भक्तपुर, कात्तिक १७। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई ३३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वर काठमाडौंका सञ्चालक वरुण ढुंगेललाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार नगरपालिकासँग भएको ठेक्का सम्झौताबमोजिम बाँकी किस्ता भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गरिदिने भन्दै घुस तथा रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको थियो। सोही क्रममा २०८३ कात्तिक १६ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरास्थितबाट ३३ लाख रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका दुवै जनालाई कात्तिक १७ गते विशेष अदालतको आदेशबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।











Leave a Reply