भक्तपुरमा योग जिल्ला समन्वय समितिको ११ औँ स्थापना दिवस मनाइयो
नबराज काफ्ले
भक्तपुर, १० आश्विन
‘स्वस्थ जनशक्ति र निरोगी समाज’ निर्माणको मूल ध्येयका साथ भक्तपुरलाई ‘योग जिल्ला’ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण गर्दै योग जिल्ला घोषणा सहित योग जिल्ला समन्वय समिति भक्तपुरको ११ औँ स्थापना दिवस शनिबार विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।
जीवन विज्ञान भक्तपुरको व्यवस्थापनमा सूर्यविनायकको कटुन्जेमा आयोजित सो कार्यक्रममा जिल्लास्थित विभिन्न योग, अध्यात्म तथा सामाजिक संघ-संस्थाका प्रतिनिधि एवं योग साधक-साधिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सूर्यविनायक नगरपालिका कार्यपालिका सदस्य कमला पोखरेलले दीप प्रज्वलन गरी गर्नुभएको थियो। सो अवसरमा उहाँले नगरभित्र योगलाई संस्थागत रूपमा अगाडि बढाउन नगरपालिकाले नीतिगत एवं व्यावहारिक योजना बनाएर काम गरिरहेको बताउनुभयो।
स्थानीय तहले योगलाई केवल औपचारिकता वा वार्षिक कार्यक्रममा मात्र सीमित नराखी विद्यालय पाठ्यक्रम, स्वास्थ्य चौकी र समुदाय स्तरसम्म बजेटसहित विस्तार गर्नु प्रशंसनीय कदम हुने कार्यक्रममा सहभागी वक्ताहरुले उल्लेख गरे ।
कार्यक्रमका सभापति एवं योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष विजेन्द्र ध्वजुले ‘योग जिल्ला’ घोषणाको पृष्ठभूमि, औचित्य र हालसम्मका गतिविधिको संक्षिप्त परिदृश्य प्रस्तुत गर्नुभएको थियो । उहाँले योगलाई दैनिक जीवनशैलीको रूपमा स्थापित गर्न जिल्लाका सम्पूर्ण योग संस्थाहरूको एकबद्धतामा जोड दिनुभयो ।
अध्यक्ष ध्वजुले हालै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकहरूको चिरशान्तिको कामनासहित सामूहिक ध्यान तथा प्रार्थना गराउनुभएको थियो ।
कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका सल्लाहकार नयनसिंह धामी, पतञ्जली योग समिति भक्तपुरका महामन्त्री प्रेम कार्की, जीवन विज्ञान भक्तपुरका संयोजक गणेशमान श्रेष्ठ,पातन्जल योग समिति भक्तपुरकी अध्यक्ष रीता पाख्रिन, ओशो भक्तपुरकी सुचिता सैजु, ब्रह्म राजयोग सेवा केन्द्रकी शान्ति बहिनी, चरित्र निर्माण संघकी सरिता भुजु, योग तथा प्राकृतिक चिकित्सालय वराहीपिठकी रोशनी धौवन्जार ,खुशी समूहका तिर्थ लामा,नवयुग मातृधाम एकता समाजका कुमार गिरि(सौगात)लगायत सम्बद्ध संस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।
भक्तपुरमा क्रियाशील पतञ्जली योग समिति भक्तपुर , पातन्जल योग समिति भक्तपुर,जीवन विज्ञान,ओशो, ब्रह्मकुमारी,चरित्र निर्माण संघ,नवयुग मातृधाम एकता समाज लगायतका फरक-फरक दर्शन र पद्धतिका संस्थाहरू एउटै मञ्चमा उभिनुले ‘बहुसांस्कृतिक सहअस्तित्व र एकता’को सन्देश दिएको सहभागी बताउछ्न । यी संस्थाहरू बीचको एक्यवद्धताका साथ संयुक्त अभियान चलाउन सके भक्तपुर मुलुककै लागि योग र आरोग्यको अनुकरणीय मोडल बन्न सक्ने सहभागीको बुझाई रहेको छ ।
योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नवराज काफ्लेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहभागीहरुलाई जीवन विज्ञानकी कल्याण मित्र कमला घिमिरेले योगसाधना गराउनुभएको थियो भने जीवन विज्ञान भक्तपुरका सह-संयोजक सुनिल ढकालले उपस्थित सम्पूर्ण अतिथि एवं साधकहरूलाई स्वागत गर्नुभएको थियो ।












Leave a Reply