हाकिम पक्राउ प्रकरण सेलाउन नपाउँदै मध्यपुर थिमि नगरपालिकामा अर्को विवाद

मध्यपुर थिमि, कार्तिक १७ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३३ लाख रुपैयाँ घुस प्रकरणमा पक्राउ परेको घटना सेलाउन नपाउँदै नगरपालिकामा कर्मचारी भर्ना सम्बन्धी अर्को विवाद सार्वजनिक भएको छ । नगरपालिकाले गरेको कम्प्युटर सहायक (चौथो तह) पदको करार भर्ना प्रक्रियामा अनियमितता, पक्षपात र धाँधली भएको आरोप लागेको छ ।
एबीसीडी खबर मिडियालाई प्राप्त विशेष सूचना अनुसार, नगरपालिकाले विज्ञापन नम्बर ४÷०८२÷८३ अन्तर्गत कम्प्युटर सहायक पदका लागि सञ्चालन गरेको लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता परीक्षाको नतिजामा प्रश्न उठाउँदै केही परीक्षार्थीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । नगरपालिकाले २०८३ कात्तिक १३ गते प्रकाशित गरेको अन्तिम नतिजामा मुख्य सफल १४ जना सबै मध्यपुर थिमि नगरपालिकाभित्रकै स्थानीय बासिन्दा रहेको र वैकल्पिक सूचीमा परेका पाँचै जना नगरबाहिरका परीक्षार्थी रहेको उजुरीमा उल्लेख छ । खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने भनिए पनि सफल उम्मेदवारहरूको सूचीमा स्थानीयलाई मात्र छनोट गरिएको भन्दै परीक्षार्थीहरूले आशङ्का व्यक्त गरेका छन् ।
उजुरीमा देशभरका पाँंच ६ सय परीक्षार्थीहरुबाट प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले परीक्षा शुल्क सङ्कलन गरिएको उल्लेख छ । तर लिखित परीक्षामा राम्रो अङ्क ल्याएका तथा प्रयोगात्मक परीक्षा समेत सम्पन्न गरेका गैरस्थानीय परीक्षार्थीलाई अन्तिम नतिजामा पछाडि पारिएको आरोप लगाइएको छ । त्यस्तै, लिखित र प्रयोगात्मक परीक्षामा प्राप्त अङ्कलाई उचित मूल्याङ्कन नगरी अन्तर्वार्ता तथा स्थानीयबापतको अङ्कका नाममा मनपरी गरिएको उजुरीकर्ताहरूको दाबी छ । आफ्ना निकटका व्यक्तिलाई छनोट गर्ने उद्देश्यले नतिजा प्रभावित पारिएको हुनसक्ने भन्दै उनीहरूले छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
उजुरीकर्ताहरूले लिखित, प्रयोगात्मक र अन्तर्वार्तामा परीक्षार्थीले प्राप्त गरेको वास्तविक अङ्क सार्वजनिक गर्न, स्थानीयबापत प्रदान गरिएको अङ्कको आधार स्पष्ट पार्न तथा सम्पूर्ण भर्ना प्रक्रियाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनीहरुले यही विषयलाई लिएर हेलो सरकार, नेपाल सरकार, अख्तियार, प्रहरीलगायतका ठाउँंमा उजुरी गरेको पनि बताएका छन् ।
यसअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३३ लाख रुपैयाँ घुस प्रकरणमा हिजो सोमबार पक्राउ परेका थिए । घटनाले स्थानीय तहको प्रशासनिक पारदर्शितामाथि प्रश्न उठिरहेका बेला कर्मचारी भर्नासम्बन्धी नयाँ आरोप सार्वजनिक भएको हो । यद्यपि, कम्प्युटर सहायक पदको भर्नामा अनियमितता भएको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ । नगरपालिकाको आधिकारिक धारणा, छनोट समितिको स्पष्टीकरण तथा परीक्षार्थीहरूको प्राप्ताङ्क विवरण सार्वजनिक भएपछि मात्र यस विषयको वास्तविकता स्पष्ट हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *