भक्तपुरको नवदुर्गा देवगणको जात्रा मंसिर १० देखि सुरु हुने

भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक परम्परासँग जोडिएको नवदुर्गा देवगणको जात्रा यस वर्ष मंसिर १० गतेदेखि सुरु हुने भएको छ। नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाले सार्वजनिक गरेको वार्षिक जात्रा तालिकाअनुसार मंसिरदेखि चैतसम्म विभिन्न स्थानमा नवदुर्गा देवगणको जात्रा सञ्चालन हुनेछ।

संस्थाका अनुसार गत कात्तिक २७ गते शुक्रबार नवदुर्गा मन्दिरमा देवगणहरूको भेला गरी छलफलबाट यस वर्षको जात्रा सञ्चालन हुने स्थान र मितिहरू निर्धारण गरिएको हो।

तालिकाअनुसार मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँबाट जात्रा सुरु हुनेछ। त्यसपछि पुस ३ गते काठमाडौंको पशुपति क्षेत्रमा नवदुर्गा देवगण पुग्नेछन्। पुस ९ गते मध्यपुर थिमिको दिगुटोलमा देवगण आगमन हुनेछ भने पुस १० देखि १५ गतेसम्म मध्यपुर थिमिका विभिन्न स्थानमा जात्रा सञ्चालन हुनेछ।

त्यस्तै, पुस १७ देखि २१ गतेसम्म काठमाडौंको टोखा, गोकर्ण र चपली क्षेत्रमा जात्रा हुनेछ। पुस ३० गतेदेखि माघ ६ गतेसम्म भक्तपुरको सूर्यमढी, दत्तात्रय, क्वाठण्डौं र गछें क्षेत्रमा जात्रा सञ्चालन हुनेछ।

माघ १५ देखि १८ गतेसम्म काठमाडौंको साँखु क्षेत्रमा जात्रा हुने तालिकामा उल्लेख छ। माघ १९ र २० गते चाँगुनारायण क्षेत्रमा तथा माघ २८ र २९ गते भक्तपुर नगरपालिका–६ स्थित महालक्ष्मी क्षेत्रमा जात्रा हुनेछ।

फागुन महिनामा भक्तपुरका विभिन्न स्थानसहित काभ्रेको साँगा र नालामा समेत नवदुर्गा देवगणको जात्रा सञ्चालन हुनेछ। फागुन ६ र ७ गते साँगा, फागुन २८ देखि ३० गतेसम्म नाला क्षेत्रमा जात्रा हुने तालिकामा उल्लेख छ। चैत १ र २ गते धुलिखेल तथा चैत ३ गते काभ्रेको श्रीखण्डपुरमा जात्रा हुनेछ।

यसैगरी चैत २५ र २६ गते भक्तपुरको बालाखु क्षेत्रमा जात्रा सञ्चालन भएसँगै यस वर्षको सार्वजनिक जात्रा तालिका सम्पन्न हुनेछ।

नवदुर्गा देवगणको जात्रा भक्तपुरको जीवन्त सांस्कृतिक तथा ऐतिहासिक परम्पराका रूपमा रहँदै आएको छ। विभिन्न देवीदेवताको स्वरूपमा मुकुण्डो धारण गरी देवगणहरू नगर तथा विभिन्न बस्तीमा पुगेर जात्रा सञ्चालन गर्ने परम्परा छ।

संस्थाले वार्षिक पात्रोमा उल्लेखित तिथिमितिमा कुनै अस्पष्टता भएमा नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थामा सम्पर्क गर्न भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

स्रोत: नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था, भक्तपुर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *