पार्टी रूपान्तरणको एजेन्डा अघि सारे नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै कांग्रेसको संगठनात्मक सुधार, नेतृत्व रूपान्तरण र जनतामुखी राजनीतिलाई प्राथमिकतामा राख्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै शाहीले पार्टीभित्रको गुटबन्दी, भागबन्डा, व्यक्तिगत स्वार्थ र अवसरवादी राजनीतिका प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्दै आएका छन्। पार्टीलाई समयको मागअनुसार रूपान्तरण गर्दै कार्यकर्ता र जनताको भावनालाई समेट्ने संगठन बनाउनुपर्ने उनको जोड छ। नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष तथा नेपाल तरुण दलको केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका शाही नेपाली कांग्रेसभित्र लामो समयदेखि संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका नेता हुन्। उनले २०७० सालमा कालिकोटबाट संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापति पदमा समेत प्रतिस्पर्धा गरेका थिए। पार्टी संगठनलाई गाउँदेखि केन्द्रसम्म सुदृढ बनाउने उद्देश्यले शाहीले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। २०८० साल जेठ ११ गतेदेखि मेचीदेखि महाकालीसम्म संगठन निर्माण अभियान सञ्चालन गर्दै विभिन्न जिल्ला तथा गाउँबस्तीमा पुगेर कार्यकर्ता भेटघाट र संगठन विस्तारमा जोड दिएका थिए। त्यसैगरी, कर्णालीको कठिन भूगोलमा संगठनलाई मजबुत बनाउने उद्देश्यले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्म संगठन सुदृढीकरण यात्रा सञ्चालन गरेका थिए। उक्त अभियानमार्फत दुर्गम बस्तीमा पुगेर पार्टी संगठनमा नयाँ ऊर्जा, जागरण र भरोसा पैदा गर्ने प्रयास गरिएको उनको भनाइ छ। युवाका मुद्दालाई राजनीतिक बहसको केन्द्रमा ल्याउने उद्देश्यले उनले मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा सञ्चालन गरेका थिए। उक्त अभियानमार्फत भ्रष्टाचार अन्त्य, सुशासन, युवालाई रोजगारी, उद्यमशीलता, कृषिमा युवाको सहभागिता तथा नागरिकमैत्री सरकार निर्माणका विषय उठाएका थिए। शाहीले कांग्रेस सत्ता केन्द्रित नभई जनताकेन्द्रित पार्टी बन्नुपर्ने बताउँदै राजनीतिको आधार विचार, सिद्धान्त, नैतिकता र जनसेवा हुनुपर्ने धारणा राख्दै आएका छन्। उनका अनुसार पार्टीभित्र सबैलाई समान अवसर, न्यायपूर्ण व्यवहार र विधि तथा विधानअनुसार संगठन सञ्चालन हुन आवश्यक छ। सूचना तथा प्रविधिको विकाससँगै पार्टीले नयाँ पुस्ताको भावना, जनताको अपेक्षा र बदलिँदो राजनीतिक चेतलाई आत्मसात् गर्नुपर्ने उनको धारणा छ। पुरानो राजनीतिक शैलीबाट मात्रै पार्टी अघि बढ्न नसक्ने भन्दै संगठनात्मक संरचना, नेतृत्वको कार्यशैली र निर्णय प्रक्रियामा सुधार आवश्यक रहेको उनले बताउँदै आएका छन्। महामन्त्री पदमा उम्मेदवारी घोषणासँगै शाहीले पार्टीभित्र संगठन निर्माण, युवा सहभागिता र राजनीतिक रूपान्तरणका मुद्दालाई थप प्राथमिकतामा राखेका छन्। आगामी महाधिवेशनबाट कांग्रेसलाई नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्नुपर्ने उनको अपेक्षा छ। कांग्रेसको आगामी नेतृत्व चयनले पार्टीको संगठनात्मक दिशा र राजनीतिक भविष्य निर्धारण गर्ने भएकाले महामन्त्री पदमा शाहीको दाबेदारीलाई युवा नेतृत्वको प्रतिनिधित्व र पार्टी रूपान्तरणको बहसका रूपमा हेरिएको छ।
कांग्रेस महामन्त्रीमा युवा नेता भूपेन्द्रजङ्ग शाहीको दाबेदारी












Leave a Reply