सुधार केन्द्रमा मृत्यु भएका उमेश खड्गीको घटनामा पाँच जना पक्राउ
भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका–१ बिरुवास्थित उत्साहित सुधार केन्द्रमा रहेका ४४ वर्षीय उमेश खड्गीको मृत्यु भएको घटनामा प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–१ सिरुटार घर भएका खड्गीको मृत्यु भएको घटनामा सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का ४७ वर्षीय गौतम श्रेष्ठसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–२ घर भई हाल उत्साहित सुधार केन्द्रमा बस्दै आएका ३६ वर्षीय सुमन खपाङ्गी मगर, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का ३८ वर्षीय सविन कार्की, रामेछाप लिखुतामाकोशी गाउँपालिका–१० का ३५ वर्षीय अशोक तामाङ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का २८ वर्षीय विकाश खड्का रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। उनीहरूलाई २०८३ साउन २५ गते जिल्ला अदालत भक्तपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Leave a Reply