीमा सोहन राई तथा नितेश नेपाली, ७० केजीमा सुजन पौडेल र विक्रम चौधरीलगायत खेलाडीले जित हासिल गरेका थिए।
त्यसैगरी ७५ केजी तौल समूहमा रिवाज तामाङ र सुमन कार्की, ८० केजीमा झलक रोकाया, ८५ केजीमा किरण बी.के. तथा ९० केजीभन्दा माथिको तौल समूहमा सौगात गुरुङले आफ्नो प्रतिस्पर्धामा सफलता हासिल गरेका थिए।
महिलातर्फ पनि विभिन्न तौल समूहमा रोमाञ्चक प्रतिस्पर्धा भएका छन्। ५० केजीमा लक्ष्मण राई र मोहन गुरुङ, ५५ केजीमा फुङलाङ काम्बाङ, ६० केजीमा विक्रम परियार, ७० केजीमा भुवन सुस्लिङ र ७५ केजीमा रबिन गुरुङलगायत खेलाडीले जित निकालेका छन्।
मंसिर १२ गते (२७ नोभेम्बर २०२६) सञ्चालित खेलहरूमा महिलातर्फ आरती भोम्जनले तेस्रो राउन्डमा रेफ्रीद्वारा खेल रोकिएपछि (RSC) जित हासिल गरिन्। सिमरन रसाइलीमाथि ललु माया खत्री क्षेत्रीले पहिलो राउन्डमै जित निकालिन्। त्यस्तै मुस्कान तुलाधरले रोशनी बस्नेतलाई ५–० को अंकका आधारमा पराजित गरिन्। उर्मिला बसलेले वाकओभरबाट, खिमा खातीले ५–० को अंकका आधारमा तथा मुस्कान अग्रवालले पनि ५–० को अंकका आधारमा जित हासिल गरे।
क्वार्टरफाइनलका प्रतिस्पर्धा
मंसिर १२ गतेदेखि क्वार्टरफाइनल चरणका खेलहरू सञ्चालन भएका छन्। पुरुष तथा महिला दुवैतर्फका विभिन्न तौल समूहमा प्रतिस्पर्धा थप रोचक बनेको छ।
क्वार्टरफाइनलको खेलतालिकाअनुसार बागमती प्रदेशका खेलाडीहरूले पनि महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछन्।
महिलातर्फ ४८ केजीमा बागमतीकी रमिशा श्रेष्ठले कोशीकी मनिषा राईसँग प्रतिस्पर्धा गर्नेछिन्।
पुरुषतर्फ ६० केजीमा बागमतीका दिपन साम्सोहाङले नेपाली सेनाका खगेन्द्र रोका मगरसँग, ७० केजीमा बागमतीका जोनिश घतानेले नेपाल प्रहरीका सुजन पौडेलसँग तथा ८५ केजीमा बागमतीका राशिब जरीले गण्डकीका किरण बी.के.सँग प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ।
त्यसैगरी अन्य तौल समूहमा पनि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा विभिन्न प्रदेशका खेलाडीहरूबीच पदकका लागि प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिता व्यवस्थापनमा नेपाल बक्सिङ महासंघको सक्रियता
प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्राविधिक रूपमा प्रभावकारी बनाउन नेपाल बक्सिङ महासंघले महासंघका महासचिव मानबहादुर भण्डारीको संयोजकत्वमा तीन सदस्यीय आधिकारिक प्रतिनिधि टोली मनोनयन गरेको छ।
उक्त टोलीमा महासचिव मानबहादुर भण्डारी (संयोजक), कोषाध्यक्ष गौतम सुजखु (व्यवस्थापन संयोजक) र उपाध्यक्ष शोभा जंग के.सी. (सदस्य) रहनुभएको छ।
यसैगरी बागमती प्रदेश बक्सिङ संघका सचिव एवम् एनटिआे (राष्ट्रिय प्राबिधिक अधिकृत) रामकृष्ण  प्रजापतिले जानकारी दिदै प्रतियोगितामा सहभागी भई प्रदेश तथा राष्ट्रियस्तरको बक्सिङ खेलको विकास, समन्वय र व्यवस्थापनमा सक्रिय रहनुभएको छ।
प्रतियोगितालाई निष्पक्ष र मर्यादित बनाउन खेलअघि प्रदेश तथा विभागीय टिमका प्रशिक्षक र व्यवस्थापकहरूसँग समन्वय बैठक तथा रेफ्री र जजहरूका लागि प्राविधिक अभिमुखीकरणसमेत गरिएको थियो।
कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भइरहेको यस राष्ट्रिय प्रतियोगिताले नेपाली बक्सिङमा नयाँ प्रतिभाको पहिचान, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली बक्सिङको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
प्रतियोगिताका आगामी चरणहरूमा खेलाडीहरू पदक प्राप्तिका लागि थप उत्साह र आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *