प्रत्यारोपणमा ऐतिहासिक उपलब्धि: आ.ब. २०८२/८३ मा २०२ सफल मिर्गौला प्रत्यारोपण

काठमाडौँ, १९ साउन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा हालसम्मकै उच्च उपलब्धि हासिल गर्दै एक वर्षको अवधिमा २०२ जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको छ। मृर्गौला प्रत्यारोपणको नेतृत्व डा. दीपेश श्रेष्ठले गर्नु भएको यो उपलब्धि नेपालमा मानव अंग प्रत्यारोपण सेवाको क्षेत्रमा ऐतिहासिक कदमको रूपमा स्थापित भएको यो सफलता देशकै प्रत्यारोपण सेवामा एक कोशे ढुङ्गा सावित भएको छ ।

केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले अंग प्रत्यारोपणको क्षेत्रमा प्राप्त यस महत्वपूर्ण उपलब्धिप्रति खुशी व्यक्त गर्दै प्रत्यारोपण सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण चिकित्सक, नर्सिङ कर्मचारी, प्राविधिक तथा सहयोगी कर्मचारीहरूको अथक मेहनत र समर्पणको खुलेर प्रशंसा गर्नुभएको छ।

केन्द्रको नेतृत्व डा. कल्पना कुमारी श्रेष्ठले गरिरहनुभएको अवस्थामा  मृर्गौला प्रत्यारोपणको नेतृत्व डा. दीपेश श्रेष्ठको टोलीले सम्हाली रहनु भएको छ । नेफ्रोलोजी विभागको नेतृत्व डा. लुसन सिंहको टोलीले गरी रहनु भएको छ भने एनेस्थेसिया एण्ड क्रिटिकल केयरको नेतृत्व डा. आरती राईको टोलीले गरी रहनु भएको छ । त्यसैगरी, रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकीले गरि रहनु भएको छ भने  प्रत्यारोपण संयोजनको कार्य तारा साँधको टोलीले गरि रहनु भएको छ । यसै गरी सनिषा कार्कीको नर्सिङ्ग टोलीले अनवरत रुपमा सहयो गरेको उक्त कार्यमा प्याथोलोजी ल्याब र अस्पतल फार्मेसीको टोली बाट पनि उल्लेख्यनीय सहयोग रहेको थियो ।

यस केन्द्रले देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नुका साथै मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात गर्दै अंगदान तथा प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै आएको छ। अंगदान तथा प्रत्यारोपणसम्बन्धी कानून परिमार्जनमा समेत केन्द्रले उल्लेखनीय योगदान पुर्‍याएको छ।

१४ वर्षको अवधिमा केन्द्रले ९९ प्रतिशतभन्दा बढी सफलता दर कायम गर्दै हालसम्म १६७० जनाको मिर्गौला तथा ३७ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उपयुक्त जमिन तथा आफ्नै भवनको अभावका बाबजुद पनि केन्द्रले विश्वस्तरीय सेवा प्रदान गर्दै देशमा हुने कुल प्रत्यारोपण मध्ये करिब दुई तिहाइ प्रत्यारोपण सेवा प्रदान गर्दै आएको कुरा कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले बताउनुभएको छ ।

यस उपलब्धिले नेपालमा अंग प्रत्यारोपण सेवाको विकास, विस्तार र सुदृढीकरणमा थप ऊर्जा प्रदान गर्नुका साथै आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र प्रभावकारी सेवा प्रवाह गर्ने मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *