‘बोनधर्म र तामाङ जाति’ विमोचन

काठमाडौं । लेखक फुरसाङ तामाङद्वारा लिखित ‘बोनधर्म र तामाङ जाति’ पुस्तक सोमबार काठमाडौंमा एक समारोहबीच विमोचन गरिएको छ।

प्रतिनिधिसभा सदस्य माननीय परशुराम तामाङको प्रमुख आतिथ्यतामा नेपाल तामाङ घेदुङको सभाहाल, चुच्चेपाटीमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

कार्यक्रममा पूर्वराज्यमन्त्री सूर्यमान दोङ तामाङ विशेष अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका कार्यवाहक अध्यक्ष अविरल जिम्बा, लेखक रवीन्द्र तामाङ, अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले तामाङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य परशुराम तामाङले तामाङ समुदायको मौलिक धर्म, संस्कृति, इतिहास र पहिचानको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक पुस्तकहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे। उनले आफ्नो मौलिक धर्म, भाषा, संस्कार र परम्पराको संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिए। साथै, समुदायको इतिहास र पहिचानलाई स्थापित गर्न अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणलाई प्राथमिकता दिनुपर्ने बताए।

तामाङ समुदायको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको बोनधर्मका विषयलाई समेटेर लेखिएको यस पुस्तकले तामाङ जातिको मौलिक धर्म, परम्परा र इतिहासबारे थप अध्ययन तथा अनुसन्धानका लागि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पुस्तक विमोचनसँगै तामाङ समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका विषयमा थप बहस तथा विमर्शको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *