पुरानो सम्पदा आफैंले संरक्षण र पुनःनिर्माण गर्न सक्ने उदाहरण भक्तपुर

भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको भक्तपुर नपा वडा नं. २ खौमास्थित इन्द्रायणी द्योछेँ (इल्मा अजिमा) को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले जनताको व्यापक सहभागिता र सहयोगमा सम्पदा पुनर्निर्माण सम्पन्न हुनु सबैका लागि उत्साहजनक भएको बताउँदै सम्पदा संरक्षणमा योगदान पु¥याउने जनता धन्यवादका पात्र रहेको बताउनुभयो ।
उहाँले पुरानो सम्पदा आफैंले संरक्षण र पुनःनिर्माण गर्न सक्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको उल्लेख गर्दै विदेशी सहयोगबिना पनि जनताको सहभागितामा सम्पदा संरक्षण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।
उहाँले यस प्रकारका कार्यको प्रचारप्रसारसँगै दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधि र जनता दुवै सम्पदा संरक्षणमा सचेत हुनुपर्ने र सम्पदा पुनर्निर्माणमा हेलचेक्र्याइँ गर्न नहुने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले युनेस्कोका नियमहरू पनि विभिन्न देशका अनुभव र जानकारीका आधारमा बनिने उल्लेख गर्दै पुनर्निर्माण कार्यमा स्थानीय मौलिकता र प्राचीन प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदाको सहर तथा विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरमा रहेको इन्द्रायणी द्योछेँको पुनर्निर्माणमा धेरै व्यक्ति तथा संघ संस्थाको सहयोग रहेको बताउँदै उपभोक्ता समिति, अनुगमन समिति, द्योछेँ पुनःमा आर्थिक सहयोग, स्वर्णलगायतका सामग्री सहयोग र श्रमदानमा सहभागी सबै सहयोगीप्रति धन्यवादज्ञापन गर्नुभयो ।
भक्तपुर नगरपालिकाले हालसम्म करिब १८५ वटा सम्पदा पुनर्निर्माण तथा संरक्षणका कार्य सम्पन्न गरिसकेको उल्लेख गर्दै उहाँले मूर्त र अमूर्त दुवै सम्पदालाई प्राथमिकताका साथ संरक्षण गर्दै आएको बताउनुभयो ।
भक्तपुर जीवित सांस्कृतिक संग्रहालय तथा नाचगानको राजधानीका रूपमा चिनिँदै आएको बताउँदै उहाँले संस्कृति र सम्पदालाई नयाँ पुस्तामा पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सम्पदा पुनःनिर्माण सम्पन्न कार्यको समीक्षा र सिंहावलोकन पनि महत्वपूर्ण पाटो भएको बताउँदै भक्तपुर नगरपालिकाले विश्वले हेर्नलायक काम गरिरहेको बताउनुभयो ।
संसारका विभिन्न स्थानमा पुराना सम्पदा हटाउने र नष्ट गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहाँले त्यसविरुद्ध त्यहाँका जनता नै प्रतिकारमा उत्रिरहेको उदाहरणहरू प्रस्तुत गर्नुभयो ।
सभ्यता बचाउने र नष्ट गर्नेबीच संघर्ष भइरहेको अवस्थामा भक्तपुरले आफ्नो इतिहास, संस्कृति र सभ्यतालाई सम्पत्तिका रूपमा ग्रहण गरी संरक्षण गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।
सांसद गोसाईले विदेशी सहयोगबिना पनि सम्पदा पुनर्निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण भक्तपुरले प्रस्तुत गरेको बताउँदै आफ्नै खुट्टामा उभिएर गरिएको विकास दिगो र स्वाभिमानी हुने धारणा राख्नुभयो ।
भक्तपुरको विकास मोडलबारे एक दिन इतिहास लेखिने र यसले नेपाली सभ्यता र पहिचानलाई अझ उँचो बनाउने बताउँदै उहाँले जनताको सहभागितामा सार्वजनिक सम्पत्तिको संरक्षण भइरहेको उल्लेख गर्दै सम्पदा, संस्कृति र इतिहास जोगाउने अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरमा संस्कृति र संस्कार जीवित रहेको बताउँदै योजनाबद्ध सहरका रूपमा रहेको भक्तपुरका चाडपर्व कृषि प्रणालीसँग समेत सम्बन्धित रहेको उल्लेख गर्नुभयो । उहाँले भक्तपुर नगरको स्वरूप नै यसको पहिचान र विशेषता भएको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति महाशाखाका प्रमुख सौभाग्य प्रधानांगले भक्तपुरको उत्कृष्ट गहनाका रूपमा रहेको इन्द्रायणी द्योछेँको पुनर्निर्माण सम्पन्न हुनु सुखद् कार्य भएको बताउँदै सम्पदा पुनर्निर्माणले भौतिक सम्पदा पुनर्जीवित हुनुका साथै मौलिकता र प्रामाणिकता जोगिएको तथा शिल्पकला पनि पुनर्जीवित भएको बताउनुभयो ।
भक्तपुरमा उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माण गर्ने मोडल प्रभावकारी रहेको उल्लेख गर्दै उहाँले पुरानो प्रविधि र परम्परागत प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उपभोक्ता समितिमार्फत गरिएका काम उदाहरणीय रहेको उल्लेख गर्दैै स्थानीय सरकारसँग सहकार्य गर्दै नागरिकलाई सहज सेवा प्रवाह र सुशासन कायम गर्न प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो ।
इन्द्रायणी द्योछेँ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले द्योछेँ पुनर्निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक सहयोग तथा विभिन्न व्यक्तिबाट प्राप्त स्वर्णलगायत सहयोगबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बसुकलाले उपभोक्ता समितिमार्फत स्थानीय जनताको सक्रिय सहभागितामा गुणस्तरीय सामग्री प्रयोग गरी द्योछेँको पुनर्निर्माण सम्पन्न भएको बताउनुभयो । स्थानीयवासीले निःस्वार्थ रूपमा मन्दिर तथा सम्पदा संरक्षणमा सहयोग पु¥याएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बालविकास इंगलिश सेकेन्डरी स्कुलका विद्यार्थीहरूले ‘फूल सुन्दर हुन्छ’ गीत प्रस्तुत गरी सांस्कृतिक प्रस्तुति दिएका थिए ।
इन्द्रायणी द्योछेँको उद्घाटन कार्यक्रम सुरु हुनुअघि भक्तपुर नगरपालिका–१, सिद्धपोखरीबाट नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा परम्परागत बाजागाजासहित जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न सांस्कृतिक समूहको सहभागितामा ¥याली निकालिएको थियो । ¥याली खौमास्थित इन्द्रायणी द्योछेँ पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो ।
इन्द्रायणी द्योछेँ पुनर्निर्माणका लागि ३ करोड ७२ लाख २५ हजार ५८२ रुपैयाँ लागत इस्टिमेट गरिएकोमा हालसम्म ३ करोड २१ लाख ९७ हजार ५३९ रुपैयाँ खर्च भएको छ । पुनर्निर्माणका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट ४५ लाख ९४ हजार १३३ रुपैयाँ चन्दा प्राप्त भएको उपभोक्ता समितिले जनाएको छ ।
हालसम्म पनि विभिन्न व्यक्तित्व तथा सहयोगदाताबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको बताइएको छ । इन्द्रायणी द्योछेँको मर्मत–सम्भार तथा संरक्षणका लागि भविष्यमा आवश्यक खर्च व्यवस्थापन गर्न सञ्चय कोष स्थापना गर्ने तयारीसमेत भइरहेको उपभोक्ता समितिका पदाधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *