नेकपा (माओवादी) को विज्ञप्ति
काठमाडौं, साउन १३ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सुनसरीको कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डप्रति गम्भीर आपत्ति जनाउँदै घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न तथा दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
पार्टीका केन्द्रीय कमान्ड इन्चार्ज क. कबीरद्वारा जारी प्रेस विज्ञप्तिमा सुरक्षा निकायले गोली चलाउँदा दुई सर्वसाधारणको मृत्यु भएको र अन्य २२ जना घाइते भएको उल्लेख गर्दै घटनाको भर्त्सना गरिएको छ। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा नागरिकमाथि घातक बल प्रयोग भई ज्यान जाने अवस्था सिर्जना हुनु अत्यन्त गम्भीर र अस्वीकार्य भएको उल्लेख गर्दै नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताइएको छ।
पार्टीले वर्तमान सरकारमाथि पनि आलोचना गर्दै आफूलाई परिवर्तनको पक्षधर बताउने नेतृत्वसमेत अघिल्ला सरकारहरूको जनविरोधी शासनशैलीबाट स्पष्ट रूपमा अलग हुन नसकेको आरोप लगाएको छ। साथै धार्मिक अतिवादका आधारमा समाजलाई विभाजन गर्ने प्रयासप्रति सबै नेपालीलाई सचेत रहन आग्रह गरिएको छ।
नेकपा (माओवादी) ले घटनाको स्वतन्त्र र न्यायिक छानबिन गर्न, गोली चलाउने आदेश दिने तथा प्रत्यक्ष संलग्न सबैलाई कानुनी कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिको अन्त्यमा पार्टीले जनअधिकार, राष्ट्रिय स्वाधीनता, जनजीविका तथा शोषण–उत्पीडनको अन्त्यका लागि समाजवादी व्यवस्थाको आवश्यकता औँल्याउँदै श्रमिक, किसान, विद्यार्थी, युवा, महिला, बुद्धिजीवी तथा उत्पीडित समुदायलाई आफ्नो राजनीतिक अभियानमा सहभागी हुन आह्वान गरेको छ।






Leave a Reply