धर्मचक्र प्रवर्तन दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरी तथा नगर परिक्रमा

भक्तपुर, श्रावण १३ — २६१५औँ धर्मचक्र प्रवर्तन दिवस तथा गुरु पूर्णिमाको अवसरमा बुधबार बौद्ध संघ भक्तपुरको आयोजनामा प्रभातफेरी तथा बुद्धमूर्ति रथसहितको भव्य नगर परिक्रमा सम्पन्न भएको छ।

कार्यक्रममा बुद्धमूर्तिलाई खतमा राखी बाजागाजासहित नगर परिक्रमा गरिएको थियो। प्रभातफेरी बौद्ध संस्कृत विहार, कुथुबही, दुधपाटीबाट सुरु भई ईताछेँ, खौमा, दरबार क्षेत्र, यालाछेँ, ब्यासी, चोछेँ, भोलाछेँ, महालक्ष्मी, थालाछेँ, साकोलाँ, गछेँ, सूर्यमढी, तौलाछेँ, तचपाल, दत्तात्रय, ईनाचो, सुकुलढोका, टौमढी, गःहिति, नासमना, वंशगोपाल, तेखाचो र भार्वाच्व हुँदै पुनः दुधपाटीस्थित विहारमा पुगेर सम्पन्न भएको थियो।

बौद्ध परम्पराअनुसार तथागत बुद्धले बोधिज्ञान प्राप्त गरेपछि पहिलोपटक नेपालका पञ्चवर्गीय भिक्षुहरूलाई धर्मदेशना दिनुभएको दिनको स्मरणमा प्रत्येक वर्ष धर्मचक्र प्रवर्तन दिवस मनाइँदै आएको छ। भक्तपुरमा भने यो परम्परा वि.सं. २०४५ सालदेखि सुरु भएको हो। त्यसबेला युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा २५७७औँ धर्मचक्र प्रवर्तन दिवसका अवसरमा भक्तपुर दरबार क्षेत्रस्थित फसिदेगः (शिलु महादेव) मन्दिरअगाडि साकोथाबाट प्रभातफेरी सुरु गरी नगर परिक्रमा गरिएको थियो। यस वर्ष उक्त परम्पराले ३८औँ संस्करण पूरा गरेको हो।

प्रभातफेरी तथा रथ परिक्रमामा विभिन्न बौद्ध संघसंस्था, धार्मिक तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, स्थानीयवासी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बुद्धका शान्ति, करुणा र अहिंसाका सन्देशलाई समाजमा फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएका थिए।

कार्यक्रमको समापनमा बौद्ध संघ भक्तपुरका संस्थापक अध्यक्ष संघरत्न शाक्यले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै सहभागी, संघसंस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

यसै अवसरबाट भक्तपुरका विभिन्न विहारहरूमा भिक्षुहरूले परम्पराअनुसार तीन महिनासम्म विनयपूर्वक वर्षावास बस्ने धार्मिक परम्परा पनि सुरु भएको बौद्ध संघले जनाएको छ। धर्मचक्र प्रवर्तन दिवस र वर्षावास बौद्ध धर्मका महत्वपूर्ण धार्मिक परम्परामध्ये मानिन्छन्, जसले आत्मअनुशासन, अध्ययन, ध्यान तथा धर्म अभ्यासलाई विशेष महत्व दिने विश्वास रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *