भक्तपुर, कात्तिक २८ गते । मध्यपुर थिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तल्लामा रहेको एक कम्पनीमा आगलागी हुँदा भौतिक क्षति भएको छ ।
आज बिहान करेन्ट सर्ट भई लागेको आगलागीबाट ट्रान्क्वील टाइम्स प्रा.लि.मा रहेका सोफा, फर्निचर, लकर, डिभी बक्स, सोनाबाथ तथा स्पालगायतका सामग्री र कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।
अमन मानन्धर, राजन नला, नरेश रञ्जित र राजु कुटुले सञ्चालन गर्दै आएको उक्त कम्पनीमा बिहान करिब ८ बजे आगलागी भएको हो ।
आगलागीको खबर प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयअन्तर्गत जुद्ध बारुण यन्त्र शाखा भक्तपुरको दमकल घटनास्थल पुगेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
बारुण यन्त्र बिहान ८ बजेर ७ मिनेटमा घटनास्थलतर्फ प्रस्थान गरेकोमा आगलागी नियन्त्रणपछि ९ बजेर २७ मिनेटमा फर्किएको थियो ।
आगलागीबाट भएको कुल आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी छ












Leave a Reply