रेडक्रसद्वारा राहत बितरण

काठमाडौं, असोज १० गते । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाल रेडक्रस सोसाइटीले राहत, उद्धार, स्वास्थ्य, खानेपानी, मनोसामाजिक सहयोग तथा परिवार सम्पर्क पुनःस्थापनालगायतका मानवीय सेवालाई निरन्तरता दिएको छ। भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि रेडक्रसले आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गर्दै सम्बन्धित जिल्ला शाखा, कर्मचारी तथा स्वयंसेवकलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ।

बाढीको सूचना प्राप्त भएलगत्तै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल कुमार भण्डारीको नेतृत्वमा टोलीले नुवाकोटको विदुरलगायत प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान गरेको थियो। त्यसपछि सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला संस्थासँग समन्वय गर्दै राहत तथा मानवीय सहायता विस्तार गरिएको रेडक्रसले जनाएको छ। रसुवामा राहत सामग्रीदेखि खानेपानीसम्म रेडक्रसका अनुसार बाढीबाट प्रभावित रसुवाका परिवारलाई १ हजार २१८ सेट गैरखाद्य सामग्री, ५६३ थान त्रिपाल, ७०१ थान म्याट्रेस र १ हजार ३२४ थान कम्बल वितरण गरिएको छ। त्यसैगरी २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ भने २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा पुर्‍याइएको छ। प्रभावित क्षेत्रमा १८ वटा पानी ट्याङ्की व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्याङ्करमार्फत समेत खानेपानी वितरण गरिएको छ। स्वास्थ्य र मनोसामाजिक सेवामा पनि जोड बाढीपछि उत्पन्न मानसिक तनाव र स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्न रेडक्रसले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) र प्राथमिक मनोसामाजिक सहयोग (PFA) सञ्चालन गरेको छ। यसबाट १ हजार ७१० जना लाभान्वित भएको संस्थाले जनाएको छ। रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनालाई स्वास्थ्य परीक्षण, औषधि तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको छ।

बाढीका कारण परिवारबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा परिवारसँग पुनःसम्पर्क कायम गराउने कार्यलाई पनि प्राथमिकता दिइएको छ। यसअन्तर्गत २ हजार २९१ वटा खोजतलास तथा परिवार सम्पर्क पुनःस्थापनासम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको रेडक्रसले जनाएको छ। यसैगरी नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन ब्याग उपलब्ध गराइएको छ। धादिङ र नुवाकोटमा नगद सहायता प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न रेडक्रसले बहुउद्देश्यीय नगद सहायता पनि उपलब्ध गराएको छ। धादिङका १९८ र नुवाकोटका २६२ घरधुरी गरी कुल ४६० घरधुरीले यस्तो सहायता प्राप्त गरेका छन्। रेडक्रसका अनुसार प्रभावित समुदायबाट प्राप्त करिब ३५० वटा गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ। महिला तथा किशोरीको व्यक्तिगत आवश्यकतालाई लक्षित गर्दै ५८७ वटा मर्यादा किट र १ हजार ८७ वटा स्वच्छता किट** वितरण गरिएको छ। त्यस्तै, बाढीबाट प्रभावित १ हजार १८९ बालबालिकालाई बालमैत्री सुरक्षित स्थान (CFS) मार्फत आवश्यक सेवा प्रदान गरिएको छ।

१७ स्थानमा सूचना तथा सहायता डेस्क राहतसँगै प्रभावित समुदायलाई सही सूचना र आवश्यक सेवासँग जोड्ने उद्देश्यले रेडक्रसले प्रभावित क्षेत्रमा १७ स्थानमा सहायता तथा सूचना डेस्क सञ्चालन गरेको छ। यी डेस्कमार्फत प्रभावित परिवारलाई राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, गुनासा तथा सुझाव दर्तालगायतका विषयमा आवश्यक जानकारी र सहजीकरण उपलब्ध गराइएको छ। रेडक्रसले बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य सुरक्षा र परिवार पुनर्मिलनलगायत विषयमा सूचना सामग्री तयार गरी सामाजिक सञ्जाल तथा रेडियोमार्फत प्रचारप्रसारसमेत गरिरहेको जनाएको छ।

राहतबाट पुनःस्थापनातर्फ अघि बढ्ने तयारी नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालद्वारा जारी विज्ञप्तिमा प्रभावित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा मानवीय सहायता निरन्तरता दिने उल्लेख गरिएको छ। अबको चरणमा राहत सामग्रीको समयमै व्यवस्थापनसँगै प्रभावित समुदायको आवश्यकता र प्राथमिकताका आधारमा प्रतिकार्यलाई थप सुदृढ गर्ने रेडक्रसको योजना छ। त्यसका साथै प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभ का लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको विज्ञप्तिमा जनाइएको छ। रेडक्रसले विपद्को कठिन समयमा जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवा सञ्चालनमा सहयोग गर्ने अन्तर्राष्ट्रिय महासंघ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी, नेपाल सरकार तथा सरकारी निकाय, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक र सहयोगीप्रति आभार व्यक्त गरेको छ। विपद्पछिको एक महिनामा राहत र उद्धारसँगै स्वास्थ्य, खानेपानी, मनोसामाजिक सहयोग, बाल संरक्षण, नगद सहायता र परिवार पुनर्मिलनसम्मका सेवा विस्तार गरेको रेडक्रसले अबको प्राथमिकता तत्कालीन राहतबाट प्रभावित परिवारको पुनःस्थापना र पुनर्लाभतर्फ केन्द्रित गर्ने संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *