सूर्यविनायकलाई योगयुक्त पालिका बनाउने

नबराज काफ्ले

२०८३ श्रावण २० गते,बुधबार

सूर्यविनायक नगरपालिकालाई योगयुक्त पालिका बनाउने दिशामा अग्रसरता देखाउँदै पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरको आयोजना र गुण्डुयोग साधना केन्द्रको समन्वयमा सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डुमा सात दिने निःशुल्क योग विज्ञान शिविरको भव्य शुभारम्भ भएको छ । २०८३ साल श्रावण २० गते बुधबार सम्पन्न उक्त कार्यक्रम सुर्यविनायक नगरपालिकाका नगर प्रवक्ता एवम सोही वडाका अध्यक्ष रविन्द्र सापकोटा बाट दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको हो । कार्यक्रमको अध्यक्षता पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरकी अध्यक्ष एवं केन्द्रीय सदस्य रिता पाख्रीनले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन जिल्ला शाखाका सचिव मोहन पराजुलीले गरेका थिए। कार्यक्रममा उपस्थित सहभागीहरूलाई पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरकी संगठन विभाग प्रमुख पविना थापा मगर एवम कार्यक्रम व्यवस्थापक सविता थापा मगरले फुलगुच्छा सहित स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सापकोटाले मन्तव्य राख्दै शिविर सञ्चालनको क्रममा आवश्यक पर्ने पूर्वाधारका लागि चाहिने सहयोग वडाबाट तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाए र यसका लागि आयोजकलाई माग गर्न समेत आग्रह गरे । विशिष्ट अतिथिका रूपमा पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले मन्तव्य राखेका थिए भने पातञ्जल योग समिति नेपालका महासचिव एवं संगठन विभाग प्रमुख नबराज काफ्लेले व्यवस्थापन समिति गठनलाई सहजीकरण गर्दै समितिका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा पातञ्जल योग समिति नेपालकी महिला उपाध्यक्ष श्रृजना मल्ल ठकुरी, उपाध्यक्ष गीता प्रसाद नेपाल, कोषाध्यक्ष सुर्वण हमाल, सचिव बालकृष्ण प्रधान, केन्द्रीय सल्लाहकार अभय श्रेष्ठ लगायतले शिविर सफलताको शुभकामना प्रकट गरेका थिए। यसैगरी केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख शुशीला श्रेष्ठ, केन्द्रीय सदस्य उमेशमान मधिकर्मी, केन्द्रीय सदस्य रन्जिता हमाल र पातञ्जल योग समिति नेपाल, बागमती प्रदेशका सदस्यद्वय अस्मिता खड्का तथा मनिषा भुजु समेत कार्यक्रममा सहभागी भएका थिए । सूर्यविनायक नगरपालिका भित्रका स्थानीय संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवि लगायत आमन्त्रित महानुभावहरू र पातञ्जल योग समिति अन्तर्गत जिल्ला, नगर तथा साधना केन्द्रस्तरका पदाधिकारी, सदस्य एवं योग साधक-साधिकाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो । शिविरको पहिलो दिनको योग प्रशिक्षण वरिष्ठ उपाध्यक्ष राजभक्त श्रेष्ठबाट प्रदान गरियो । कार्यक्रमकै क्रममा स्थानीय शंकर न्यौपानेको संयोजकत्वमा ढुण्डीराज दाहाल, सविता थापा मगर, दुर्गा दाहाल, रमा नगरकोटी, दुर्गा सापकोटा, गीता नेपाल, कोपिला मैनाली, विजया ध्वजु र उषा खड्का सदस्य रहेको दश सदस्यीय शिविर व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन गरियो । यस शिविरले सूर्यविनायक नगरपालिकाको वडा नं.७ को प्रत्येक घरको भान्छासम्म योगलाई पुर्याउने अभियानलाई थप गति मिल्ने आयोजकहरूको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *