सिन्धुपाल्चोकका विद्यालयमा योग संस्थागत गर्ने तयारी : चौताराबाट अभियान सुरु गरिने

नबराज काफ्ले

श्रावण २५ गते,सोमबार

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाका विद्यालयमा योग साधनालाई संस्थागत गर्दै विद्यार्थीको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षा क्षेत्रका सरोकारवाला, योगका विषयविज्ञ, शैक्षिक निकायका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिबीच सार्थक अन्तरसंवाद सम्पन्न भएको छ। विद्यालय तहबाटै योगलाई नियमित अभ्यासका रूपमा विकास गर्ने विषयमा कार्यक्रमको प्रस्तावसहित पातञ्जल योग समिति नेपालका महासचिव नवराज काफ्ले, स्वतन्त्र पत्रकार किशोर कट्टेल, योग अभियन्ता मणिराज दाहाल र भोलानाथ निरौला ,योग साधक कुमार बहादुर माझी शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुपाल्चोकमा जुटेका थिए । छलफलका क्रममा जिल्ला सदरमुकाम रहेको चौतारा नगरपालिकाबाट तत्काल योग साधनाका कार्यक्रम शुभारम्भ गर्ने र क्रमशः चालु आर्थिक वर्षभित्रै जिल्लाका ३ नगरपालिका र ९ वटै गाउँपालिकामा योग कार्यक्रम लागू गर्ने विषयमा सहमति जुटेको हो । योगलाई विद्यालय शिक्षासँग जोड्दै विद्यार्थीमा अनुशासन, एकाग्रता, सकारात्मक सोच तथा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले स्थानीय तह, विद्यालय, शैक्षिक निकाय र योग क्षेत्रका विज्ञबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले औँल्याएका थिए । कार्यक्रमको कार्यान्वयनमा शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुपाल्चोकका प्रमुख वैकुण्ठ सुवेदीले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जिल्लाका स्थानीय तह तथा विद्यालयसँग आवश्यक समन्वय र सहजीकरण गर्दै योग कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाउने उहाँको प्रतिबद्धता थियो । छलफलमा सरोकारवाला, योगका विषयविज्ञ, सिन्धुपाल्चोक जिल्लाका शैक्षिक निकायका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको रोहवर रहेको थियो । चौताराको टुँडीखेलबाट सुरु हुने अभियानलाई क्रमशः जिल्लाका सबै स्थानीय तहका विद्यालयसम्म विस्तार गर्ने सहमतिसँगै सिन्धुपाल्चोकमा विद्यालयस्तरमा योगलाई संस्थागत गर्ने अभियानले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *