काठमाडौंमा ठूलो परिमाणमा ब्राउन सुगरसहित कारोबारी पक्राउ, DIG दीपेन्द्रको नेतृत्वमा APF इन्टेलिजेन्स ब्युरोको लगातार सफलता

काठमाडौं, साउन १८ — काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा ठूलो परिमाणमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल (APF) को इन्टेलिजेन्स ब्युरोले चार जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) सुवर्ण थापाको कमाण्डमा खटिएको टोलीले सोमबार दिउँसो करिब १२:३५ बजे गरेको अपरेशनमा काठमाडौं–१ निवासी ४३ वर्षीय प्रभात तिवारी (घरधनी), स्थायी ठेगाना सर्लाही मलंगवा–८ निवासी ४१ वर्षीय सुजन रायमाझी, काठमाडौं–१४ बल्खु निवासी भुपेन्द्र श्रेष्ठ तथा ललितपुर बागडोल–४ निवासी ५१ वर्षीय सलिन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

कारबाहीका क्रममा प्रहरीले प्लास्टिकसहित २९८.३५ ग्राम ब्राउन सुगर, ट्रामाडोलका २२ फाइल (२२० क्याप्सुल), नाइट्रोभेटका १०१ क्याप्सुल तथा लागूऔषध मिसाउन प्रयोग हुने २९ बोतल लिक्विड केमिकल बरामद गरेको जनाएको छ।

यसका साथै नेपाली रु. १ लाख ९८ हजार ३७५, भारतीय २० रुपैयाँ, जापानी १,००० येन, हुन्डाई कम्पनीको बा ७ च ५१८० नम्बरको गाडी, ३ थान ल्यापटप, ४ थान एन्ड्रोइड मोबाइल, १ थान डिजिटल तौल मेसिन, १ थान प्रिन्टर२ थान सञ्चार सेट समेत बरामद गरिएको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले हालै लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको छ। प्रहरी स्रोतले यस सफल अपरेशनलाई डीआईजी दीपेन्द्र शाहको नेतृत्वमा सञ्चालन भइरहेको लागूऔषध नियन्त्रण अभियानको अर्को महत्वपूर्ण उपलब्धि का रूपमा लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *