सकियो भक्तपुर बचतको वार्षिक समीक्षा

भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२÷०८३ मा ४ अर्ब ४० करोड २५ लाख रुपैयाको अपरिस्कृत वासलातसहित वार्षिक समीक्षा कार्यक्रम शनिवार सम्पन्न भयो ।
कार्यत्रक्रमका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार लक्ष्मी नारायण दुवालले उद्घाटन गर्दै संस्थामा आउने समस्या र चुनौतीहरुको सबै पदाधिकारीहरु मिलेर चिन्तन मनन गर्नुपर्ने बताउनुभयो । उहाँले लोक भाकामा सहकारी गीत, कविता सुनाउँदै विभिन्न प्रविधि मा र माध्यमबाट राय सुझाव लिनुपर्ने बताउनुभयो । उहाँले गन्तव्यमा पुग्ने जहाजका चालक संस्थाका पदाधिकारीहरुले संस्थाको कारोबार र गतिविधिमा निकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । संस्थाका लागि बनेका नीति नियम सधै एउटै परिस्थिति नहुने भएकाले राम्रो सहकारी निर्माणका लागि सबै जुट्नुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले प्रतिवेदनहरुको समीक्षा गर्दै समुदायमा आधारित सहकारीका सामुदायिक कार्यक्रमहरुको छुट्टै शीर्षक हुनुपर्ने, महत्वपूर्ण आगन्तुकहरुको सहभागी जनाउनुपर्ने, उद्यमशीलता, नवप्रवद्र्धन र अनुसन्धानात्मक कार्यमा जोड दिनुभयो ।
त्यस्तै सल्लाहकार विष्णुगोपाल कुसीले वर्षभरिको समीक्षा गर्ने भएकाले यस कार्यक्रमको महत्व रहेको औंल्याउनुभयो । उहाँले संस्थाले समीक्षा र आत्मसमीक्षा गरिरहनुपर्नेमा जोड दिँदै संस्थाले नमुना कार्यको रुपमा आदर निकेतन सञ्चालन गरे जस्तै नै विगतका वर्षहरुबाटै जोड दिँदै आएको सहकारी पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । हरेक घटना सानैबाट सुरु हुने भएकोले जातिय र धार्मिक द्धन्दले निम्त्याइएको सुनसरीको घटनाले देशको स्थितिलाई नराम्रोतर्फ लगेको उहाँले स्पष्ट पार्नुभयो ।
सल्लाहकार रत्नप्रसाद प्रजापतिले संस्था स्थापनाको अवस्थालाई स्मरण गर्दै अहिलेको अवस्थामा ल्याउन निकै कसरत गर्नुपरेको बताउनुभयो । उहाँले केही नराम्रो सहकारीको कारण यस संस्थाको गतिमा ह्रास ल्याएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव जगनाथ प्रजापतिले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष राम प्रसाद प्रजापतिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका प्रेम प्रजापतिले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सभापतित्व ग्रहण गर्दै प्राप्प राय सुझावहरुको विषयमा स्पष्ट पार्नुभएको थियो । उहाँले राष्ट्रिय सहकारी प्राधिकरणबाट भएको अनुगमनका क्रममा दिएका कैफियतहरुको चाँदै नै नियमित गर्ने बताउनुभयो । साथै संस्थालाई बहुआयामिक रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै संस्था ठूलोभन्दा पनि राम्रो बनाउन निरन्तर लागेको बताउनुभयो ।
संस्थाका ब्यवस्थापक सत्यनारायण साँयजूले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष लक्ष्मी प्रसाद कुसी, सहसचिव तारादेवी धन्छालगायतले समीक्षा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *