गुगल फारममार्फत् भक्तपुरको गाईजात्राको तथ्यांक संकलन सुरु

भक्तपुर, साउन
भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पर्व सापारु गाईजात्रा यस वर्ष भदौ १३ गते, शनिबार मनाइँदै छ। यस अवसरमा करिब ७०० देखि ८०० मृतक परिवारले आफ्ना दिवंगत आफन्तको सम्झनामा विभिन्न धार्मिक, सांस्कृतिक तथा परम्परागत गतिविधि आयोजना गर्ने अनुमान गरिएको छ। तर हालसम्म कुनै पनि निकायबाट सहभागी मृतक परिवार, सांस्कृतिक टोली तथा कार्यक्रमहरूको आधिकारिक तथ्याङ्क संकलन नभएको अवस्था रहेको छ।
सापारु पर्व अवलोकन गर्न भक्तपुरमा स्वदेशी तथा विदेशी गरी करिब तीन लाख दर्शक आउने अनुमान गरिएको छ। साँघुरो करिब पाँच किलोमिटर लामो नगर परिक्रमा मार्गमा विशेष गरी दिउँसो १२ बजेदेखि २ बजेसम्म अत्यधिक भीड हुने भएकाले व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको अनुभव छ।
तथ्याङ्कको अभावले केवल भीड व्यवस्थापन मात्र होइन, दाताहरूलाई पनि कठिनाइ हुने गरेको छ। हरेक वर्ष विभिन्न व्यक्ति, संस्था तथा कर्पोरेट क्षेत्रबाट मृतक परिवारलाई खाद्यान्न, पेयपदार्थ, उपहार तथा आफ्ना उत्पादनका नमुनाहरू वितरण गर्ने इच्छा भए पनि कुन परिवार कहाँबाट जात्रामा सहभागी हुँदैछ भन्ने स्पष्ट विवरण नहुँदा प्रभावकारी रूपमा सहयोग पुर्‍याउन कठिन हुने गरेको छ। यस्तै, पहिलो पटक सापारु अवलोकन गर्न आउने तथा भक्तपुर बाहिरबाट आउने दर्शकहरू पनि धेरै अन्योलमा पर्ने गरेका छन्। सामाजिक सञ्जाल, भिडियो तथा इन्टरनेटमा सापारुको आकर्षक दृश्य देखेर आउने पर्यटक तथा दर्शकलाई कुन सांस्कृतिक गतिविधि कहाँ र कुन समयमा हुने हो भन्ने जानकारी सहज रूपमा उपलब्ध नहुँदा उनीहरूको अवलोकन अनुभव प्रभावित हुने गरेको छ।
यी समस्याको समाधान गर्ने उद्देश्यले भक्तपुरले यस वर्ष गुगल फाराममार्फत मृतक परिवार तथा सांस्कृतिक टोलीहरूको विवरण संकलन अभियान सुरु गरेको छ। सम्बन्धित सबै मृतक परिवार, गुठी तथा सांस्कृतिक समूहलाई आफ्नो विवरण अनलाइन फाराममार्फत भर्न अनुरोध गरिएको छ।
फाराममा सहभागी परिवारले नगर परिक्रमा कुन टोलबाट सुरु गर्ने, कुन(कुन सांस्कृतिक टोली सहभागी हुने, मृतकको सामान्य परिचय, सम्पर्क विवरण तथा अन्य आवश्यक जानकारी उल्लेख गर्नुपर्नेछ।
यसरी संकलित तथ्याङ्कले दर्शकलाई आफ्नो रुचिअनुसार कार्यक्रम अवलोकन गर्न, दाताहरूलाई उचित परिवार तथा समूहसम्म सहयोग पुर्‍याउन तथा सम्बन्धित निकायलाई भीड व्यवस्थापन, सुरक्षा, सूचना प्रवाह र सांस्कृतिक सम्पदाको अभिलेखीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भक्तपुर टुर्स रिसर्च सेन्टरका अनुसार कर्पोरेट क्षेत्रबाट उपलब्ध हुने उत्पादनका नमुना, उपहार तथा अन्य सामग्री पनि सम्बन्धित मृतक परिवार र जात्रामा सहभागी समुदायसम्म व्यवस्थित रूपमा वितरण गर्न यो तथ्याङ्क उपयोगी हुनेछ।
सम्बन्धित मृतक परिवार तथा सांस्कृतिक टोलीहरूलाई समयमै आफ्नो विवरण दर्ता गरी सापारु पर्वलाई अझ व्यवस्थित, सुरक्षित, जानकारीमूलक तथा सबैका लागि सहज बनाउन सहयोग गर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *