भक्तपुर, असोज १० । भक्तपुरको लिवालीस्थित मेन चोक टोल सुधार समितिको आयोजनामा शनिबार भजन तथा प्रार्थना कार्यक्रम सम्पन्न भएको छ ।
‘आपसी सद्भाव, एकता, शान्ति र सकारात्मक ऊर्जा आजको आवश्यकता’ भन्ने आदर्शका साथ आयोजित कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न टोलका भजन मण्डली तथा भजन गायकहरूले परम्परागत वाद्यवादनका साथ सुमधुर भजन प्रस्तुत गरेका थिए। भजन तथा प्रार्थनामार्फत समाजमा आपसी सद्भाव, एकता, शान्ति र सकारात्मक भावनाको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा टोलका ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यसले ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्नुका साथै पुस्ताबीचको सम्बन्ध र सामाजिक एकतालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यसैगरी, कला संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले वाद्यवादनसहित भजनसमेत प्रस्तुत गर्नुभएको थियो।
मेन चोक टोल सुधार समितिका अध्यक्ष मजित प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रमले स्थानीय कला, संस्कृति, भजन परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।












Leave a Reply