स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरद्वारा देशमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न आह्वान गर्दै सन्देशमूलक कार्यक्रम आयोजना
भक्तपुर
देशमा शान्ति सुरक्षा स्थापित गर्न, जातीय तथा धार्मिक द्वन्द्वको अन्त्य गर्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल, भक्तपुरले आज भक्तपुरको कमलविनायक परिसरमा प्लेकार्डसहित एक सन्देशमूलक कार्यक्रमको आयोजना गरेको छ। कमलविनायकस्थित कमलपोखरी क्षेत्रमा भेला भएका सञ्चारकर्मीहरूले जातीय, धार्मिक र सामाजिक सहिष्णुताको सन्देश लेखिएका विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। प्छिल्लो चरणमा देशका विभिन्न ठाउँमा देखिएको जातीय तथा धार्मिक तनाव र हिंसाले कसैको पनि हित नगर्ने भन्दै सञ्चारकर्मीहरूले शान्ति र भाइचाराको बाटो रोज्न आम नागरिक र सरोकारवालाहरूलाई आग्रह गरेका हुन ।
कार्यक्रममा सहभागीहरूले “जातीय सद्भाव कायम राखौँ, हिमाल, पहाड, तराई, कोही छैन पराई“, “जातीय, धार्मिक विविधता, हाम्रो साझा सभ्यता“, “हिंसा होइन, शान्तिको बाटो रोजौँ“, “जात होइन, मानवता ठूलो मानौँ“, “विविधतामा एकता, नेपालको विशेषता“, जस्ता सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। उक्त अवसरमा सञ्चारकर्मीहरूले नेपाल सबै नेपालीहरूको साझा घर भएको र यहाँका विभिन्न जातजाति, भाषाभाषी र धर्मबिचको एकता नै नेपालको मूल शक्ति भएको कुरामा जोड दिए। घृणा र अपमानको साटो सद्भाव, सहिष्णुता, आदर र विश्वासको वातावरण सिर्जना गरेर मात्र समृद्ध नेपालको निर्माण सम्भव हुने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो। उक्त सद्भाव तथा शान्ति आह्वान कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्यहरू प्रेमध्वज लामा र सुरेशप्रसाद सैंजू, सल्लाहकार कृष्ण किसी लगायतका अतिथिहरू तथा विभिन्न सञ्चार माध्यममा कार्यरत स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो।












Leave a Reply