फरेस्ट एक्सन नेपालको आयोजनामा तीनदिने अध्ययन भ्रमण मकवानपुर जिल्ला हेटौडा बागमती प्रदेश
सामुदायिक वनको व्यवस्थापन, प्राङ्गारिक मल उत्पादन तथा वन डढेलो नियन्त्रणका असल अभ्यासबारे स्थलगत अवलोकन र अन्तरक्रिया
मकवानपुर। फरेस्ट एक्सन नेपालको आयोजनामा २०८३ साल कार्तिक १७, १८ र १९ गते तीनदिने सामुदायिक वन अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ।
अध्ययन भ्रमणमा सिन्धुपाल्चोक र दोलखा जिल्लाका सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी, जनप्रतिनिधि, वन प्राविधिक, पत्रकार तथा फरेस्ट एक्सन नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अध्ययन भ्रमण टोलीले मकवानपुर जिल्लाको हेटौँडा तथा मनहरी क्षेत्रमा रहेका विभिन्न सामुदायिक वनहरूको स्थलगत अवलोकन गरेको थियो।
भ्रमण टोलीमा सिन्धुपाल्चोक जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष जनक गिरी, उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक अभियान्ता शारदा प्रसाद चालिसे, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अमृत दङ्गाल, वडा नं. १३ का वडाध्यक्ष रामप्रसाद गौतम, सबडिभिजन वनकार्यलय चौताराकी रेन्जर कमला श्रेष्ठ, रेडियो सिन्धुका व्यवस्थापक रत्नप्रसाद श्रेष्ठ सहभागी थिए।
त्यसैगरी दोलखा जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष जगन्नाथ बस्नेत, महासंघ सचिव सबिना भण्डारी आचार्य, शैलुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष झम्क कार्की, वडा नं. ५ का वडाध्यक्ष दिलकुमार तामाङ, सल्लेरी सामुदायिक वन समूहका अध्यक्ष धनबहादुर तामाङ, सबडिभिजन वन कार्यालयका रेन्जर दीपेश चौधरी, पत्रकार ताराबहादुर महतलगायतको सहभागिता रहेको थियो।
फरेस्ट एक्सन नेपालका सिन्धुपाल्चोक–दोलखा कार्यक्रम प्रमुख मदन बस्याल र निशान बराल लगायतको टोलीले अध्ययन भ्रमणको सहजीकरण गरेको थियो।
प्राङ्गारिक मल उत्पादनदेखि वन डढेलो नियन्त्रणसम्मको अवलोकन
अध्ययन भ्रमणका क्रममा मनहरीस्थित डिपाड सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको प्राङ्गारिक मल उत्पादन कार्यक्रमको स्थलगत अवलोकन गरिएको थियो। सामुदायिक वनबाट उपलब्ध स्रोतसाधनको सदुपयोग गर्दै प्राङ्गारिक मल उत्पादन तथा स्थानीयस्तरमा आयआर्जनका अवसर सिर्जना गर्ने अभ्यासबारे सहभागीहरूले जानकारी लिएका थिए।
त्यसैगरी चौगडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहमा वन विकास, वन व्यवस्थापन तथा वन डढेलो नियन्त्रणसम्बन्धी गतिविधिको अध्ययन तथा अवलोकन गरिएको थियो। वन डढेलो नियन्त्रणका पूर्वतयारी, सामुदायिक सहभागिता र वन संरक्षणका उपायबारे अनुभव आदानप्रदान गरिएको थियो।
मन्त्रालयका सचिवसँग वन विकास र डढेलो नियन्त्रणबारे अन्तरक्रिया
अध्ययन भ्रमणकै क्रममा स्मारक होटल मा बागमती प्रदेश कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्रालयका सचिव केदार बरालको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा मन्त्रालयका उपसचिव अजय विक्रम मानन्धर, मदन कडेल, मोहन केसी र लोकनाथ लम्सालको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा वन डढेलो नियन्त्रण, वन विकास तथा वन व्यवस्थापनसम्बन्धी भावी योजना र रणनीतिका विषयमा प्रस्तुतीकरण गरिएको थियो। फरेस्ट एक्सन नेपालको तर्फबाट कार्यक्रम प्रमुख मदन बस्यालले संस्थाका कार्यक्रम, वन संरक्षण तथा डढेलो नियन्त्रणसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने मन्त्रालयका सचिव केदार बरालले मन्त्रालयको तर्फबाट वन विकास तथा वन डढेलो नियन्त्रणसम्बन्धी योजना र नीतिगत विषयमा प्रकाश पार्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण उपसचिव अजय विक्रम मानन्धरले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य मदन कडेलले राख्नुभएको थियो भने सहभागीहरूको तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ का वडाध्यक्ष रामप्रसाद गौतमले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।
अनुभव आदानप्रदानले वन संरक्षण अभियानमा थप ऊर्जा
तीनदिने अध्ययन भ्रमणले सिन्धुपाल्चोक र दोलखा जिल्लाका सामुदायिक वनकर्मी, जनप्रतिनिधि, वन प्राविधिक तथा सरोकारवालाहरूलाई एकअर्काका सफल अभ्यास सिक्ने र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
विशेषगरी प्राङ्गारिक मल उत्पादन, वनको दिगो व्यवस्थापन, वन विकास, वन डढेलो नियन्त्रण तथा समुदायको सक्रिय सहभागितामार्फत वन संरक्षणलाई प्रभावकारी बनाउने विषयमा भ्रमण उपलब्धिमूलक रहेको सहभागीहरूले बताएका छन्।
यस प्रकारका अध्ययन भ्रमण र अन्तरक्रियाले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय तथा सरोकारवाला संस्थाबीच सहकार्य र समन्वयलाई थप बलियो बनाउँदै वन तथा वातावरण संरक्षण अभियानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।












Leave a Reply